प्रिय एलिना
सम्साँझै भिड लाग्ने गोलबजारका रक्सी भट्ठीहरु आज सुनसान छ । हिजो दिउँसैदेखि यहाँका सबै भट्ठीहरु रित्याइयो । मेरा अनन्य मित्र तथा गोलबजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसी र मेयर श्याम श्रेष्ठले उनका भिजिलान्तेहरुलाई दिउसै मदिरा स्नान गराएर मेरो खोजीमा पठाएका छन् । भिजिलान्तेहरुलाई उनले फर्मान जारी गरेका छन् अर्जुनको आलो रगत पिएर आओ – अब रक्सी पिउने होइन । आज साँझ भट्ठीहरु रित्तै देखिन्छन् ।
हिजो दिउँसो मेरा विद्वान मित्र केसीले फोनमा बोल्नु भएको रसमाधुर्यले भरिएको वचन ( गाली ) र कुनै कष्ट नहुने गरी मिनटमै प्राण हर्ने तातो गोली हान्छु भनेको अडियो रेकर्ड त सामाजिक सञ्जालहरुमा सुनिहाल्यौं हौली । सुनेर विचलित भयौं हौली । लालाबलाहरु पनि सुर्ताए होलान् । नानीहरुलाई सानत्वना देउ । आड भरोसा देउ । उनीहरुलाई नआत्तिने गरी थुम्थुम्याएर सुताउ ।
म यहाँ ७६ वर्षिय आमाको चित्त बुझाउँदै छु । आमा थोरै सुर्ताउनु भएको छ । पीर मान्नु भएको छ । आमाको मन हो पीडा त हुन्छ नै । तर दुई गाँस माम खुवाएर आमालाई विस्तरामा सुताएको छु । घरका अन्य सदस्यहरु पनि विलखवन्दमा परेका छन् । गाउँले छरछिमेकहरु सबै हाम्रो आँगनमा जम्मा भएका थिए । सोधी खोजी गरिरहेका छन् । प्रियजनहरु भेट्न आइरहेका छन् । फोन गरेर परिस्थिति सोधनी गरिरहेका छन् । सहकर्मी पत्रकार तथा मानव अधिकारकर्मीहरु , न्यायप्रेमी र प्रेस स्वतन्त्रताका पक्षपातिहरुले चासो र चिन्ता व्यक्त व्यक्त गरिरहेका छन् ।
प्रियतमा ः तिमीले हिजो सोधेकी थियौं नी – कसरी यस्तो परिस्थिति उत्पन्न भयो ? सुन म सविस्तार भन्छु । यसमा मुख्य चार कारणहरु छन् । दावानलमा प्रकाशित खवरहरुले चोहर्वा दरवार र तिनका पटुवारीहरुको लुटको स्वर्ग हरण भयो । सरकारी धनलाई दुवाली छेकेर ढडियामा माछा पारे जस्तो सजिलो गरी अपचलन गरिरहेका थिए । त्यसमा दावानल बाधक भयो । सियो खस्न पाउँदैन दावानलले जनमानसमा खबर पु¥याइहाल्छ । यो कुरा दरवारलाई पचेन । आँखाको कसिंगर भयो दावानल ।
दोश्रो कुरा अपार शक्ति हाँसिल गरेको चोहर्वा दरवारलाई शक्तिको उन्माद छ । शक्तिशाली भएपछि नशा लाग्नु र क्रुरता बढ्नु स्वभाविक हो । अब उसले आफ्नो आलोचना सुन्न सक्दैन । दरवारका लागि लोकतन्त्र र संविधान उसको बुट मुनिको धूलो हो । दरवारका लागि हामी जस्ता पत्रकारको ज्यानले कीरा माकुरा जति पनि मूल्य राख्दैन ।
तेश्रो कुरा चोहर्वा दरवारको भय र डर समाजमा फैलाउने र त्यसको आधारमा पार्टी तथा समाजमा हुकुमत चलाउने अति महत्वाकांक्षा राख्दछ । त्यसका लागि दरवारले जल्लादहरु पाल्न थालेको छ । हामी जस्ता मत भिन्न्ता राख्ने पत्रकारलाई नरमेध यज्ञमा होमेर विरोधी सिध्याउने र समाजमाथि एकक्षत्र आधिपत्य कायम गर्ने मनसुवा लुकेकोछ ।
चौथो कुरा मेरा मित्र श्रीधर केसी र उनले खडा गरेको रोष्ट मदिरा ग्याङ्ग ( भाडाका भिजिलान्तेहरु ) चोहर्वा दरवारका अनुचरहरु हुन् । चोहर्वा दरवारको तावेदारी गर्न र हण्डी खान पल्केका यी दुष्टहरु साच्चै जल्लाद चरित्रका छन् । यी आसुरी शक्तिहरुमा न्युनतम मानवीय संवेदना पनि छैन । यिनीहरु विवेक मारिएका आदेशपालक यन्त्र हुन् ।
