गोलबजार नगरपालिका ९ आवासनगरकी निर्मलादेवी पासवानको घरै अगाडि खानेपानीको बोरिङ्ग जडान भएको छ । खानेपानीको ट्याङ्की निर्माण भएको छ । तर उनी गाउँकै ध्यानी महतोसँग मासिक दुई सय रुपैयाँ तिरेर खानेपानीको गर्जो टार्दैछिन् ।
रञ्जिता कुमारी महतोको आँगनमै पानीधारा निर्माण भएको वर्षदिन वितिसक्यो । तर, पासनवानले जस्तै उनले पनि खानेपानीको समस्या झेलिरहेकी छिन् । उनी पनि ध्यानी महतोकै मोटरबाट मासिक दुई सय रुपैयाँ तिरेर २४ घण्टामा एक पटक पानी थाप्ने गर्छिन् ।
मोहन यादवले नगरपालिकाको बोरिङ्ग र धारा नचलेपछि आफ्नै बारीमा बोरिङ्ग जडान गरे । तर बोरिङ्ग विग्रेका कारण मुस्किलले पानीको गर्जो टारिरहेका छन् । निर्मलादेवी, रञ्जिता र मोहन त प्रतिनिधि पात्र मात्र हुन् । उनीहरु जस्तै खानेपानीको अभाव झेल्ने आवासनगरमा ४० घर दलितसहित ८० भन्दा बढी घरपरिवार पिउने पानीको समस्याबाट ग्रसित छन् । यहाँका बासिन्दाहरु बोरिङ्ग हुने छिमेकीसँग मासिक रकम तिरेर खानेपानी लिने गरिरहेका छन् । पैसा तिरेपनि उनीहरुले दिनको एक पटकमात्र पानी थाप्न पाउँछन् ।
यता गोलबजार नगरपालिकाले खानेपानी आपूर्ति गर्ने भन्दै आर्थिक वर्ष २०७९÷०८० मा करिव ३० लाख रकम खर्चेर आवासनगरमा बोरिङ्ग जडान गराएको छ । खानेपानीको ट्यांकी राख्न टावर निर्माण गराएको छ । ८० वटा धारा घर घरमा निर्माण गराएको छ । तर योजना अधुरै छोडेकोले ३० लाख बजेट बालुवामा पानी खन्याए जस्तै प्रयोगविहिन रहेको छ । निर्मला र रञ्जिताको घर अगाडिको बोरिङ्ग खानेपानीको लागि काम लागेको छैन । त्यो बोरिङ्ग बाख्रा पगहा लगाउन प्रयोग भइरहेको छ । घरैपिच्छे निर्माण गरिएको ८० वटाभन्दा बढी धाराहरुबाट आजसम्म एक थोपो पानी झरेको छैन । भएका धाराहरुमा स्थानीयले बिस्कुन सुकाएका छन् । पानी ट्यांकीको टावर अधुरै छ । बोरिङ्गमा जडान गरिएको समरसेवल मोटर पनि नगरपालिकाले झिकेर लगेको छ ।
अहिले उखरमाउलो गर्मी मौसम छ । यहाँका बासिन्दा एकाविहानै थापेको पानीले २४ घण्टा धान्न बाध्य छन् । दलित महिला वडा सदस्यसमेत रहेकी निर्मलादेवी पासवानले भनिन् ‘तिर्खा लागेको बेला चिसो पानी पिउन समेत पाइँदैन, अहिलेको गर्मीमा विहान थापेको पानी दिनभरी पिउन बाध्य छौं ।’
नगरपालिकाको लाखौं लगानी रहेको खानेपानी योजना अधुरै रहेकाले गाउँलेले पानीको समस्या झेल्नु परेको निर्मला बताउँछिन् । उनी भन्छिन् यस्तो अधकल्चो विकास गरेर के काम ? हामी पानी बिना मरिरहेका छौं । तर नगरपालिकालाई वास्तै छैन । घर अगाडि सिमेन्टको खाँवो उभ्याएर हामीलाई चिढ्याउने काम भएको छ ।
नगरपालिकाले गत वर्ष अधुरै छोडेको योजना पूरा गराउन आफूहरु पटक–पटक नगरपालिका र मेयर श्याम श्रेष्ठको घरै पुगेपनि बाँकी काम अझै हुन नसकेको मोहन यादवले बताए । उनले भने, ‘हामी जँदा हुन्छ हुन्छ भन्नुहुन्छ तर, बाँकी काम अझै सुरु हुन सकेको छैन । गाउँलेलाई पिउने पानीको हाहाकार नै छ ।
नगरपालिकाले आर्थिक वर्ष २०७९÷८० मा बोरिङ्ग, मोटर जडान, पानी ट्याङ्की र धारा निर्माणको लागि ४० लाख रकम पठाएको थियो । आर्थिक वर्षको अन्तिम समयमा रकम पठाएकोले काम पूरा हुन नसकेको वडा अध्यक्ष सुरेन्द्र कुमार सिंहले बताए । उनले भने समयमा योजना दिए काम गर्न सजिलो हुन्छ । भोजको बेला कुभिण्डो रोपेर तरकारीको व्यवस्थ ागर्ने शैलीले त हुँदैन ।
वडाध्यक्ष सिंहले भने, ‘गत वर्ष एलआईपिडब्ल्यूको २० लाखबाट धारा निर्माण र नगरस्तरीय बजेटबाट बोरिङ्ग र ट्याङ्की निर्माणको लागि २० लाख पठाएपनि समय अभावका कारण काम सम्पन्न हुन सकेन । यस वर्ष धेरै झगडा गरेर रकम छुट्याएको भएपनि अझै पत्र भने आएको छैन ।
धारा जडान गर्ने उपभोक्ता समितिका अध्यक्ष विष्णुदेव मण्डलले ८० वटा धारा निर्माण गरेर १७ लाख ८५ हजार निकासा पाएको बताए । त्यसैगरी, बोरिङ्ग जडान र ट्याङ्की निर्माण उपभोक्ता समितिले काम भएजतिको १० लाख ५० हजार हाराहारीमा निकासा पाएको अध्यक्ष ब्रम्हदेव मण्डलले बताए । म०डल भन्छन् धारा बिस्कुन सुकाउन र बोरिङ्ग बाख्रा पगहा लाउन प्रयोग भइरहेको छ ।