नगर प्रमुख श्याम कुमार श्रेष्ठको कार्यशैली प्रति ९८ प्रतिशत एमाले नेता–कार्यकर्ता असन्तुष्ट

[sharethis-inline-buttons]

अर्जुन थपलिया ÷सिरहा, माघ ९ :
गोलबजार नगरपालिकाका मेयर श्यामकुमार श्रेष्ठको कार्यशैली प्रति ९८ प्रतिशत एमालेका नेता तथा कार्यकर्ताले असन्तुष्टि जाहेर गरेका छन् । दावानल अनलाइन पत्रिकाका कार्यकारी सम्पादक अर्जुन थपलियाले गरेको एक अध्ययनबाट यस्तो नतिजा आएको हो । वडा नं. १ देखि १३ सम्म घुमेर अगाडि जो भेटियो त्यसैलाई ( एमालेका नेता तथा कार्यकर्ता मात्र ) मेयर श्रेष्ठको कार्यशैली कस्तो छ भनेर सोध्दा ९८ प्रतिशतले कार्यशैली राम्रो नभएको बताए । प्रदेश कमिटी, जिल्ला कमिटी , नगर कमिटीका पदाधिकारी एवं सदस्यहरु तथा साधारण सदस्यहरुलाई भेटेर मुख्यतः तीन वटा प्रश्न गरिएको थियो । पहिलो प्रश्न थियो गोलबजार नगरपालिकाको कार्यप्रगति कस्तो छ ? यस प्रश्नको उत्तरमा शतप्रतिशत नेता तथा कार्यकर्ताले गतिशून्य वा सुस्त गति भनेर प्रतिक्रिया दिएका छन् । त्यसैगरी मेयर श्रेष्ठको कार्यशैली प्रति पनि अधिकांश नेता तथा कार्यकर्ताले कटाक्ष गरेका छन् । पार्टी कमिटीलाई नसोध्ने , नेता तथा कार्यकर्ताको उपेक्षा गरिएको र कर्मचारीतन्त्रको घेरावन्दीमा परेको भनेर चर्को आलोचना गरेका छन् । तेश्रो प्रश्न – मेयर श्याम श्रेष्ठको कामबाट कति सन्तुष्ट हुनुहुन्छ भनर सोधेका थियौं । यस प्रश्नको उत्तरमा अधिकांशले असन्तुष्ट छु भनेका थिए ।
अध्ययनको क्रममा एमाले नेता तथा कार्यकर्ताहरुले निवर्तमान मेयर भन्दा पनि खराव शैलीमा काम गरेको , भ्रष्टाचारलाई मेटाउन नसकेको र भ्रष्टाचारी कर्मचारीलाई संरक्षण गरेको जस्ता आरोप पनि लगाएका छन् । अध्ययनका लागि दावानल अनलाइन पत्रिकाका लागि पूरै १ सय जना नेता र कार्यकर्तालाई घर घर मै गएर भेट गरेर कुराकानी गरिएको थियो । कुराकानीमा नेता तथा कार्यकर्ताले मेयर श्रेष्ठको कार्य क्षमता र नियतमाथि पनि प्रश्न उठाएका छन् । कर्मचारी नभएको र चुनावले गर्दा काम गर्न नपाएको भन्दै मेयर श्रेष्ठले एमाले नेता तथा कार्यकर्तालाई आस्वस्त पार्न खोजे पनि उनीहरुले यसलाई बाहानाबाजीको संज्ञा दिएका छन् ।
एमाले नेता तथा कार्यकर्ताहरुले मेयर श्रेष्ठले चुनाव ताका पार्टीले ल्याएको घोषणा पत्रको अनुसरण नगरेको , योजना तथा बजेट निर्माण गर्दा कर्मचारी हावी भएको , कार्यपालिका सदस्य तथा वडाध्यक्षहरुको मानमर्दन गरिएको ( वास्ता नगरिएको ) र पार्टीको लोकप्रियतामा अपूर्णिय क्षति पु¥याएको आक्षेप लगाएका छन् । मेयर श्रेष्ठको कार्यशैलीमा सुधार नआउने र गोलबजार नगरपालिकामा सुशासनको प्रत्याभूति नहुने हो भने अर्को चुनावसम्म एमाले पार्टीको साख धूलोमा मिल्ने नेता तथा कार्यकर्ताहरुले चिन्ता जाहेर गरेका छन् ।
कार्यकर्ताहरुको फोन नउठाउने , भेट नदिने , विकास वजेट वितरणमा काखापाखा भएको र विश्वासपात्र कर्मचारीहरुमार्फत असुली र कमाउ धन्दा सुरु गरेको संगिन आरोप लगाउँदै भ्रष्टाचारको फाइल खोलेर कारवाही अघि बढाउन आनाकानी गर्न थालेको नेता तथा कार्यकर्ताहरुले दावी गरेका छन् ।
यसरी आरोप लगाउनेहरुमा मेयर श्रेष्ठका निकटवर्ती मानिएका एमालेका नेता, कार्यकर्ता तथा वडाध्यक्षहरु पनि छन् । कार्यविभाजन गरेर काम नगरेको , कनिष्ट कर्मचारीहरुमार्फत सहकर्मी जनप्रतिनिधिहरुको मानमर्दन गरिएको , आफ्ना विश्वास पात्र कर्मचारीहरुलाई सर्वेसर्वा बनाएको पनि नेता तथा कार्यकर्ताको आरोप छ । एमाले कै उप प्रमुख लगायत वडाध्यक्षहरु पनि मेयर श्रेष्ठ प्रति क्रुद्ध देखिएका छन् । चुनावमा ज्यानको बाजी लगाएर अहोरात्र खटिएका कार्यकर्ताहरु पनि मेयर श्रेष्ठको कार्यशैली प्रति कटाक्ष गर्न थालेका छन् ।
लेखा अधिकृतसम्म ल्याउन नसकेको प्रति कटाक्ष गर्दै केही कार्यकर्ताहरुले मेयर श्रेष्ठको असक्षमता भन्दै आलोचना गरेका छन् । अध्ययनको विश्वसनीयताका लागि कुराकानी गरिएका नेता तथा कार्यकर्ताहरुको तस्बीर र उनीहरुको भनाइ जस्ताको त्यस्तै राखिएको छ ।

