रारातजब क्याम्पस गोलबजारको क्याम्पस सभा स्थगित गर्न माग

[sharethis-inline-buttons]

गोलबजार स्थित राम प्रताप राम प्रसाद तामाङ्ग जनता बहुमुखी क्याम्पसको भोलि बैशाख २२ गते हुने भनिएको साधारण सभा स्थगित गर्न र म्याद गुज्रेको सञ्चालक समितिले गरेको अन्यायपूर्ण निर्णय सच्याउन चार विद्यार्थी संगठनहरुले माग गरेका छन् ।

अनेरास्ववियू सिरहाका अध्यक्ष सुरेश यादव, विद्यार्थी जनमत संघका क्याम्पस इकाई अध्यक्ष सचिन यादव, ने.वि.संघका सचिव विनय यादव र समाजवादी विद्यार्थी युनियनका केन्द्रीय सदस्य नागेस्वर यादवले आज एक संयुक्त विज्ञप्ती जारी गर्दै बैशाख २० गते क्याम्पस सञ्चालक समितिले गरेको निर्णय अमान्य रहेको जिकिर गरेका छन् । प्रेस विज्ञप्तीमा भनिएको छ , “ क्याम्पस सभा सदस्य मनोनित गर्ने कार्य नै न्यायसंगत छैन त्यसकारण त्यसको हामी घोर भत्र्सना गर्दछौं । ”

विद्यार्थी संगठनका नेताहरुले प्रेस विज्ञप्तीमार्फत बैशाख २२ गते बिहान ८ बजे अगाडि नै गलत निर्ण सच्याउन अल्टिमेटम दिएका छन् । निर्णय नसच्याइए त्यसबाट उत्पन्न परिस्थितिको जिम्मा क्याम्पस प्रशासन हुने चेतावनी दिइएको छ । विद्यार्थी नेताहरुले सबै वर्ग , तह, क्षेत्र र दलहरुबाट समावेशी प्रतिनिधित्व गराई राजनीतिरहित र निष्पक्ष ढंगले नयाँ नेतृत्व चयन गर्नु पर्ने माग गरेका छन् ।

ज्ञापन पत्र बुझाउन जाँदा क्याम्पस प्रमुख नभेटिएका र फोन सम्पर्कमा समेत नरहेकोले क्याम्पस प्रमुखको कार्यालयको ढोकामा ज्ञापन पत्र टाँस गरेको विद्यार्थी नेताहरुले बताए ।

स्मरण रहोस् गोलबजार क्याम्पसको सञ्चालक समिति र क्याम्पस प्रमख दुबैको म्याद सकिएको छ । नयाँ सञ्चालक समिति गठन गर्न भोलि २२ बैशाखमा क्याम्पस सभा बोलाइएको छ ।


प्रकाशित : २०८१ बैशाख २१ शुक्रबार