
काठमाडौँ – गोलाप्रथाबाट पेशी तोक्ने व्यवस्था सहितको सर्वोच्च अदालत (दोस्रो संशोधन) नियमावली राजपत्रमा प्रकाशित भएको छ । यसअघि सर्वोच्च अदालतको फूलकोर्ट बैठकले नियमावली संशोधन गर्ने निर्णय गरेको थियो ।
सोमबार नेपाल राजपत्रमा सर्वोच्च अदालत (दोस्रो संशोधन) नियमावली, २०७८ सम्बन्धी सूचना प्रकाशित भएको हो । राजपत्रमा सूचना प्रकाशित भएसँगै गोलाप्रथाबाट पेसी तोक्ने कानुनी बाटो खुलेको छ । यद्यपि, यसलाई औपचारिकता दिन सर्वोच्च अदालतको ‘फुल कोर्ट’ ले निर्णय गर्नुपर्ने छ ।
यो नियमावलीले सर्वोच्चका पेशी तोक्ने प्रधानन्यायाधीशको तजबिजी अधिकार काटौती गरेको छ ।
सर्वोच्च अदालतको पेसी गोलाप्रथाबाट तोक्न लामो समयदेखि माग हुँदै आएको थियो । न्यायाधीश हरिकृष्ण कार्कीको प्रतिवेदनमा गोलाप्रथाबाट पेसी तोक्ने व्यवस्था गर्न सिफारिस गरेको छ भने न्यायाधीश मीरा खड्काको प्रतिवेदनले गोलाप्रथामा कसरी जाने भन्नेबारे कार्यविधि सुझाएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनले झण्डै एक महिनादेखि आन्दोलन गरिरहेको छ ।