जता–जता लीलानाथ श्रेष्ठको जग्गा उतै–उतै पक्की सडक

[sharethis-inline-buttons]

प्रीय छिमेकी भाइ दिलीप श्रेष्ठ
गोलबजार नगरपालिका –३ जमनटोकी

म १० वर्षको हुँदा उदयपुरको खडकुले गएको थिए –मामा घर । मामा घर नजिकै देखेको सानो छँदाको त्यो कहालीलाग्दो चरम सामन्ती दमनको घटना आज पनि मेरो मानसपटलमा ताजै छ । अहिले त जमिन्दारको नाम बिर्से मैलै तर उनको कर्तुत याद छ मलाई । एउटा दुब्लो मरञ्च्याँसे मान्छेलाई पाता फर्काएर बाँधेर घोडा कुट्ने कोर्राले कुटदै ल्याएको दृश्य थियो त्यो । जमिन्दारले पहिरन कस्तो लगाएका थिए थाहा छैन तर माथि घुँडासम्म आउने जुत्ता लगाएका थिए । त्यतिबेला मलाई थाहा थिएन त्यसलाई गमबुट भनिन्छ । कुटाइ खाने मान्छे – “मरे नी मालिक , माफ पाउँ मुखिया , बिराए मुखिया , दया होस् विष्ट मुखिया भन्दै चिच्याइ रहेका थिए । ” मालिक भनाउँदो जमिन्दार बर्बराउँथे – भाते डुम तैले खाने भच्चेक होइन र ? कि त विष्ट भइस् ? मालिकको यत्रो बिगार प¥यो डाँड प¥यो तर त गन्धे नखाने र पैसा नतिर्ने भन्दै कोर्रा घरी घरी स्वाट्ट हान्थे । कोर्रा आङ्गमा बर्सिए पछि ती बबुरो भूइँमा पछारिन्थे । मालिक माफ पाउँ भनेर कराउँथे । तर घुँडासम्म आउने जुत्ता लगाउने निर्दयी मुखिया झन् कोर्रा बर्साउँथे ।

१० वर्षको अवोध बालक म । त्यो अति कठोर हिंसाको दृश्य र साहाराविहीन त्यो मान्छेको कारुणिक रुवाईले मेरो आँखा रसायो । मुटुको ढुकढुकी बढ्यो । मेरो गला अवरुद्ध भयो । म डर लागेर मामाको आङ्गमा टाँस्सिए ।

मामा घर आएपछि मामाले मेरी आमालाई सुनाउनु भयो । फलानो जमिन्दारको बुढी भैंसी रोग लागेर मरेको रहेछ । गाउँभरीका सार्कीहरुलाई मरेको भैंसी लगेर काटेर मासु बिलो लगाएर खान उर्दी जारी भएको रहेछ । मरेको भैंसी भए पनि त्यसबेलाको चलनसारको बजार भाउ अनुसार जमिन्दारलाई पैसा तिर्नु पर्ने रहेछ । पैसा नगद तिर्न नसक्नेले पछि खेताला लागेर ज्यालामा कट्टा गर्न पाउने सुविधा जमिन्दारले दिएका रहेछन् । सारा सार्की समुदायले जमिन्दारको उर्दी बमोजिम मरेको भैंसी काटेर एक एक बीसौली मासु घर लगेछन् । नगद हुनेले तुरुन्तै मालिकलाई रकम बुझाए । नहुनेले पछि खेताला काम गरेर तिर्ने कबुल गरेछन् । कोर्राको कुटाई खाने त्यो अभागी निम्छरो मनुष्य छोरीको घर गएको रहेछ । उसकी पत्नी पनि मासु लिन पुगिनन् । फलानो सार्की आएन भन्ने खवर पुगेपछि भोलिपल्ट जमिन्दार पाता कस्ने डोरी र घोडा कुट्ने कोर्रासहित गयल भएका सार्कीको घर पुगेछन् । त्यसपछि के भयो र सार्की काकाको के हाल भयो, मैले माथि नै वृतान्त कहिसकें ।

कुटाई खाने सार्की काकाकी पत्नी मेरो मामासँग हार गुहार माग्दै आइपुगिन । तिनी दुखियाकी पत्नीले नाकको फुली झिकेर साहुलाई दिएर एक बीसौली मासुको दाम जमिन्दारलाई बुझाइन् । मेरो मामाले अब माफ दिनुस् मुखिया भने पछि पाता कसेको सुकर्ने फुकाइदिए जमिन्दारले ।

