अर्जुन थपलिया
घटना नं. १ ः
सिरहाका अपाङ्ग शिक्षक प्रशुराम साहलाई यस वर्षको सूचना अभियन्ता राष्ट्रिय पुरस्कारबाट सम्मानित गरिएको छ । गत साता नेपालका सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलको हातबाट साहले पुरस्कार ग्रहण गरेका छन् । राष्ट्रिय सूचना आयोगले साहलाई यस वर्षको सर्वोत्कृष्ट सूचना अभियन्ता घोषणा गर्दै उक्त पुरस्कार दिन सिफारिस गरेको थियो ।
घटना नं. २ ः
गोलबजार नगरपालिकाले आर्थिक वर्ष २०८०÷०८१ को लागि प्रकाशित गर्नु पर्ने रातो किताब आजसम्म प्रकाशित गरेको छैन । अब यो चालु आर्थिक वर्षको समय पूरा हुन मात्र ४५ दिन बाँकी छ । तर कानूनले पहिलो त्रैमासिकमै प्रकाशित गर्न भनेको रातो किताब प्रकाशित नगरेर जनतालाई अन्धकारमा राखेर सुशासनको धज्जी उडाइएको छ ।
घटना नं. ३
गोलबजार नगरपालिकाका मेयर श्याम कुमार श्रेष्ठले एक वर्ष अघि आवधिक योजना तर्जुमा गोष्ठीको उद्घाटन सत्रमा भाषण गर्दै भनेका थिए ,सिरहातिरको एउटा मोटे मोटे मास्टर छ , उसले सूचना माग्छ । सूचना मागेर पैसा उठाउँछ । वार्गेनिङ्ग गर्छ । मैले भनिदिएँ , जा जहाँ जानु छ जा – म सूचना दिन्न ।
लोकतन्त्र भनेर मात्र हुँदैन । लोकतन्त्र छ भनेर जनताले अनुभूति गरेको हुनुपर्छ । लोकतन्त्र अभ्यासमा पनि देखिनु पर्छ । हामीले चाहेको जीवन्त लोकतन्त्र हो । मुर्दा तथा भन्नका लागि मात्र थपना लोकतन्त्र हामीले चाहेको र ल्याएको लोकतन्त्र होइन । पञ्चायती व्यवस्थाले पनि आफूलाई माटो , हावापानी सुहाउँदो विश्वको सर्वोत्कृष्ट र मौलिक प्रजातन्त्र दाबी गथ्र्यो तर वास्तवमा त्यो लोकतन्त्र थिएन ।
लोकतन्त्रको पहिलो शर्त के हो भने राज्य व्यवस्था पारदर्शी हुनुपर्छ । राज्यका अवयवहरुले के र कसरी गर्दैछ भन्ने कुरा छर्लङ्गै जनताले देख्न पाउनु पर्छ । त्यसकारण भनिन्छ लोकतन्त्रमा शासकहरु शिशाको घरमा बसेका हुन्छन् । शासन प्रकृयासँग जोडिएको उनीहरुको गतिविधि र निर्णय जनता समक्ष समयमै पुग्नुपर्छ । यदि त्यस्तो व्यवस्था गरिंदैन भने वा सूचना लुकाएर अपारदर्शी किसिमले काम गरिन्छ भने त्यो सुशासन होइन । लोकतन्त्र होइन ।
अब तुलना गरौं गोलबजार नगरपालिकाका मेयर श्याम कुमार श्रेष्ठ र सूचना अभियन्ता प्रशुराम साहको । प्रशुराम साह एक अभियन्ता हुन् । उनी नेपालको संविधानले प्रदान गरेको नागरिकहरुको मौलिक अधिकार बहाली गराउन कृत संकल्पित छन् । उनलाई ज्ञात छ सूचना पाउने हरेक नेपाली नागरिकको मौलिक हक हो । यसलाई उलंघन गर्न , खुम्च्याउन वा सीमित गर्न सकिदैन । त्यसकारण हरहालतमा नागरिकले सूचना पाउनै पर्छ ।
