भोजपुर– १ नम्बर प्रदेशका मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशको नामकरण र अरुण नदीमा कुनैपनि हालतमा पुल बनाउने बताएका छन् ।
उनले गृहजिल्लाको गृह नगर षडानन्द नगरपालिकामा भएको एक बधाई तथा शुभकामना कार्यक्रममा उक्त कुरा बताएका हुन् ।
पूर्व मुख्यमन्त्रीहरुले प्रदेशको नामकरण गर्ने विषयमा विवाद भएको भन्दै नामकरण गर्न नसकिएको बताए पनि राईले भने प्रदेश नामाकरणको बिषयमा छलफल नै नभएको बताएको छन् ।
प्रदेशको नामाकरण गर्ने विषयमा कम्तिमा दुईतिहाई बहुमतले पास गर्नुपर्ने संविधानमा व्यवस्था छ र प्रदेशको नामाकरणको विषयमा ठूला राजनीतिक दलले संसदमा प्रस्ताव लानु पर्ने हुन्छ ।
यो भन्दा अगाडी त्यस्तो नभएको र अब गठबन्धनले यही प्रकिृयाबाट नामाकरणको विषयमा अगाडी बढ्ने समेत मुख्यमन्त्री राईले बताएका छन् ।
उनले कार्यक्रममा विगत लामो समयदेखि भोजपुरको षडानन्द नगरपालिका र संखुवासभाको खाँदबारी नगरपालिका जोड्ने अरुण नदीमा पक्कि पुल निर्माण हुन नसकेकोमा दुख ब्यक्त गरे । आफु पदमा नपुग्दा काम नभएपनि आफ्नो छोटो कार्यकालमा अरुण नदीमा ज्ञारेन्टीका साथ पक्की पुल निर्माण हुने बताए ।
गृह जिल्लाको बधाई तथा शुभकामना कार्यक्रममा मुख्यमन्त्री राई षडानन्द माध्यमिक विद्यालय, अरुण माध्यमिक विद्यालय र षडानन्द नगरपालिकाले आयोजना गरेको शुभकामना तथा बधाई कार्यक्रममा सहभागी भएका थिए ।
मुख्यमन्त्री राई मंगलबार गृहनगर दिङ्लाबाट संखुवासभा हुँदै धनकुटा जाने कार्यक्रम रहेको छ ।