दिलीप भाई , आज म तपाईको घरमा पुगेको थिएँ । तपाईसँग भेट भएन । तर तपार्इँकी पत्नी , भाइ तथा बुहारीहरु र छोरा छोरीसँग निकै बेर भलाकुसारी गरेर फर्किएँ । तपाईँको पुरानो घर ढलेको र उजारिएको देखें । नयाँ घर बनाउन प्रयत्न गर्नुभएको रहेछ । इँटा खसाइएको देखें तर इँटा जोडाई गर्न मेयर श्याम श्रेष्ठ र सांसद लीलानाथ श्रेष्ठको आदेशमा गएका प्रहरीले रोके पछि विवश भएर बाँसको बेराले बार्नु भएछ । लिपपोत गर्न लाग्दा घरी न घरी पुलिस गएर रोक्दा रहेछन् । तपाईँकी पत्नी छोरी र बुहारीले राति राति लुकिछिपी भित्ता टालेछन् । तपाईँकी पत्नी भन्दै थिइन् के गर्नु हावाहुरीको समय आयो , वर्षायाम लाग्यो । खुलामा कसरी बस्नु ? हामी गरिबको उठीबास लगाउने भए मेयर श्याम श्रेष्ठ र लीला श्रेष्ठले ।

नालिबेली बुझ्न मन लाग्यो मलाई । मैले कोट्याई कोट्याई सोधें । तपाईँकी पत्नीले भनिन् हजुर हाम्रो घडेरीको नाममा जाय जेथा यती नै हो । भाइ अंशमा मलाई पुग नपुग यो एक कट्ठा परेको छ । राजमार्ग छेउमा परेकोले यसो चिया पसल थापेर भए पनि गुजारा गरौंला भन्ने आश थियो । पिता पुर्खाले आर्जेको यो कालिमाटी पनि भोग्न नदिने भए । यति भन्दा तपाईँकी पत्नीको आँखा रसायो । गलामै बोली अड्कियो । उनी घुक्क घुक्क रुन्छिन् कि भन्ने डर पो लाग्यो मलाई ।

सिमेन्टको खावाँ गाडेर जस्ताको छाना लगाएर दुई कोठाको घर बनाउन प्रलय नै दुख पाउनु भएछ । खावाँ उखेलेर फ्याक्न कोसिस गरेका , छाना लगाउन दर्जनौ पटक प्रहरीले रोकेका रहेछन् । तपाईँकी पत्नीले दुखका सवाई कही रहँदा तपाईँका बालबच्चाका पनि आँखा रसाइसकेका थिए । उनीहरुको आँखामा भय थियो । यो ठाउँबाट बिचल्ली परेर हिँड्नु पर्ने हो की ? घर भत्काइ दिएछन् भने वर्षायामको झरीमा कहाँ बस्ने होला ? तपाईँकी भाइ बुहारी भन्दै थिइन् “ मेयरले मुद्दा हालेछन् , हामीले पनि मुद्दा जोडेका छौं । तर नगरपालिका उनकै हातमा छ । सिडियो न्यायधीश सबै उनकै हातमा छ । हाम्रो के गति होला ? पत्रकारलाई भन्यो भनेर झन् खेदो खन्ने हुन् कि भनेर डर मान्दै थिइन् तपाईँकी पत्नी ।

तपाईँका एक भाइ भन्दै थिए “माननीय लीलानाथ श्रेष्ठ र श्याम श्रेष्ठको लागि तपाईँको घरले चर्चे बमोजिमको जमिन क्षतिपूर्तिको रुपमा तपाईँलाई दिनु समुन्द्रबाट एक लोटा झिके झै हो ।” तर तपाईको त सर्वस्व नै त्यति रहेछ । उहाँहरुले आस्वासन पनि दिनुभएको थियो रे । तर पछि कुरा बदल्नुभयो रे ।

दिलीप भाईँ , मेरा गुरु थिए बलदेव राम । जो अनपढ थिए र उनीसँग मैले समाज शास्त्र पढेको थिएँ । उनी भन्थे कौवा पहाडको पनि मधेसको पनि कालै हुन्छ । जमिन्दार र सामन्त जहाँको पनि निर्दयी नै हुन्छ । शोषक नै हुन्छ । तपाईँको घरमा कुराकानी गर्दागर्दै मैले मेरा गुरुलाई सम्झिएँ । उनीहरुले तपाईलाई कुनै मुआब्जा पनि दिने छैनन् । उनीहरुका अगाडि तपाईँ निम्छरो र शक्तिविहीन हुनुहुन्छ ।