संविधानले प्रदान गरेको नागरिक दायित्व पनि उनी हरहालतमा पूरा गर्न चाहान्छन् । साह लोकतन्त्रको पहरेदार हुन् । उनी जनताको अधिकार प्रचलन गर्न गराउन जनवकालत गर्छन् । समाजलाई चेतनाकृत गर्छन् । आफू अग्रसर भएर अभियानको नेतृत्व गर्छन् । उनी जनताको जल्दोबल्दो सवाल उठाउँछन् । उनी सुशासन प्रत्याभूत गर्न कोसिस गर्छन् । उनी राज्यका अवयवहरुलाई पारदर्शी हुन बाध्य बनाउँछन् । सूचना प्राप्त गर्नुलाई उनी लोकतन्त्रको जीवित अभ्यास मान्दछन् । उनलाई ज्ञात छ सूचना लुकाएर जनप्रतिनिधि र कर्मचारीतन्त्रले कसरी राज्यको ढुकुटीमा तर मार्छन् । सूचना प्रवाह रोकेर लोकतन्त्रको घाँटी निमोठ्ने सत्तासिनहरुको अभ्यासलाई साहले सूचना माग्ने अभियानमार्फत भताभुङ्ग पारिदिएका छन् ।
अर्कोतिर गोलबजार नगरपालिकाका मेयर श्याम श्रेष्ठ छन् । उनलाई सूचना प्रवाह गर्नुपर्छ भन्ने कुरा पटक्कै मन पर्दैन । उनलाई र उनको नेतृत्वमा रहेको गोलबजार नगरपालिकाका कर्मचारीहरुलाई नेपालको संविधान २०७२ मा राखिएको सूचनाको हक सम्बन्धी मौलिक हकको व्यवस्था र सूचना ऐनले नागरिकलाई प्रदान गरेको सूचना माग्ने अधिकार कत्ति पनि मन परेको छैन । उनीहरुको नियन्त्रण बाहिरको विषय हो र मात्र , नत्र संविधान र ऐनबाट सूचनाको हक सम्बन्धी व्यवस्था नै राखेज गरिदिन्थे । नगरपालिकाका एक कर्मचारीले संविधानको व्यवस्था देखाएर सूचना माग गर्दा भनेका थिए , “यस्तो पनि संविधान हुन्छ र ? यति धेरै मौलिक हक राखिदिने हो संविधानमा ?”
मेयर श्रेष्ठ पनि लोकतन्त्र चाहान्छन् तर उनलाई चौथो अङ्ग सञ्चार जगत र सूचना अभियन्ताहरु बिनाको लोकतन्त्र चाहिएको छ । पत्र पत्रिका र सूचना माग्ने नागरिकसँग श्रेष्ठलाई एलर्जी छ । पत्रकार भए पनि उनको पक्षमा लेखिदिने र सूचना नमाग्ने अभियन्ता चाहिएको छ उनलाई । उनी अन्धकारमा राज्य गर्न चाहान्छन् । धमिलो पानीमा माछा मार्ने उनको स्वभाव हो । उनी अपारदर्शीमा विश्वास गर्छन् । उनी गोलबजारको सिकन्दर महान बन्न चहान्छन् । त्यसकारण उनको विरुद्ध बोल्ने कार्यकर्ताको मुखमा भय र डरको ताला झुण्ड्याउन चाहान्छन् । पत्र पत्रिकामा कुनै कार्यकर्ताले उनको कार्यशैली विरुद्ध बोलेको थाहा पाएपछि उनले फोन गरेर धम्क्याउँछन् । उनी विरुद्ध लेख्ने पत्रकारलाई कुटपिट गर्न बाहुबली समूह परिचालन गर्छन् । सूचना माग्ने अभियन्तालाई पैसा मागेको फत्तुर थाप्छन् ।