कसले के भने ? जस्ताको त्यस्तै भनाइ र तस्बीरसहित
१. एमालेको राजनीति र पारिवारिक पृष्टभूमिलाई पनि मेयर श्याम श्रेष्ठले डुबाउने भए । ९ महिना बित्यो तर नगरपालिकाले सिन्को पनि भाँचेको छैन । शून्यगतिमा छ नगरपालिका । पहिलेका मेयर भन्दा पनि खराव नतिजा देखिदैछ । कार्यशैली र गति दुवै परिवर्तन हुनुपर्छ । –शिव दयाल विश्वकर्मा
२. के के न गर्लान भन्ने सोचेका थियौ । तर मुसाको पुच्छर बराबर पनि देखिदैन । स्थानीय जनताले यो भन्दा राम्रो त पुरानै मेयर थिए भन्न थालिसके । –कुमार थापा
३. हामीले त बाराम्वार भनिरहेका छौं । तर हाम्रो कुरा सुनुवाई भइरहेको छैन । जनतामा धेरै निराशा छाएको छ । ९ महिना बितिसक्दा पनि कुनै काम भएको छैन । गतिशून्य छ गोलबजार नगरपालिका । एमालेको इज्जत डुब्दै छ । –योगेन्द्र कर्ण
४. गोलबजार नगरपालिकाको कार्यशैली हेरेर जनतामा निराशा त बढेको छ तर पूरै आशा मरिसकेको छैन । चुनावले गर्दा ढिलो भएको कारण देखाइदै छ तर माघ महिनासम्ममा पनि कार्य प्रगति र गतिमा वृद्धि देखिएन भने राम्रो मान्न सकिदैन । –मोहन बस्नेत
५. एक दिन भेटेरै भन्छु मेयरलाई । किन यस्तो भइरहेको छ थाहा छैन । नगरपालिकाले पाइला चालेको नै देखिदैन । जनतामा धेरै गुनासो छ । काम गर्ने तरिका पनि ठीक छैन । पार्टीमा कुनै सरसल्लाह छैन । मुख्य कुरा भ्रष्टचार गर्ने कर्मचारीहरुलाई बचाएर राखेका छन् मेयरले । –राजकुमार सिंह
६. खोइ के भएको हो थाहा छैन । नगरपालिका कहाँ अल्झियो अल्झियो । अहिलेसम्म कुनै काम गरेको थाहा छैन । कार्यकर्ता र आम जनताको असन्तुष्टि बढदै गएको छ । केही होला र गर्लान् भन्ने आशा मर्दै गएको छ । सन्तलाल मगर
७. लाजै मर्नु भइसक्यो । नगरपालिका त कछुवाको गतिमा पनि हिंडन सकेन । पार्टी भित्र पनि कुनै सरसल्लाह छैन । मेयर श्याम श्रेष्ठ तीन चार जना बदनाम कर्मचारीहरुको घेरामा छन् । यो पाराले त पार्टीको इज्जत डुब्छ । सोनेलाल तामाङ्ग
८. गोलबजार नगरपालिकाले कुनै सकारात्मक काम थालेको पनि सुनिएको छैन । देखिएको छैन । सोझो मेयर भन्दै असक्षमतालाई ढाकछोप गर्ने काम भइरहेको छ । काम हुनु प¥यो नी ! तलदेखि माथी सबै जितेपछि यो वा त्यो बाहानामा काम नगर्ने छुट त छैन । धर्मनाथ यादव
९. म त गोलबजार नगरपालिका जानै छोडे । स्वार्थी समूहले मेयरलाई घेरावन्दी गरेको छ । मेयरलाई कमाएर दिनेहरुको पुत्र सरह हालिमुहाली छ नगरपालिकामा । काम सुरुवात नै गर्न सकेको छैन । कर्मचारी छैन भन्यो , चुनावले काम गर्न छेक्यो भन्यो र जनतालाई टा¥यो । जे आशा गरिएको थियो यसको ठीक विपरीत भइरहेको छ ।, –गणेश गौतम
१०. भ्रष्ट कर्मचारीहरु मेयरका मुख्य सल्लाहकार छन् । वडाध्यक्षहरुको कुनै वास्ता छैन । मेयरको कुर्सीमा बसेर कुनै काम हुन सकेको छैन । कार्यशैली पनि ठीक छैन । भ्रष्ट कर्मचारीहरुले मेयरलाई कमाउ धन्दामा लगाइ सके । –सुकदेव सिंह
११. गोलबजार नगरपालिका भ्रष्टाचारीहरुको आखाडामा रुपान्तरण भइसक्यो । शून्य कार्य प्रगतिमा मेयर धाक लगाउन छोड्दैनन् । पार्टीपंक्तीलाई पूरै बेवास्ता गरिएको छ । जनताको काम पनि हुन सकेको छैन । लेखामा कर्मचारी छैन भनेर टार्ने गरिएको छ । आफूहरुलाई आवश्यक पर्ने चेक नरहा र सिरहा गएर बनाएर ल्याइन्छ तर आम जनतालाई लेखा अधिकृत छैन भनेर टारिन्छ । –रामस्वरुप महतो
१२. यही रवैया रहने हो भने ५ वर्ष पछि लीलानाथ श्रेष्ठ र श्याम श्रेष्ठको पुरानो मेयर दाजुभाइ कै हालत हुन्छ । कसैको केही बिग्रदैन । एउटा दरवार गयो अब अर्को दरवार डुब्छ । गोलबजारका जनतालाई मेयर श्याम श्रेष्ठले अहिले लोप्पा खुवाउदै छन् । जनताले ५ वर्ष पछि देखाउने छन् । –हरिनारायाण यादव
१३. खोइ कता छ गोलबजार नगरपालिका ? केही गरेको देखिदैन । हामी जस्ता सोझासाझा कार्यकर्ताको के गन्ती छ । मेयर श्याम श्रेष्ठको दाहिने हात त उही पुरानै भ्रष्ट कर्मचारी भएको देख्छु । बोरिङ्ग जडानमा पनि काखा पाखा भइरहेको छ । –छेदीलाल साह
