अर्नमा गाउँपालिका वडा नं. २ रह्मपुरी गाउँका बुधराम महतोको हत्या भएको छ । अन्दाजी ५० वर्षिय महतो आज बिहानै खेतमा काम गर्न जाँदा उनकै सँधियारले गर्धनमा कोदालो प्रहार गरी महतोको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । मृतक बुधराम एकाबिहानै खनजोत गर्न खेतमा पुगेका थिए । एक्लो भएको मौका पारेर हत्याराले उनीमाथि कोदालो प्रहार गरेको नाम उल्लेख नगर्ने शर्तमा एक प्रत्यक्षदर्शीले बताए । प्रत्यदर्शीका अनुसार सामान्य वादविवाद भएको थियो एक्कासी कोदालो गर्धनमाथि प्रहार भएपछि बुधराम महतो ठहरै ढलेका थिए । सँधियारसँग जग्गाको सन्धिसर्पनमा पुरानै विवाद भएको स्थानीयहरुले जानकारी दिएका छन् । महतो विष्णुपुर बजारमा किटनाशक तथा एलपी ग्यासको पसल गर्ने व्यापारी पनि हुन् ।
जिल्ला प्रहरी कार्यालयका नायव प्रहरी उपरीक्षक मुक्तिनाथ सापकोटाले जानकारी दिए अनुसार अहिले घटनास्थल प्रकृति मुचुल्का लगायत शुक्ष्म अनुसन्धानको कार्य भइरहेको छ । स्थानीय साक्षीहरुको भनाइको आधारमा हत्यारा पहिचान भएको र उनको खोजी भइरहेको पनि उनले बताए ।