उदाहरणका लागि हेरौं । । पहिलो त्रैमासिकमा प्रकाशित हुनु पर्ने रातो किताब अहिलेसम्म प्रकाशित भएको छैन । जवकि आर्थिक वर्ष अन्त्य हुन मात्र ४५ दिन बाँकी छ । मैले स्वयं मेयर साहेबलाई सोधे , खोइ त रातो किताब ? उनले भने , पुरानो हाकिम अनन्त पौडेललाई छपाउन भनेको थिए , छापेनन् । म पालिकाको वेभसाइटमा आजै राख्न लगाइदिन्छु । तर ४ दिन बित्दा पनि वेभसाइटमा राखिएको छैन । पालिकाका कर्मचारी निरञ्जन शाक्यलाई रातो किताब खोइ भनेर प्रश्न गर्दा उनले भने सबै परिषद्को निर्णय चेन्ज भएको छ । कसरी निकाल्नु किताब ? फेरि उनले भने किताब छापिएको छ , चाहिन्छ भने निवेदन दिनुस् । मेयर भन्दा पनि बढता मेयरवादी कर्मचारी छन् । स्वयं मेयर भन्दैछन् किताब छापिएको छैन तर कर्मचारी भन्छन् किताब छापिएको छ , निवेदन लिएर आउ । उता पुरानो हाकिम अनन्त पौडेलसँग रातो किताब किन छापिएन भनेर सोध्दा उनी भन्छन् मेयरले छाप्न दिएनन् । कसको कुरा पत्याउनु र कस्को नपत्याउनु ।
अब वडाध्यक्षहरुको कुरा गरौं । ११ नं. वडाका वडाध्यक्ष सोयव अख्तरलाई सोध्दा उनले भने , अहिलेसम्म रातो किताब नछापिनु र वितरण नगरिनु भनेको राम्रो अभ्यास होइन । यसले सुशासनको अभ्यासलाई मद्दत गर्दैन । त्यसैगरी वडा नं. ३ का वडाध्यक्ष धन प्रसाद लामासँग सोध्दा उनले रातो किताब नछापिएको स्वीकार गरे तर सुशासनको दृष्टिकोणबाट यो राम्रो वा नराम्रो के भयो त ? भन्ने प्रश्नमा उनले भने जिम्मेवार व्यक्तिहरुलाई सोध्नुस् , म यसमा केही भन्दिन । प्रश्न मैले वडा नं. ५ का वडाध्यक्ष बालकृष्ण गौतमसँग पनि सोधे । उनले भने पुरनो हाकिमलाई रातो किताब देउ भनेर मैले ¥याख¥याख्ती पारेको थिए । उनको सरुवा भएपछि कुरा सेलायो । गौतमको कथन थियो आर्थिक वर्षको अन्तिम दिनसम्म पनि रातो किताब प्रकाशित भए त पुग्छ नी !
अर्को उदाहरण हेरौं मैले स्वयं दर्जनौ सूचना माग गरेर निवेदन दिएको छु । तर आज पर्यन्त एउटा सूचना प्राप्त भएको छैन । सूचना माग गर्ने राष्ट्रिय पुरस्कार विजेता प्रशुराम साहको बारेमा त स्वयं मेयर श्रेष्ठले नै मिथ्या आरोप लगाउँदै वार्गेनिङ्ग गरेको सार्वजनिक भाषण गरेकै हुन् ।
घटनाक्रम, व्यवहार र चरित्रलाई मध्यनजर राखेर हेर्दा बुझ्नै पर्ने कुरा के हो भने जनतालाई अन्धकारमा राखेर गोलबजार नगरपालिका भित्र योजना र बजेट चलाउने , गोलमाल , अनियमितता गर्ने प्रशस्त अभ्यास भइरहेको छ । नत्र सूचना प्रवाहमा यति धेरै कठोरता प्रदर्शन गर्ने कुनै कारण थिएन र छैन । अन्धकारका पर्याय मेयर श्रेष्ठ तथा अनका अनुयायीहरु जतिसुकै जुइना झैं बटारिए पनि नेपालको संविधानले दिएको अधिकार प्रयोग गरेर लोकतन्त्रलाई जीवित राख्ने अठोटका साथ प्रशुराम साह सिरहामा सतिसाल झैं उभिएका छन् । सम्माननीय राष्ट्रपतिको हातबाट राष्ट्रिय पुरस्कार प्राप्त गरेको तथा मेयर श्रेष्ठको फत्तुर चिरेर लोकतन्त्र र सुशासनको गरिमा बढाउन सफल भएकोमा सुशासनका उन्नायक अभियन्ता प्रशुराम साहलाई बधाई ।