१४. आफ्नै पार्टीको मेयरको विरोध गर्न पनि गाह्रो तर कार्यशैली पनि ठीक छैन । काम गर्ने गति पनि शून्य छ । चुनाव पनि सकियो अब पनि गति लिएन भने यिनीबाट केही हुन सक्दैन भन्ने बुझ्नु पर्छ । यस विषयमा माननीय लीलानाथ श्रेष्ठको ध्यान जान जरुरी छ । –सुरेन्द्र ठाकुर
१५. हामी त पार्टीको कार्यकर्ता नै होइन जस्तो ठान्छन् । कतै कही केही देखिदैन कार्य प्रगति । खोइ नगरपालिका के गर्दैछ ? कसलाई सोध्न जाउँ ? गोलबजार नगरपालिकामा एमाले पार्टीको साख गिर्दै छ । जमदहमा जे उन्नति गरेको थियो पार्टीले त्यो फेरि तल झर्दैछ । –मनु स्याङ्गदन
१६. चुनावले गोलबजारलाई मात्र काम गर्न छेक्यो अन्यत्र पालिकामा त काम भइरहेको छ । नगरपालिका र मेयर श्याम श्रेष्ठ पार्टीको पकडमा छैनन् । उनी एक्लै मनमानी गरिरहेका छन् । भ्रष्ट कर्मचारीहरुको तालमा ताल मिलाइरहेका छन् । अहिलेसम्म सिन्को सारिएको छैन । पार्टी कार्यकर्ताहरुलाई सोधी खोजी नै छैन । –दीपेन्द्र अधिकारी
१७. यो कार्यशैली र निष्कृयतालाई राम्रो भन्नै सकिदैन । बजारमा हल्ला छ यो भन्दा त पुरानै मेयर ठीक थिए । देवनाथ साहले जति पनि यिनले गर्न सक्छन् जस्तो लाग्न छोड्यो । नगरपालिका छ भन्ने नै अनुभूति छैन । –दीपेश सिंह
१८ं अहिले नै मूल्यांकन गर्ने बेला भएको छैन । निर्वाचनले गर्दा काम गर्न नपाएको र नसकिएको हो । अदालतमा मुद्दा छ । कर्मचारी भर्ना गर्न पाएको छैन । निर्वाचन सकियो अब कामले रफ्तार लिन्छ । हामी पनि ध्यान आकर्षण गराउँछौं । बैठकहरुमा कुरा राख्छौं । गतिमान हुन्छ नगरपालिका । ढिलो भएको छ । –सूर्यमान तामाङ्ग
१९. जनताको धेरै गुनासो आइरहेको छ । कार्य प्रगति त जिरो वरावर छ । काम गर्ने शैली पनि ठीक छैन । मेयर आफ्नै हातमा सवै सत्ता राख्न चहान्छन् । कसरी काम हुन्छ । कार्यकर्ताहरुमा पनि व्यापक गुनासो छ । जवाफ दिएर साध्य छैन । –कपिलदेव साह
२०. मेयर श्याम श्रेष्ठ भन्नुहुन्छ हटिया ठेक्कको एक करोड ५२ लाख भ्रष्टाचार भएको छ तर त्यो रकम भ्रष्टाचार गर्ने प्रमुख प्रशासकीय अधिकृत अनन्त कुमार पौडेललाई काखी च्यापेर राख्नुभएको छ । हटिया ठेक्काको रकम हाकिमको मिलिभगत बिना कसरी भ्रष्टाचार हुन्छ ? भ्रष्टाचार भयो भन्ने तर भ्रष्टाचारीलाई कारवाही नगर्ने मेयरको कार्यशैली शंकास्पद छ । –नथुनी राम


२१. चुनावले काम गर्न दिएन । कर्मचारीको लफडा पनि सकिएको छैन । गति सुस्त छ तर गति बढ्छ । दलितहरु भने नगरपालिकाबाट उपेक्षित छन् । सीमित कर्मचारीको घेरामा भने मेयर श्याम श्रेष्ठ परेको अनुभव भइरहेको छ । –संजीव महरा
२२. जनतालाई के जवाफ दिने र एमालेका कार्यकर्ताहरुलाई के जवाफ दिने चिन्तामा छौं । जमदहमा पार्टीको जुन पकड बनेको थियो त्यो फेरि फुस्किदै एको छ । नगरपालिकाको काम गर्ने शैली सुस्त छ । केही काम भएको छैन । चुनाव देखाएर टारिएको छ । –तिलक थापा
२३. यति सुस्त गतिमा काम गरेर नगरवासीहरुको अपेक्षा पूरा हुन सक्दैन । विकासको काम पनि पूरा हुँदैन । गोलबजार नगरपालिका र मेयर श्याम श्रेष्ठको कार्यशैली सिरहा जिल्लामा सबैभन्दा गएगुज्रेको देखिन्छ । पार्टीको साख ओरालो लाग्दै छ । पार्टी कमिटीले ठीक छैन भनेकै व्यक्तिहरु म्ेयरका लागि प्रिय छन् । –माधव बुढाथोकी
२४.आफ्नो पार्टीले जितेपति विकास हुन्छ भन्ने आशा थियो । तर हामी जस्ता साना कार्यकर्ताको कुनै खोजी छैन । केही काम गरेको देखिदैन । पहिलेको मेयर भन्दा पनि खतम हालत छ । मुस्तुफा अली
२५. कार्य विभाजन गर्न पनि मेयर साहव मान्नु हुन्न । सबै आफ्नै हातमा आफ्नै पकडमा राख्न खोज्नु हुन्छ । न आफू काम गर्न सक्नुहुन्छ । जनतामा गुनासो हुनु स्वभाविक हो । नगरपालिकाको जिन्सी शाखाको कर्मचारी, हाकिमको स्वकीय सचिवले नगरपालिका हाँक्दै छन् । कार्यपालिका सदस्यहरुको कुनै महत्व छैन । मेयर श्याम श्रेष्ठलाई पार्टीको घोषण पत्र , पार्टीको पद्धति केही याद छैन । प्रमुख प्रशासकीय अधिकृत , जिन्सी शाखाका विस्वासपात्र र स्वकीय सचिवले जस्तो बजेट र नीति बनाएर दियो त्यही फाइनल हुन्छ । –फुलेस्वर नायक
