गोलबजार – अर्जुन थपलिया
आर्थिक वर्ष २०७८÷०७९ र २०७९÷०८० मा गोलबजार हाट बजार ठेक्काको रकम हिनामिना गरिएकोमा पटक पटक गरी दर्जनौ उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सो प्रकरणको फाइलमा अनुसन्धान थालेको छ । सुत्रका अनुसार अख्तियारले गोलबजार नगरपालिकाका प्रमुख श्याम कुमार श्रेष्ठ र प्रमुख प्रशासकीय अधिकृत अनन्त कुमार पौडेल लगायत अन्य सम्बद्ध कर्मचारी तथा ठेकेदारसँग सो ठेक्का प्रकरणमा बयान लिने भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले फाइल खोलेर अनुसन्धान थालेको सुइको पाएपछि ठेक्का रकम अपचलन गर्ने प्रमुख प्रशासकीय अधिकृत पौडेल बिलखबन्दमा परेका छन् । उनी आफ्नो भ्रष्ट कर्तुत जोगाउन र कारवाहीको फन्दाबाट बच्न अनेकन यत्न गर्न थालेका छन् । गत असार २९ गते ठेकेदारले रकम नबुझाएको र निजलाई पक्राउ गरी रकम असुल उपर गरी पाउँ भन्दै जाहेरी दरखास्त दर्ता गराउन इलाका प्रहरी कार्यालय गोलबजार पुगेका थिए । तर इलाका प्रहरी कार्यालयले उनको जाहेरी दर्ता गर्न मानेन । प्रमुख प्रशासकीय अधिकृत पौडेलले हामी स्थानीय सरकार हौं , हामीले भनेको प्रहरी मान्नु पर्छ भन्दै धाक लगाएका थिए । तर प्रहरीले यतिका दिन के हेरेर बस्नु भएको थियो ? अहिले आर्थिक वर्षको अ्न्तिम दिन आएर जाहेरी दिएर फेस सेभिङ्ग गर्न खोज्नु भएको हो भन्दै उल्टै प्रश्न गरेपछि पौडेल निराश भएर फर्केका थिए । विशेष सुत्रले बताए अनुसार पौडेल र प्रहरी निरीक्षक बीच निकै चर्को स्वरमा सम्वाद भएको थियो ।
इलाका प्रहरी कार्यालय गोलबजारले जाहेरी दर्ता गर्न नमाने पछि पौडेल जिल्ला प्रहरी कार्यालय सिरहा पुगेको तर त्यहाँ पनि जाहेरी दर्ता नगर्ने भनेपछि विभिन्न शक्तिकेन्द्रहरुको घर घरमा भौतारिन थालेका छन् । उनले राजनीतिक शक्तिकेन्द्रहरुलाई अनेकन कवुलियत गरेर आफूलाई बचाउन आग्रह गरेको बुझिएको छ । जिल्ला प्रहरी कार्यालयले पौडेललाई एक करोड बीस लाखको सरकारी बक्यौताको चेक लिन कानुनले मिल्दैन , किन लिनु भयो भनेर उल्टै केरकार पारेको बुझिएको छ । पौडेलले भ्रष्ट कार्यबाट आफूलाई बचाउ गर्न ठेकेदारबाट एउटा चेक लिएर फाइलमा नत्थी गरेर राखेको बुझिएको छ ।
यस प्रसङ्गमा ठेकेदार बीरेन्द्र यादवसँग बुझ्दा आफूले आना पैसा सबै चुक्ता गरेको र त्यसको रसिद पनि आफूसँग भएको बताएका छन् । उनले भने मलाई पछि मात्र थाहा भयो गोलबजार नगरपालिकाले मलाई जाली रसिद उपलब्ध गराएर रकम हिनामिना गरेको रहेछ । ठेकेदार यादवले भने यस प्रकृयामा पुरानो मेयर र नयाँ मेयर पनि संलग्न छन् । २०७९ बैशाख, जेठ र असारको रकम नयाँ मेयरकै पालामा मैले बुझाएको हुँ ।