गोलबजार उद्योग व्यापार संघले एनआइसी एसिया बैंकमा ज्ञापन पत्र बुझाउँदै बदनियतपूर्वक बिक्री गरिएको ऋणीको जग्गा तत्कालै फिर्ता गर्न माग गरेको छ । एनआइसी एसिया बैंक गोलबजार शाखाले ऋणी दुर्गेश साहको जग्गा गैर कानूनी रुपमा लिलाम गरी बैंककै कर्मचारीहरुको मिलिभगतमा आफन्तहरुको नाममा बिक्री गरेको ज्ञापन पत्रमा आरोप लगाइएको छ । ज्ञापन पत्रमा भनिएको छ , धितो वापत राखिएको जग्गा लिलाम गर्ने कुनै आधार छैन । समुच्चा देश आर्थिक मन्दीमा डुबेको बेला ऋणी तथा व्यापारीहरुसँग सरसल्लाह नगरी , पूर्व जानकारी नदिई तथा कानूनी प्रकृया अवलम्वन नगरी गुपचुप रुपमा धितो जग्गा लिलाम गरी हतार हतार बिक्री गरिएको छ । जग्गा बैंककै कर्मचारीहरुको आफन्तहरुको नाममा बिक्री भएको देखिदा यसमा बदनियत भएको दाबी गरिएको छ ।
ज्ञापन पत्र बुझाउँदै उद्योग व्यापार संघ गोलबजारका अध्यक्ष विजय साहले उक्त जग्गा फिर्ता नगरिए कडा आन्दोलनमा उत्रिने र त्यसको सम्पूर्ण जवाफदेही एनआइसी एसिया बैंकले लिनु पर्ने चेतावनी दिइएको छ । ज्ञापन पत्रमा तत्कालै सुनुवाई नभए एआइसी एसिया बैंक विरुद्ध कडा कदम चालिने उद्योग व्यापार संघका अध्यक्ष साहले जानकारी दिएका छन् ।
गोलबजारका व्यापारी दुर्गेश साहले एनआइसी एसिया बैंक गोलबजार शाखाबाट आर.के. ट्रेडर्स, कृष्णा अटो मोवाइल्सको नाममा र केही रकम निजी कर्जाको रुपमा झण्डै पौने ६ करोड रुपैयाँ कर्जा लिएका थिए । दुर्गेश भन्छन् मैले नियमित व्याज बुझाउँदै आएको थिएँ । पछिल्लो एक वर्षदेखि व्यापार मन्दि भए पछि व्याज बुझाउन सकेको थिएन । उनले भने मैले धितो जग्गा बिक्री गरेर बैंकको ऋण तिर्ने योजना बनाए । राजमार्गसँग मुख मिलेको जग्गा भएको कारण १५ लाखको धुरले जग्गाको बैना गरेको थिएँ । तर बैंकका कर्मचारीहरुले कहिले कित्ताकाट गर्न नमिल्ने भनेर ग्राहक भडकाइ दिए । कहिले जिल्ला प्रशासन कार्यालयमा गएर लिलामी कार्यविधिमा चढेको जग्गा बिक्री हुँदैन भनेर ग्राहकलाई धम्क्याएर भगाइ दिए ।
दुर्गेशले भने बैंकका कर्मचारीहरुले मेरो जग्गा हडप्ने जाल बुनका रहेछन् । मलाई थाहै नदिई सुटुक्क जग्गा लिलाम गरेर मात्र ४ लाखको धुरमा जग्गा बिक्री गरिदिएछन । मैले धितो राखेको जग्गा काठमाडौं महानगरपालिका ११ की पूजा पोखरेलको नाममा पास भएको देखिन्छ । ती महिला बैंक मैनेजरकै आफन्ती हुन् । त्यसैगरी अर्को एक कित्ता जग्गा गोलबजारकै प्रसिद्ध एक व्यापारीका ससुराको नाममा पास भएको देखिन्छ । दुर्गेशले दुखेसो पोख्दै भने मेरो जग्गा मैले बिक्री गर्न पाउनु पर्छ । जग्गा बिक्री गरेर आएको रकमबाट बैंक ऋण तिरेर बाँकी रकम मैले पाउनु पर्छ । नियम र चलन सर्वत्र यस्तै छ । दुर्गेशले भने मैले बैंक स्टेटमेन्ट माग्दा पनि दिएनन् । जग्गाको विषयमा कुरा गर्न काठमाडौंसम्म गएँ तर कसैले मेरो कुरा सुनेनन् । उनीहरुले पहिल्यै योजना बनाएर मेरो जग्गा पजनी गर्ने सोच बनाएका रहेछन् । दुर्गेशले भने मैले लिंदै नलिएको क्रेडिट कार्डबाट रकम झिकिएको देखाएर मेरो कर्जा रकम बढाइएको छ । बैंक स्टेटमेन्ट समेत नदिएर मलाई गुमराह गरिएको छ । षडयन्त्रमुलक ढंगले मेरो जग्गा कौडीको भाउमा बैंकका कर्मचारीहरुले बिक्री गरी खाएका छन् ।
दुर्गेशको जग्गा लिलामी गरी बिक्री गरिएकोमा गोलबजारका उद्यागी व्यापारीहरु क्रुद्ध देखिन्छन् । उनीहरुले एनआइसी एसिया बैंक विरुद्ध राष्ट्रिय स्तरमो आन्दोलन हुने बताएका छन् ।