२६. आफ्नै पार्टीको आफै कसरी विरोध गर्नु ? चुनावले काम हुन सकेन । अब माघदेखि काम हुन्छ नी ! सीता सदा
२७. कमी कमजोरी छ । काम पनि सुस्त गतिमा छ । नगरपालिकाले पिकअप लिन सकिरहेको छैन । तर यी सव कुरा आन्तरिक बैठकमा राख्नुपर्छ । अहिले नै पूरै निराश हुनुहुँदैन । सुधार हुन्छ होला । – मिन कुमार लामा
२८. जमदहमा एमाले झाङ्गिदै थियो तर नगरपालिका र मेयर श्याम श्रेष्ठको व्यवहारले संसदीय चुनावमै धक्का खाइसक्यो । झन् यही चाल रहने हो भने हाम्रो परिश्रम खेर जान्छ । आगामी चुनावसम्म पुग्दा धेरै कठिन हुन्छ ।
–सागर योञ्जन
२९.विकास भएको पनि छैन , होला भन्ने आशा पनि मर्दै गएको छ । दुर्गापुरलाई प्राथमिकतामा नै राखेको छैन । अहिलेसम्म कुनै काम गरेको छैन । –रामकुमार महतो
३० हामी त साधारण कार्यकर्ता हौं । हामीलाई त्यति धेरै कुरा थाहा छैन । । तर गोलबजार नगरपालिकाले अहिलेसम्म कुनै काम गरेको देखिदैन । सुतेर दिन काटेको जस्तो देखिन्छ । जनताले विकास पाएका छैनन् । जमदहमा खानेपानीको समस्या जस्ताको त्यस्तै छ । –कृष्ण बुढाथोकी
३१. गोलबजार नगरपालिका गतिशून्य छ भन्ने कुरामा कुनै दुइमत छैन । तर कार्यशैली पनि ठीक छैन । पार्टी र कार्यकर्तासँग कुनै सरसल्लाह छैन । एउटा घेराभित्र सीमित रहेर पार्टीको साख जोगिदैन । हामीले उचित स्थानमा कुरा राखेका छौं । हेरौं सुधार हुन्छ कि हुँदैन । सुधार नभए राजनीतिक घरानालाई नै घाटा हुन्छ । नेतृत्वले ठीक समयमा सोच्नै पर्छ । –पुष्पलाल पाख्र्रिन
३२. चुनावले काम गर्न दिएन । कर्मचारी नभएर पनि हो । तर काम त नभएकै हो । कर्मचारी र चुनावको बाहाना पनि सकियो । अब काम गरेन भने जनतामा निराशा छाउँछ । कार्यशैली पनि बदल्नु पर्छ । –सुनिल आले
३३. काम गराईको स्पडि धेरै स्लो छ । यो स्पिडले पुग्दैन । स्पिड बढाउनु पर्छ । जनताबाट गुनासो आइरहेको छ । मेयर साहवले गति बढाउनु हुने छ । हामी पनि साथ सहयोग गर्छौ । –नगर उप प्रमुख मानती साह
३४. ने मुस ने मुस के नगडी । कतौ कुछो नै छै नगरपालिका मे विकास । मेयर साहव सुतल छै कि जागल छै । पता नै । अहि सव जानु । –मणिलाल ठाकुर
३५. कामले पनि गति लिन्छ । विकास पनि हुन्छ । गुनासो आइरहेका छन् तर जनतालाई बुझाउन सक्नु पर्छ । निर्वाचन आचार संहिताले हो काम गर्न नदिएको । अहिलेसम्म गतिशून्य भए पनि अब गति लेला भन्ने आशा छ । – जीवन धिताल
३६. मेयर साहवले के गर्नु ? औषधी उपचार कै यति निवेदन छ कि नगरपालिकाको कुर्सीमा बसिसक्नु छैन मेयर साहवलाई । एक करोडभन्दा अधिकको निवेदन छ । अनेक वाहाना लगाएर टार्नु परेको छ । फुटवल टिमलाई काठमाडौं पैसा पठाउन ऋण खोजेर पठाउनु प¥यो । लेखा अधिकृत छैन । नगरपालिकाको खातामा पैसा छैन । कर्मचारीको मुद्दा सकिएको छैन । निर्वाचनले रोक्यो । हामी अगाडि बढ्ने प्रयास गर्दैछौं । – संजित लामा
३७. काम गर्ने गति सुस्त भए पनि विरोध गर्ने बेला भइसकेको छैन । चुनाव सकियो अब पनि गति लिएन भने चैं गडवड हुन्छ । हामी पनि ठाउँमा कुरा राख्छौं । आशा गरौं कामले गति लिन्छ । –किरण लामा
३८. अब अर्को चुनावबाट श्रेष्ठ परिवारले बेतौनाबाट कुनै अपेक्षा नराखे हुन्छ । उनीहरुको प्रयोग गर्ने र त्यसपछि वास्ता नगर्ने चाल हामीले थाहा पायौं । अहिलेसम्म एउटा केही विकास भएको छैन । –रामकुमार न्यौपाने
३९. केही दिन अझै बाटो हेरौं । काम त स्लो नै देख्छु । तर चुनावले गर्दा होला । माघमा पनि गति लिएन भने आलोचना बढ्छ । नगरपालिकाको विषयमा बजारमा नाकारात्मक टीकाटिप्पणि त सुरु भएको छ । –मुक्ति यादव
४०. हामीले खोजेको सक्षमता र इमान्दारिता सहितको सिधासादा मेयर हो । त्यो सुन्दर रुप देखिएन । सोझोको नाममा असक्षमता देखिन्छ । कर्मचारीतन्त्रले घुमाएको देख्दा भ्रष्टाचारको लिक समातेको अनुभूति भइरहेको छ । नियत खराव नहुने हो भने गति सुस्त हुँदैन । गोलबजार नगरपालिकामा पट्यारलाग्दो निष्कृयता छ । भ्रष्टाचारी जोगाउन मेयर आफै सकृय देखिन्छन् । –समर भण्डारी