चोहर्वा दरवारले विरोधी सिध्याएको घटनाका दृष्टान्त अरु पनि छन् । सिरहाबासीलाई हेक्का छ । मलाई पनि थाहा छ । त्यसकारण मेरो भौतिक हैसियत उनीहरुका अगाडि लामखुट्टे बरावर पनि छैन । उनीहरुले चाहेको दिन मलाई क्याच्चै पार्न सक्छन् । मलाई मारेर दुर्घटना सावित गराई मेरो हत्याको दोष मै माथि लगाई दिन सक्छन् । चोहर्वा दरवारसँग वास्तवमै अपार शक्ति छ । श्रीधर केसी दरवारकै बलमा उफ्रिएका हुन् । हत्याराकै कलमले मुद्दा फैसला लेख्न पाएपछि जे पनि हुनसक्छ । हिजो मेयरको कार्यकक्षमा श्रीधरकेसी र उनका पालित पोषित ब्वाँसोहरुको उफ्राई चिथोरेर खाने प्रलयंकारी ताण्डव थियो ।
यति जान्दाजान्दै पनि म किन वागी पत्रकारितामा उत्रेको छु भन्ने लाग्छ होला तिमीलाई । पहिलो कुरा ः मेरो विश्वास के हो भने जीवन र मृत्यु कुनै मनुष्यको हातमा छैन । चोहर्वा दरवार व्यर्थमा आफूलाई ईश्वरीय भूमिकामा आफूलाई प्रस्तुत गरिरहेको छ । त्यसकारण मेरो मृत्यु नआई म मर्दिन । मृत्यु आएको दिन मलाई कसैले जोगाउन सक्दैन । हाम्रा पिताले प्राण त्याग्ने बेलामा म रुँदा भन्नुभएको कुरा स्मरण होला तिमीलाई । संसारमा सबैका पिता मर्छन् । सबैको पिता बाँचेर तेरो मात्र बाउ मरेको भए दुख मान्नु हुन्थ्यो । सबैको बाउ एकदिन मर्छ बेटा । नरोउ छोरा भनेर अन्तिम क्षणमा मेरो आँशु पुछ्नु भएको याद छ नी ! सबैको जोडी बाँचेर तिमी मात्र विजोडी बस्नु परेको भए पीर–सुर्ता मान्नु हुन्थ्यो । बस यति बुझ –एक दिन सबैको खसम मर्छन् । म यति विश्वास दिलाउँछु तिमीलाई कि म पिठ्युँ देखाएर भाग्ने छैन । मरे पनि छाती मै गोली थापेर मर्नेछु । मैले यस्तो साहासको कुरा गरेर तिमीलाई ढाडस दिँदा तिमी झन् उदास हुनेछौं भन्नेमलाई थाहा छ । तिमी कोमल हृदयी , करुणा र प्रेमकी प्रतिमूर्ति । मेरो पाषण ज्ञानले तिम्रा आँखा झन् सराउने छ भन्ने कुरा मलाई थाहा छ ।
हे संङ्गिनी ः मेरो शक्ति भनेको अहिंसा प्रतिको निष्ठा हो र आध्यात्म चिन्तन हो । यो वाहेक मसँग कुनै शक्ति छैन । म माथि हिंसा नै भयो भने पनि म अहिंसात्मक तरिकाले नै प्रतिकार गर्नेछु । यो नै मेरो शक्ति हो । अहिंसा प्रतिको मेरो निष्ठाले मलाई अपार आत्मगत शक्ति प्रदान गर्छ । आज म पत्रकारिता क्षेत्रको एउटा सौन्दर्य अर्थात पत्रकारिता पेशाको सुन्दर पक्ष उद्घाटित गर्दैछु । मिठो मसिनोको त कुरै छोडौं दुई छाक पेटभरी खाने कनिका किन्ने पैसा पनि आमद हुँदैन । तर गोली र गाली भने सित्तैमा आइलाग्छ ।
रोमको साम्राज्य ढल्यो , सिकन्दर अस्ताए । हिटलर पनि आत्महत्या गर्न बाध्य भए । यस्ता कैयन उदाहरण छन् इतिहासमा । जल्लाद चरित्रको शासक र नरमेध यज्ञका रक्त पिपाशुहरु इतिहासका रछानमा विलाए । चोहर्वा दरवारले पनि आफ्नो पतनको मार्ग आफै कोर्न थालेको छ । चोहर्वा दरवार जल्लादको भूमिकामा उत्रिएको छ , नरमेध यज्ञको आयोजन गर्दैछ ।
उही विप्रलम्भित यायावर फकिर अर्जुन