भोको पेट खोज्दै खाना खुवाउँदै गोलबजारका चार मनकारी युवाहरु

[sharethis-inline-buttons]

जिङग्रिङ कपाल र दाह्री , महिला भए फोहोरले लट्टा परेका झाँक्रो फिजारिएको , कहिल्यै न नुहाएको मयल चपरी परेर दुङदुङति गन्हाउने शरीर , कलेटी परेको ओठ , धूलाम्मे जडाउरी कपडामा बेरिएको मानसिक स्वास्थ्य बिग्रिएका होस हवासमा नभएका मानव फोहोरको डंगुरबाट खानेकुरा खोज्दै खाएको देख्दा घिन मानेर “ छि छि दुर दुर ” गरेर हिड्नेहरुको संख्या नै धेरै हुन्छ । मनले बिचरा भने पनि उनीहरुको समीपमा गएर दुख बुझ्न खोज्ने कमै हुन्छन् । वर्षा , जाडो वा प्रचण्ड गर्मी जे जस्तो प्रतिकूल परिस्थिति भए पनि उनीहरुसँग जिउ लुकाउने स्थान कतै हुँदैन । कतै कुनै छिडीमा ओत लागे पनि सुकिला मुकिलाहरुले भाग भाग भनेर धपाइ दिन्छन् । तर गोलबजारमा ४ जना मनकारी युवाहरुलाई मानवताको यो विद्रुप अवस्थाले निकै संवेदनशील बनाएको छ । उनीहरुले त्यस्ता संकटग्रस्त मानवहरुलाई खोजी खोजी खाना खुवाउन थालेका छन् ।

समाजबाट परित्यक्त र उपेक्षित घृणाका पात्र बनाइएका मानसिक सन्तुलन गुमाएका पीडितहरुले रछानबाट उछिष्ट खाना टिपेर खानु नपरोस् र मानवता नै लज्जित हुनु पर्ने अवस्था नदेखियोस् भनेर यी चार जना युवाहरु गोलबजारमा अघि सरेका छन् । मनकारी तथा मानवताका भावनाले ओतप्रोत यी चार जना युवाहरु हुन् एएफसी होटलका सञ्चालक मिकु साह, सन्तोष साह, सादाव खान र प्रकाश साह । यी युवाहरुले हरेक साँझ गोलबजारमा घुमेर भोको पेट भएका व्यक्तिहरु खोजी गर्छन् र उनीहरुलाई निशुल्क ताजा तथा सुस्वादु भोजन गराउँछन् । यी युवाहरुले “असहाय भोजन वितरक समूह गोलबजार ” नामाकरण गरेर अभियान चलाएका छन् ।

सन्तोष साह भन्छन् हामीले भोकले छटपाइ रहेका लाचार मनुष्यहरु देख्यौ । हाम्रो मन पोल्यो । कसैसँग सहयोग नमागी हामी चार जनाले स्वलगानीमा जेठ १ बाट दैनिक खाना वितरण गर्न थाल्यौं । आज ठीक एक महिना भएको छ ।

अर्का अभियानी सादाव खान भन्छन् । सुरुमा हामीले ७–८ जनालाई खाना खुवायौं , अहिले दैनिक १५ देखि २० जनालाई नियमित हरेक साँझ खाना वितरण गर्छौ । खाना एएफसी होटलबाट दिइन्छ । न्युन रकम लिएर एएफसी होटलले खाना उपलब्ध गराउँछ । पैसा नभएको दिन पनि मिकु दाइले खाना निशुल्क प्रदान गर्नुहुन्छ ।

अभियानी प्रकाश साह भन्छन् सुरुमा हामीले आफूले मात्र सम्पूर्ण रकम बेहोर्यौ तर अहिले अभियनको बारेमा थाहा पाएर स्वेच्छाले सहयोग दिनेहरु अगाडि आएका छन् । १५ जना जति सहयोगी तथा मनकारी हातहरुले सहयोग रासी दिन थालेका छन् । हाम्रो हौसला बढेको छ । हामीले जो सुकै होस् , जति जना होस् –भोको छन् भने खाना खुवाउँछौं । कोही पनि भोको पेट सुत्न नपरोस् भन्ने हाम्रो चाहना हो, भावना हो ।

मिकु साह भन्छन् यसलाई निरन्तरता दिन आवश्यक छ । विस्तारै जग्गा व्यवस्था गरेर अनाथालय वा वृद्धाश्रम बनाएर स्थायी रुपमा आश्रय , भोजन , लत्ताकपडा र स्वास्थ्य उपचारको व्यवस्थ ागर्ने हाम्रो लक्ष्य छ । साहले भने यो अभियानमा जो सुकैलाई जोडिनका लागि हामी हार्दिक आह्वान गर्दछौं ।

 


प्रकाशित : २०८१ जेष्ठ ३१ बिहीबार