४१. आफ्नो मान्छे भनेर के गर्नु विकास नगरे पछि । चुनावका बेला जनतालाई के के आस्वासन बाँडेर भोट दिइयो –दिलाइयो । अहिले त कुनै काम गरेको देखिदैन । यो भन्दा त पुरानै मेयर ठीक थियो भन्ने आवाज सुनिन्छ । गाउँमा मुख लुकाएर हिँड्ने अवस्था छ । –रित बहादुर श्रेष्ठ
४२. चुनावले गर्दा हो काम नभएको । अब हुन्छ । अब ढिलो नगर्ने भन्नु भएको छ । अब हामी पनि भन्छौं छिटोछिटो काम गर्नुपर्छ भनेर । तारा महतो
४३. हामी त कति पटक मेयर साहवलाई भेट्न पनि गयौं , भन्न खोज्यौं तर अब वास्ता गरिदैन । हिजो चुनावका बेला जनतासँग गरिएको वादा भुलिसकेको छ मेयर साहवले । कर्मचारीहरुको घेरा तोड्नै सकेनन् मेयर साहवले । अब अर्को चुनावमा यिनको राजनीति पनि समाप्त हुन्छ । मेयर श्याम श्रेष्ठ त डुब्छन् डुब्छन् यिनले दाजु लीलानाथ श्रेष्ठलाई पनि डुबाउँछन् । –मनोज कुमार साह
४४. पार्टीमा निस्वार्थ भएर हामी काम गर्छौ र मेयर र माननीय दाजुभाईलाई वेइमानहरुले घेरा हालेका छन् । हाम्रा कुरा सुनिदैन । ठग प्रवृति देखियो । बेतौनाका जनतालाई ढाँटिएको छ । अर्को चुनावदेखि यिनले बेतौनाबाट आशा नगरे हुन्छ । –सत्य प्रकाश पाल
४५. यहाँ दुर्गा मन्दिर र सडकका लागि चुनाव अघि मेयरबाट जे भनिएको थियो त्यसबारे अहिले सुन्नै चाहदैनन् । विकासको नाममा एक पाइला चालिएको छैन । फोन उठाउदैन । जनताको कुरा सुन्ने चाहदैन । नगरपालिका भ्रष्टाचारको केन्द्र बनेको छ । नतावाद कृपावाद र जातिवाद छ । –उपेन्द्र पाल
४६.खोइ कहा भएको विकास ? कुनै काम भएको छैन । जनतालाई हामीले के जवाफ दिने ? एमालेको इज्जत लिए मेयरले । कमाउ भन्दामा लागेका छन् । वरिपरी भ्रष्ट कर्मचारीको भिड छ । बजार ठेक्का लगाउन सकेको छैन । खोला ठेक्का लगाउन सकेको छैन । मेयर श्याम श्रेष्ठमा सक्षमता छैन । भ्रष्टाचार निर्मुल गर्छु भन्थे । खोइ एक जना पनि कारवाहीमा परेको छैन । –रामचन्द्र यादव
४७. म त नव प्रवेशी हुँ । पुराना कार्यकर्ताहरु पनि असन्तुष्ट छन् । कुनै काम भएको छैन । विकास हुने छाँट पनि छैन । जनता निराश छन् । कार्यकर्ताहरु पनि गुनासो मात्र गर्छन् । नगरपालिका शून्यगतिमा छ । –तुलसी महतो
४८. हामी वडाध्यक्षहरुको त कुनै गिन्ती छैन । हामीभन्दा शक्तिशाली त नगरपालिकामा हाकिमको पिए र जिन्सी शाखाका खरिदार छन् । किनकी उनीहरु मेयरका पथप्रदर्शक हुन् । न त कार्यशैली ठीक छ । न कार्यप्रगति छ । यो नगरपालिका कर्मचारीतन्त्रको घेरामा छ । –गणेश मुखिया
४९. हैट हामीले यस्तो घोर निराशा हुने ठानेका थिएनौं । सिन्को पनि सार्न सकेको छैन । विकास कता गयो ? जनताको काम पनि ठीक टाइममा हुँदैन । मेयर नगरपालिकामा बस्दैनन् । लेखा अधिकृत छैन । कर्मचारी छैन भन्यो टा¥यो । यस्तै हो त सुशासन ? –पारस भट्ट
५०. चुनाव आचार संहिताले रोक्यो । कर्मचारी अभावले कार्य प्रगति हुन सकेन । तर कसरी अगाडि बढ्ने भन्ने छलफल हुँदैछ । रणनीति बन्दै छ । गति लिन्छ । ठाउँमा भन्नु पर्छ । गति सुस्त त भए कै हो । –प्रमोद लामा
५१. कुनै गति देखिदैन । जनतामा निराशा छ । चुनावले काम गर्न दिएन भन्छन् । अन्य पालिकाहरुमा त काम भइरहेको छ । सवैलाई समदृष्टिले हेर्न सकेको पनि देखिदैन । – उतिमलाल साह
५२.खोइ विकास ? केही भएको छैन । यहाँ जनताले कचकच हामीलाई पो गर्छन् । मेयर त भोट लिएर गए । फर्केर आउँदैनन् । जनतासँग सम्पर्क नै छैन । अहिलेसम्म कुनै काम भएको देख्दिन । –कामेस्वर साह
५३ं विकास त भएको छैन । कुनै काम गरेको देखिदैन । ९ महिना बित्यो । अब हुन्छ हुन्छ भन्छन् । जानोस् नेताहरु । – प्रेमकुमार साह
५४. कही कतै केही गर्न सकिएको छैन । मेयर आफू पनि काम गर्दैनन् , हामीलाई पनि गर्न दिदैनन् । सुस्त निकम्मा र भ्रष्ट कर्मचारीलाई मेयरले संरक्षण दिएका छन् । गोलबजार नगरपालिकाको यही रवैया हो भने ५ वर्षमा नतिजा शून्य हुन्छ । कर्मचारी पनि परिपूर्ति गर्न नसक्ने हो भने आफूलाई कसरी सक्षम भन्ने ? –देवनारायण महतो
