मिर्चैया क्याम्पस प्रमुखले क्याम्पसको खाताबाट नियम विपरीत लिए उपचार खर्च २४ लाख

[sharethis-inline-buttons]

मिर्चैयास्थित श्री ब्रम्हचारी दामोदरानन्द कलेजका प्रमुख सञ्जय साहले उपचार खर्च वापत क्याम्पसको खाताबाट २४ लाख रकम लिएको खुलासा भएको छ । क्याम्पस प्रमुख साहले आफू अस्वस्थ भएको र उपचार गराउन आवश्यक रहेको भन्दै क्याम्पसको व्यवस्थापन समितिबाट निर्णय गराई सो परिमाणमा रकम निकासा लिएको सुत्रहरुले जानकारी दिएका छन् ।

सुत्रहरुले जानकारी दिए अनुसार उपचार खर्च लिइएको कुरा पारदर्शी गरिएको छैन । व्यवस्थापन समितिको निर्णय पनि गोप्य राखिएको छ । व्यवस्थापन समितिका सदस्य कामेस्वर साफी भन्छन् म व्यवस्थापन समितिमा प्रवेश गरेको धेरै समय भएको छैन । तर मैले पनि सुनेको छु क्याम्पस प्रमुखले उपचार खर्च वापत ठूलो धनरासी निकासा लिएका छन् । म ठोकुवा चाँहि गर्न सक्दिन ।

सुत्रहरुले बताए अनुसार कलेजमा व्यवस्थापन समितिको अध्यक्ष पदमा क्याम्पस प्रमुख साहका मामा मधुरी साह थिए । पछि मधुरी साहका छोरा कृष्णा साह क्याम्पसका अध्यक्ष बनेका छन् । साह परिवार जग्गा दाता भएका कारण उनको परिवारका धेरै जना क्याम्पसको विभिन्न पदमा आसिन छन् । आफ्नै मामाका छोरा अध्यक्ष भएका कारण क्याम्पस प्रमुख साहले विपुल रासी २४ लाख उपचार खर्च वापत झिक्न सफल भएका छन् । मामाका छोरा अध्यक्ष र आफू क्याम्पस प्रमुख भएका कारण नियम मिचेर धेरै काम गरिएको स्थानीयहरुको आरोप छ । ब्रम्हचारी दामोदरानन्द कलेजलाई मिर्चैयामा “मामा भाञ्जा” कलेज भन्न थालिएको छ ।

मिर्चैयाका नेकपा माओवादी केन्द्रका नेता दिलीप साह भन्छन् क्याम्पस प्रमुखलाई २४ लाख रकम उपचार खर्च दिइनु अस्वभाविक हो । उनले भने यसलाई तत्काल पारदर्शी गरिनु पर्छ , सत्य तथ्य बाहिर ल्याइनु पर्छ । छानविन हुनुपर्छ ।
मिर्चैयाका नेपाली कांग्रेसका नेता धनेस्वर यादव भन्छन् अभिभावकले गाँस काटेर शुल्क तिरेको रकमबाट क्याम्पस प्रमुखलाई २४ लाख उपचार खर्च दिइएको हो भने यो सिधै भ्रष्टाचार हो । यसको छानविन हुनुपर्छ । क्याम्पसको विधानमा क्याम्पस प्रमुखलाई उपचार खर्च दिने प्रवन्ध नै छैन । नेपाल सरकारको कुनै आर्थिक ऐन नियमले पनि यति धेरै रकम उपचार खर्च दिन मिल्दैन । आफ्नो उपचार खर्च आफैले तिर्नुपर्छ ।

यस सम्बन्धमा क्याम्पस प्रमुख साहसँग जिज्ञासा राख्दा उनले यतिउति रकम नखुलाए पनि आफूले उपचार खर्च लिएको स्वीकार गरेका छन् । साहले भने नियमानुसार विधानसम्मत तरिकाले व्यवस्थापन समितिबाट निर्णय गराई उपचार खर्च लिएको छु । कतिपय रकम पछि कट्टा हुने गरी लिएको उनले बताए । उपचार खर्च वापत कति रकम लिनुभएको हो , खुलाउन आग्रह गर्दा पनि उनले भन्न चाहेनन् ।


प्रकाशित : २०८१ जेष्ठ ५ शनिबार