आज तपाईको घरमा पुग्दा ४२ वर्ष अगाडिको मामा घरमा जमिन्दारको मरेको भैंसीको मासु किनेर नखाएको निहुँमा सार्की काका कुटिएको दृश्य सम्झें । त्यतिबेला पञ्चायती व्यवस्था थियो । अहिले संघीय लोकतान्त्रिक गणतन्त्र छ । मरेको भैंसीको मासु नखाएको कारण सार्की काका कुटिएको र तपाईको घरमा बारम्वार प्रहरी पुगेको घटनामा धेरै भिन्नता छैन । प्रकारान्तरणले दुबै घटना क्रुर सामन्ती दमन हो । दुबै घटना गरिबमारा नीति हो । समयको फेरले दमन गर्ने तरिकामा परिवर्तन आएको मात्र हो । त्यहाँ जमिन्दारले आफै कोर्रा बर्साएका थिए यहाँ तपाईँमाथि लाठी बजार्न प्रहरी लगाइएको छ । तपाईको दोष वा अपराध के हो भने लीलानाथ श्रेष्ठको डेढ विगहा जग्गाको कित्ता अगाडि तपाईको जग्गा परेछ । त्यसकारण राजमार्गसँग उनको जग्गाको मुख मिल्न पाएन । उनी सहृदयी वा न्यायप्रेमी हुन्थे भने तपाईँसँग सल्लाह गरेर जमिनको बदला पछाडिपट्टी जमिन दिएर सम्झौता गरेर सडक बनाउथे । तर शक्तिको आडमा मैमत्त दरवारले आफ्नो चरित्र देखाएरै छोड्यो । तपाईँलाई उठिबास लगाउने नै भए ।

दिलीप भाई तपाईँको घर छेउमा गएर अवलोकन गर्ने जोसुकैले भन्छ माननीय लीलानाथ श्रेष्ठ र मेयर श्याम श्रेष्ठले स्टेडियम जाने बाटो बनाएका होइनन् । आफ्नो डेढ विगहाको बीच कित्ताबाट सडक बनाएका हुन् । सडक ढलाई गर्ने पहिलो प्राथमिकता मानव बस्तीमा हो । तर मानव बस्ती नै नभएको उक्त सडकमा संसदीय कोषको रकम खन्याएर ढलाई गराईएको छ । स्टेडियम जाने पहिलो सडक त गुरुधाम जाने सडक हो तर त्यो सडकमा माननीय लीलानाथ श्रेष्ठ र मेयर श्याम श्रेष्ठको प्राथमिकतामा परेन । किनभने यो गुरुधाम सडकमा माननीय र मेयर साहवको जग्गा छैन । यथार्थ कुरो के हो भने “जता–जता लीलानाथ श्रेष्ठको जग्गा उतै–उतै पक्की सडक ” । तपाईँको दुर्भाग्य भयो कि उहाँहरुको सधियार पर्नुभयो ।

तपाईको घर भत्काएर उक्त सडकलाई राजमार्गमा जोड्नासाथ कमरेडहरुको जग्गा लाखबाट करोड मूल्यमा बिक्री हुन्छ । आफ्नो जग्गाको सय गुणा मूल्य वृद्धि हुँदा एउटा गरिबलाई किन मार्नु त ? बाटोले अगोट्ने एक कट्ठाको बदला एक कट्ठा मुआव्जा दिन सक्थे । तर त्यसो गर्दा अपार शक्तिको अवमूल्यन हुन जान्छ । तपाईँ निरीह प्राणी । के गर्नुहुन्छ ? आँशु बगाउन सक्नु हुन्छ । राजाका आगे बाबाका दुहाई उखान सुन्नु भएकै होला । झन् लाल कमरेडहरुको फन्दामा पर्नु भएको छ । हेलो न्यायाधीश ज्यु वा सिडियो साहव , म पूर्व मन्त्री बोलेको भनेर फोन घुमाए पछि तपाईँले रोए कराएको कसले सुन्छ ? तपाईँको हालत देखेर म दुईवटा गीत सम्झिन्छु “चल उड जा रे पन्छी कि ए देश हुआ वेगाना । ” अर्को “गाउँका ठालू फोहरी भालु यसका नङ्ग्रा असाध्यै विषालु ।” राजा बरावरको शक्ति हातमा भएकाले स्थानीय प्रशासन र अदालतलाई प्रभावित पारेर तपाईँलाई उठिबास लगाउन सक्ने प्रवल सम्भावना देखें मैले ।

तपाईँको छिमेकी अर्जुन थपलिया


प्रकाशित : २०७९ चैत्र १ बुधबार