५५. कुनै काम भएको छैन । पार्टीका कार्यकर्ताहरुको कुनै प्रकारले खोजी गरिएको छैन । नगरपालिकामा विकासका योजनाहरु घोषणा पत्र अनुसार बनेको छैन । कर्मचारीहरुले जे लेखिदियो त्यही योजना बनेको छ । स्वास्थ्य सेवा र शिक्षा क्षेत्र अस्तव्यस्त छ । यस्तो परिस्थिति देखेर मुख छोपेर हिँड्ने अवस्था आएको छ । तुलसी उपाध्याय
५६. छैन छैन कुनै काम भएको छैन । तर अहिलेसम्म चुनावले छेक्यो र रोक्यो भन्न मिलेको छ । तर यस्तै रवैयाले जनताको विकासको आशा पूरा गर्न सकिदैन । नगरपालिका भित्र एउटा नाजायज घेरा बनेको छ । शायद त्यसैले डुवाउँछ । हेरौं केही समय । सुधार हुन्छ की ? –उपेन्द्र मुखिया
५७. माननीय , मेयर सबै पद जितेर पनि बिकास शून्य बरावर छ । कसलाई भन्नु । यसरी हो भने त अर्को चुनावमा मुख देखाउने ठाउँ रहँदैन । अहिलेसम्म कोढिया चाल छ । कतै केही भएको छैन । –राजकुमार महतो
५८. धौं कही पनि विकास भएको छैन । काम सुरु त गरेको छैन । अल्छी लागेर बसेको जस्तो देखिन्छ । नगरपालिका प्रति कोही सन्तुष्ट छैन । एमालेका कार्यकर्ताहरु नै बढी असन्तुष्ट छन् । –रामकुमार महतो
५९.एक पटक बैठक गरेरै भन्नु पर्ने भएको छ । काम साह्रै सुस्त छ । केही गरेको देखिदैंन । यसरी त जनतामा निराशा बढ्छ । जितेर गएपछि जनताको कुनै वास्ता छैन । नगरपालिका पूरै गोलमाल छ । –सुरेश लामा
६०. छैन छैन सन्तोषजनक कार्य सम्पादन छैन । केही गरेको देखिदैन । हामी सबै मिलेर एक पटक गोष्ठी गरेरै भन्नुपर्छ । यसरी नगरपालिका चलाएर विकास हुँदैन । – भीम बहादुर थापा


६१. एक जनाको बीचमा होइन म त हजारौ जनाको बीचमा गएर भन्न सक्छु र भन्छु – मेयर श्याम श्रेष्ठले नगरपालिकामा वेथिति खडा गरेका छन् । पार्टी कमिटीलाई सोधिखोजी छैन । मनपरी गरेका छन् । विकास निर्माणको काम शुन्य छ । पार्टीले बनाएको घोषणा पत्र लत्याइएको छ । योजना छनौट तथा विकास निर्माणको काममा पार्टीलाई वास्ता गरिएको छैन । अरु कसैलाई बोल्नै दिदैनन् । आफू दाजुभाइ बोल्ने र निर्देशन दिने मात्र हो । जनताको अपेक्षा पूरा हुँदैन । –राजकिशोर सिंह
६२. हुन्छ नी विकासको काम पनि । अहिले गति सुस्त छ तर गति बढ्छ । आफ्नै पर्टी विरुद्ध बोल्न भएन । हामी मेयर साहवलाई भन्दै छौं । चुनावले गर्दा काममा ढिलो भएको हो । – उषा धमला
६३.नगरपालिकामा के भइरहेको छ हामीलाई केही थाहा छैन । कसले निर्णय गर्छ केही थाहा छैन । विकास निर्माणको काम शून्य छ । बजारमा व्यापक विरोध र आलोचना छ । समयमै नचेतने हो भने परिस्थिति झन बिग्रन सक्छ । पार्टी पंक्ति र पद्धति दुवैलाई वाइपास गरिएको छ । सीमित मान्छेहरुको घेरामा छन् मेयर श्याम श्रेष्ठ । पुराना नेतृत्वले खडा गरेको भ्रष्ट कर्मचारीतन्त्रको मुख्य मान्छे नै श्याम श्रेष्ठको सहयोगी भए । मुख्य गल्ती त्यही भयो । लीलानाथ श्रेष्ठले पनि बदल्नै पर्ने भनेर औंल्याएका कर्मचारी शानले मेयरसँग मिलेर बसेका छन् । –सुवर्ण दाहाल
६४. बलकवा त झन किनारामा पारिएको छ । श्रेष्ठ परिवारलाई जहिले पनि बलकवाले साथ दियो तर अहिलेसम्म एक कोदालो माटो पनि बलकवामा उनीहरुले दिएका छैनन् । यस्तै काम गराई हो भने अर्को चुनावमा एमालेको अवस्था ठीक रहने छैन । फोन त उठाउन छोडे मेयरले । –रामदयाल यादव
६५. छैन विकास भएको । केही काम गरेको छैन । ९ महिना बित्यो कुनै काम भएको छैन । कसरी सन्तुष्ट हुने । जनतामा निराशा छ । मेयरको कार्यशैली ठीक छैन । कार्यकर्ताको फोन पनि उठाउँदैन । विकास वजेट बाँडफाँड पनि मिलेको छैन । –हरिकुमार यादव
६६. काममा ढिलाई त देखिन्छ तर चुनावले गर्दा हो । आचारसंहिताले काम गर्न दिएन । तर जनतामा असन्तुष्टि अवश्य देखिन्छ । चुनाव र कर्मचारीको बाहाना देखाएर कति दिन टार्ने ? काम गर्नै पर्छ । –रञ्जित यादव
६७. सधै वाहाना बनाएर हुन्छ ? केही काम गरेको छैन । बलकवालाई त झन् नजरअन्दाज गरेको छ । नगरपालिकामा मेयर भेटिदैनन् । फोन गर्दा फोन उठदैन । एमालेको प्रतिष्ठा नै जाने अवस्था छ । –मो. इशा खान
६८. कहा कतौ कुछो ने देखै छियै । कोनो काम नै भेल छै । विकास जल्दी जल्दी होवक चाही । अहिना क निच माइरक नै हेतै । गाममे लोकसव नै निक कहै छै । –कुश्मा सदा
