यात्रा संस्मरण : मनोकांक्षा पूरा गर्ने पाथिभरा

[sharethis-inline-buttons]

मेघराज तामाङ

संखुवासभा – भनिन्छ, संसारमा विश्वासले भगवानको पूजा गरिन्छ । विश्वासले नै ढुङ्गालाई भगवान ठानेर पुजा गरिन्छ । मन्दिर र धार्मिक स्थलहरूमा विश्वासले नै भगवानलाई केही मागिन्छ । ती मागेका सबैमा केही पुरा हुन्छन्, त केही अधुरा । मागेका कुरा पुरा गर्ने संखुवासभाको पाथिभरा ।

पाथीभरा मन्दिर हिन्दू एवं बौद्धहरूको महत्वपूर्ण धार्मिक स्थल हो । संखुवासभाको चर्चित धार्मिक स्थलहरूमध्ये पाथिभरा भगवतीको मन्दिर एक हो । जिल्लाको पूर्वमा पर्ने धर्मदेवी नगरपालिका १ मा पाथिभराको मन्दिर चर्चित पर्यटकिय स्थल तीनजुरे जलजले मिल्केको परिसरमा अवस्थित छ । पूर्वी ताप्लेजुङ जिल्लामा पाथिभराको उत्पति भएको हो । यसलाई ठूलो पाथिभरा भन्ने गरिएको छ । तर जलजले मिल्केबाट ताप्लेजुङको पाथिभरा देखिने भएकाले मागेको कुरा पुग्ने विश्वासले यहाँ पनि पाथिभराको स्थापना गरिएको पुजारी नवराज खनालले बताए ।

छिमेकी जिल्ला तेह्रथुम सिमानामा पर्ने यो मन्दिर २०५३ सालमा २,९२० मीटरको उचाइमा स्थापना गरिएको हो । अन्नभरेको पाथीझैं सुन्दर, मनमोहक आकृति बोकेको पाथीभरा पहाडको शिखरमा (टुप्पोमा) देवीको उत्पतिस्थल रहेकोले यी देवीको नाम पाथीभरा देवी भनी श्रद्धा एवं भक्तिपूर्वक पुकारिन्छ ।

सदरमुकाम खाँदबारीबाट ८७ किलोमिटर पूर्वमा टुटे दुउराली पुगिन्छ । यो जोगवनी–किमाथांका कोशी राजमार्गको खाँदबारी–टुटे देउराली सडक खण्ड हो । जहाँबाट २० मिनेटको गाडीको यात्राले पाथिभरा भगवती मन्दिर पुग्ने पहिलो खुड्कीलो पुगिन्छ । उक्त खुड्कीलाबाट हजार खुड्किला पार गरेपछि पाथिभरा मन्दिर पुगिन्छ ।

पाथिभरा दर्शनका लागि गएका हामीहरू मन्दिर परिसरमा एकै छिन थकाइ मारेर पाथीभरा भगवतीको दर्शनमा लाग्यौं । भक्तजनहरूको त्यति घुँइचो थिएन । हामीले पुजा सकेर मन्दिरको सिनमा फोटो खिच्यौं । मन्दिरलाई पृष्ठभूमिमा राखेर फरकफरक पोजमा एकएक गरी फोटो लियौं । अनि सामूहिक फोटो पनि उसरीनै लियौं । फोटो सेशन सकेर हामी नाङ्गो जमिन र चुलिएका पहाडलाई पछिल्तिर पारेर फोटो लिइरहेका थियौं ।