६९. विकास हुन्छ र नगरपालिकाले गर्छ तर अहिले चुनाव भएर काम भएको छैन । कर्मचारी पनि छैन । लेखा छैन भनेर जनतालाई सुन्दा सुन्दा दिक्क लागि सक्यो । कर्मचारी पनि ल्याउन नसके किन मेयर भएको भन्छन् जनताले । अहिलेसम्म खासै काम भएको देखिदैन । –नथुनी साह
७०. विकास केही पनि भएको छैन । खोइ कहिले काम सुरु हुन्छ मेयरले जान्दछन् । हामीले काम गरेको भएको देखेको छैन । अब चुनावले हुन दिएन भन्छ । यसरी कसरी हुन्छ । जनतालाई काम चाहियो । –धनिकलाल यादव
७१ हाम्रो नगरपालिकाले काम गर्छ । चुनावले हो अहिलेसम्म काम नभएको । आशा गर्नुहोस् काम सुरु हुन्छ । ९ महिना बित्यो तर यो वर्षमा अझैं ४÷५ महिना बाँकी छ । अब पनि भएन भने अनि विरोध गर्नुपर्छ । –पुनित यादव
७२. कहि कतौ कुछो नै भेल छै । विकास विकास कहिते कहिते ठोट सुखागेल । मगर मेयरके कानो चालचुल नैदेखै छियै । सुगबुगाइत तक नै छै । कत हेरागेलै जनै छि । लोक सव कहै छै एकरा स बढिया देवनाथे रहैं । – रघुवीर महतो
७३ पार्टीको कुरा बाहिर गर्न हुँदैन । बैठक मै भन्नुपर्छ । तर अहिलेसम्म कुनै काम भएको छैन । जनतामा निराशा त बढदै छ । भ्रष्टाचार गर्न खोज्नेको फाइल खोलेर कारवाही गर्छन् कि उनीहरुसँगै मिल्छन् ? मेयरले कुन बाटो रोज्ने हुन् हामी हेर्दै छौं । –नोम बहादुर मगर
७४. अहिलेसम्म कहि कतै केही गरेको छैन । हामीलाई आशा पनि छैन यिनले केही गर्लान् भन्ने । भसोठ ( दलदल ) मा डुविसके मेयर श्याम श्रेष्ठ । –लक्ष्मण पूर्वे
७५. आशा गरिए अनुसार केही भइरहेको छैन । केही मान्छेहरुको घेरा छ । त्यही घेरामा मेयर मख्ख छन् । काम गर्ने गति शून्य छ । जनतामा निराशा छ । –पवित्र चौधरी
७६.अहिलेसमम्म कुनै काम गर्न सकेको छैन । गति अत्यन्त सुस्त छ । कर्मचारी नभएर यस्तो भएको हो । कर्मचारी विवाद अदालतबाट सुल्झेन भने चर्कै पर्छ । –राजकुमार श्रेष्ठ
७७. काम त केही भएको देख्दिन । हाम्रो गाउँको नबनेको सडक बनेको भनेर १८ नं. फारम भरेर रकम निकाल्ने प्रयास भएको थियो । त्यो फाइलमा मेयरले किन कारवाही चलाएनन् ? शंकास्पद छ । कतै भित्रचित्रै मिलिभगत पो भयो कि ? हामी पर्खी बसेका छौं । –गोकर्ण बहादुर बलम्पाकी
७८. पुराना मेयरले सेट गरेको भ्रष्टाचार गर्ने टिमलाई भत्काउन सकेनन् मेयर श्याम श्रेष्ठले । हटिया ठेक्काको डेढ करोड भ्रष्टाचार गर्ने हाकिमलाई पहिले कारवाही गर्नु पथ्र्यो तर मेयरले उनैलाई प्रिय बनाए । विकासको काम भएकै छैन । त्याग तपस्या गर्ने इमान्दार कार्यकर्ताहरु पाखा लागे । बदमासहरुको रजगज छ । दुर्गापुरमा एमाले झन् पताल धस्छ यसरी । –नारायण महरा
७९. छैन कुनै काम भएको देखेको छैन । साफे सुस्त देखैछियै । गोलबजार नगरपालिका मे विकास के काज पे कानो महत्व नै छै । कार्यकर्ता सवके कोनो वास्ता नै छै । जनता के बहुत आशा रहैं लेकिन निराश भेल जाइछै । –दुखरण महतो
८०. चुनावका कारण काममा ढिलाई भएको भन्छ । काम त भएको छैन । कुनै कुनै समितिहरु बन्न थालेको सुन्छु । अब स्पिड बढ्छ होला । ढिलो भइरहेको मेयरले बुझ्नु पर्छ । –देवनारायण ठाकुर


८१. कहाँ भै छै कोनो काम । दुर्गापुर मे त झन् कुछो नै भेल छै । नगरपालिका सुतल छै । साफे कुछो काम नै भरहल छै । जनता गरियावै छै आब । –गुलाई साह
८२. गोलबजार नगरपालिकाले कुनै काम गर्न सकेको छैन । गति सुस्त छ । मेयर साहवले नेतृत्व गर्न नसकेको हो कि ? जनतामा निराशा छ । पहिलेको मेयर जति पनि काम गर्न सक्ने देखिदैन । – दीपेन्द्र महतो
८३. हाम्रो दलित वस्ती नै उपेक्षामा परेको छ । मेयरलाई दलितको भोट चाहिएको थियो । अब दलितलाई कसले सोध्छ । विकास त केही भएको छैन । गति सुस्त छ । –रामऔतार पासवान
८४. दुर्गापुरमा एमालेले विशेष ध्यान दिनु पथ्र्यो । तर मेयरलाई वास्ता छैन । कुनै विकास गरेको छैन । गाउँमा जनताले करकर गर्छन् । हामीलाई भन्छन् । तर मेयरले हाम्रो कुरा कहाँ सुन्छन् र ? –महेन्द्र महरा
८५ं दलित युवाहरुले आशा गरेका थिए तर मेयर श्याम श्रेष्ठ पनि उस्तै निस्के । कही कतै विकास गरेको देखिदैन । विकास बजेट बाहुवलीहरुको हातमा जाँदैछ । समितिमा त्यस्ता मान्छेहरु राखिदैछ । –लालबाबु महरा
८६. खोइ म त मेयरको शरीरमा जाँगर नै नभएको जस्तो देख्छु । भन्यो भने हुन्छ हुन्छ भन्छन् । गर्ने चैं केही होइन । के भएको हो बुझ्नै सकिएन । बजारमा जनताले घारे हात लगाउन थालिसके । – मञ्जु थापा
८७. खोइ केभन्नु तपाईलाई सारा कुरा थाहा नै छ । मलाई किन सोध्नु हुन्छ ? यति बुझ्नुस् जनताको व्यापक गुनासो आइरहेको छ । कार्यकर्ता पनि असन्तुष्ट छन् । – विद्यासागर साह
८८. मैले के भन्नु स्वयं माननीय लीलानाथ श्रेष्ठले नगरसभा मै भनिसक्नु भयो एमालेको डुंगा डुब्दै छ । पाँच वर्ष पछि जनताको घरमा जान सक्ने स्थिति रहदैन । अब त म पनि नगरपालिका जानै छोड्छु । न कार्यशैली ठीक छ न काम गर्ने गति । –सतिशचन्द्र सिंह
८९. अवस्था राम्रो छैन । गोलबजारमा आगामी २५ वर्ष एमालेले नगरपालिका जित्छ भन्थ्यौं तर यस्तै हो भने पाँच वर्ष पछि पत्ता साफ हुन्छ । सन्तोषजनक काम छैन । कार्यशैली पनि छैन । विजोग छ नगरपालिकाको । –सत्यन यादव
९०. छैन सन्तोषजनक काम छैन नगरपालिकाको । ९ नंं वडालाई त झन् पूरै उपेक्षा गरिएको छ । नगरपालिका के गर्दै छ भन्ने पार्टीलाई थाहा होला तर हामीलाई केही थाहा छैन । जनतामा निराशा बढेको छ । धेरै नराम्रो भइरहेको छ । –सराजुल अली
९१. यहाँ हेर्नुहोस् न ! समिति बनेको र कालोपत्र गर्ने ठेक्का लगाएको रकम कहाँ गयो ? श्याम कुमार श्रेष्ठ मेयरले पत्ता लगाएर कारवाही गर्नु पथ्र्यो । तर खोइ ? उहाँ पनि उतै भ्रष्टहरुसंग मिले जस्तो छ । कुनै काम अगाडि बढ्न सकेको छैन । यहाँ जनताको भनाइ हामीले सुन्नु परेको छ । श्याम र लीलाको पनि यो अन्तिम पटक चुनाव लडे जस्तो छ । सकलदेव सिंह
९२. ९ महिना वित्यो । कुनै काम भएको छैन । मेयरलाई फोन गर्दा फोन उठदैन । नगरपालिकामा गयो कर्मचारी छैन , लेखा छैन भन्छ । यसरी कसरी हुन्छ । पूरै पार्टीको इज्जत धूलोमा मिल्यो । विकास निर्माणको काम शून्य छ । लाग्छ मेयरमा क्षमता नै छैन । –शिव कुमार महतो
९३.यो मेयरबाट धेरै आशा गरेका थियौं तर लक्षण राम्रो देखिदैन । अहिलेसम्म कुनै काम अगाडि बढेको छैन । नगरपालिकामा सुशासन नामको चिज छैन । –मनोज कुमार सिंह
९४.धौ कि कहव यौं ? अहिना चाइल स त पार्टी बर्वाद भजेतै । अखन धैर एकोटा काम नै भेल छै । नगरपालिका आ मेयर साहव कोन जगह पे निन्द परल छै से नै जाइन । कुछ नै कर सकत । कार्यकर्ता र सर सल्लाह कुछो नै छै । अपन फाइदा मात्रे देखै छै मेयर । –चन्देस्वर पासवान
९५.काम त भएको छैन तर आशा मरिसकेको छैन । ढिलो त अवश्य भएको छ । कर्मचारी नभएर पनि गति लिन नसकेको होला । छिट्टै गति लिन्छ होला । –खेम लक्ष्मी श्रेष्ठ
९६.काम सुरुवात हुन्छ । धैर्य गर्नुपर्छ । अहिले ढिलो भएको छ र गुनासोहरु पनि आइरहेको छ । तर संवोधन होला नी ! पार्टीका कार्यकर्ताहरु पनि गुनासो गरिरहेका छन् । –आशा लामा
९७. खोइ तपाईले हामीलाई सोध्नु हुन्छ हामी कसलाई सोधौं ? काम केही भइरहेको छैन । नगरपालिका छ भन्ने अनुभूति नै भएन । सुस्त मात्र नभई गतिशून्य छ । जनतामा निराशा बढदै छ । –बीरेन्द्र झा
९८. काममा ढिलाई भएको छ । तर चुनावले गर्दा हो भन्छन् । हामीले पनि छिटो गर्नुप¥यो भनेका छौं । फेरि पनि भन्छौं । जनता र कार्यकर्ताले गुनासो गर्नु ठीकै हो । –धन प्रसाद यादव


९९. अहिलेसम्म त काम भएकै छैन । एमालेको वडा संयोजक भएको नाताले जनताहरु मलाई गुनासो गर्छन् । हामी पनि घच्घच्याइ रहेका छौं । तर सुनुवाई भएको छैन । यसरी त पार्टीलाई घाटा हुन्छ । नगरपालिका कछुवा गतिमा हिँडिरहेको छ । –विष्णुदेव मण्डल
१००. यो मेयर साहवको कुरा बुझिनसक्नु छ । के गरिरहेका छन् थाहा छैन । विकास आउला आउला भनेर आश गरेर बसेका जनताको आँखा दुखिसक्यो । केही काम गरेका छैनन् । जनताको वास्ता नै छैन । –महेन्द्र पूर्वे

 

 

 


प्रकाशित : २०७९ माघ ९ सोमबार