यसबेला मध्यान्हको १२ बजिसकेको थियो । ४ जना भक्तजनहरू नलीधागोको सेतो डोरो तान्दै मन्दिर आउने हजार खुड्किला चड्दै थिए । हामीले चढेका खुड्कीला उनीहरूले दोहोर्‍याइँ रहेका थिए । त्यहीँ खुड्कीला उक्लिदा हामीले पनि दाँया पट्टी धागोको डोहोरो देख्यौं । तर उत्ती ख्याल भएन, खुड्कीलाको सुरुदेखि तान्दै आएको डोरो मन्दिर पुगेर मन्दिरको वरीपरी ३ फन्को लगाइदो रहेछ । ती चार जना भक्तजनले यसो गरेको देख्दा हामीले पुजारीलाई सोध्यौं, किन यसो गरेका ? पुजारीले भने–सुरुबाट तानिएको धागोको डोरो मन्दिरलाई ३ फन्कोसम्म लगाउँदा चुटिएन भने, पाथिभरा भगवतीसँग गरेको विश्वास पनि नटुट्ने रहेछ । पुजारीले थपे–त्यसैले भगवानले विश्वास गरेर मागेको कुरा पुरा गर्नुहुन्छ । पुजारीले यस्तो बताइ रहँदा मलाई फेरी प्रथम खुड्कीलोमा गएर सेतो डोरो तानेर तीन पल्ट मन्दिर घुम्ने रहर जाग्यो । भगवानलाई विश्वास दिलाउँ र मागेको कुरा पुरा होस् भने झैं लाग्यो । तर त्यसो गरिँन । भगवानका सामु अपत्यारीला बनेको भने होइन ।

दर्शन सकेर उनीहरू पनि बाहिरिए । तीन जना भक्तजन छिट्टै बाहिरीए । एकजना भक्तले मन्दिरको गेटमा समेत आएर घुँडा मारेर ढोगे । उनी अरुहरू र हामी भन्दा भगवानको बढी विश्वास गर्दा रहेछन् ।

उमेरले २२/२४ को देखिने तीनलाई धागोको डोरो तानेर आएको देखेकाले तँपाई पहिलेनी पनि आउनु भएको थियो? भनेर बोलीको बाटो खोलेँ । उनले तीन वर्ष अघि आएको बताए । किन दोहोरिएर आउनु भएको भनेँ, उनले भने–मानिसहरू भगवानलाई केही माग्न मन्दिर धाउँछन् । तर म भगवानलाई धन्यवाद दिन दोहोरीको हुँ । एकोहोरो थप्दै गए । २०७१ सालमा नयाँ वर्षमा म यहाँ आएको थिएँ । त्यसबेला आउँदा मैंले मेरी उनीलाई मागेको थिएँ । जसलाई मैंले भगवानसित मागेको थिएँ, उसै सित दुई वर्ष अघि विवाह भयो । अहिले चार महिनाको छोरो पनि छ, फिस्स हाँस्दै भने । त्यसैले मागेको कुरा पुरा गरिदिनु भएको छ भगवानले आज धन्यवाद पनि दिएँ ।

उनको भनाइ सुन्दा हाम्रा समूहका साथीहरू छक्कै परे । उनले मेघराज तामाङ पाँचखपन नगरपालिका १ संखुवासभा घर बताए । तामाङले भने–तँपाईहरू पनि माग्नुहोस्, मनोकांक्षा पुरा हुनेछ । जसरी मेरो भयो । उनीसंगका साथिहरू फर्किए । हामी पनि हाम्रो मनोकांक्षा पुराहोस् भन्दै हजार खुड्किला ओर्लियौं ।

पाथिभरा संखुवासभाको मूख्य पर्यटकीय स्थल मानिन्छ । विशेष गरी वैशाख १ गते नयाँ वर्षमा लाली गुराँस फूल्ने भएकाले पर्यटकहरूको घुइचो लाग्ने गरेको छ । यस वरपर विश्वमा पाइने ३३ मध्ये २८ प्रजातिका गुराँस पाइन्छ ।
यस मन्दिरको परिसरबाट मौसम खुला हुँदा सप्तकोशी नदीको पानीसमेत देख्न सकिन्छ । भने ताप्लेजुङमा रहेको ठूलो पासथभराको दर्शन गर्न सकिन्छ ।


प्रकाशित : २०७८ कार्तिक ८ सोमबार