मेलम्ची खानेपानीलाई स्थायी बनाउने सरकारको प्रतिबद्धता   

[sharethis-inline-buttons]

काठमाडौँ, ५ जेठ (रासस) :
सरकारले मेलम्ची खानेपानी आयोजनालाई १२ महिना नै राजधानीमा आउने गरी आवश्यक काम गर्ने भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्को संयुक्त बैठकमा पेश गर्नुभएको सरकारको आगामी वर्षको नीति तथा कार्यक्रममा राजधानीको खानेपानी समस्याको दिगो समाधानका मेलम्ची आयोजनालाई स्थायी बनाउने उल्लेख गरिएको छ । दोस्रो चरणको याङ्री र लार्के खोलाको पानी राजधानी ल्याउन पनि आगामी वर्ष काम सुरु गरिने प्रतिबद्धता सरकारको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

हाल हिउँदमा मात्र मेलम्ची नदीबाट दैनिक १७ करोड लिटर पानी राजधानी ल्याइएको छ । वर्षायाममा पानी बन्द हुने गरेको छ ।

ठूला आयोजनाको प्राविधिक परीक्षण गरिने

राष्ट्रिय सतर्कता केन्द्रबाट ठूला आयोजनाको प्राविधि परीक्षण गराउने व्यवस्था सरकारले नीति तथा कार्यक्रममा गरेको छ । विकास आयोजना समयमा सम्पन्न गरिने राष्टपति पौडेलले बताउनुभयो । आयोजना वर्गीकरण निर्देशिकाअनुसार तीन तहमा बजेट व्यवस्था गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

वातावरण प्रभाव मूल्याङ्कन र सार्वजनिक खरिदमा सहजता अपनाइने प्रतिबद्धता सरकारले नीति तथा कार्यक्रममार्फत् गरेको छ । विकासका माध्यमबाट आय आर्जन हुने व्यवस्था सरकारले गर्ने भएको छ । सार्वजनिक यातायातमा नवीकरणीय ऊर्जाको विकास गरी वातावरणको स्वच्छतामा सहयोग पुग्ने गरी नीति निर्धारण गरिने भएको छ ।

आगामी वर्ष हुम्ला जिल्लालाई सडक सञ्जालबाट जोडिने भएको छ । राष्ट्रिय राजमार्ग र रणनीतिक सडक पाँच वर्षभित्र सम्पन्न गरिने भएको छ । तीन घण्टाको दूरीमा एक झोलुङ्गे पुल निर्माण गरिने भएको छ ।

आधुनिक सडक सञ्जाल निर्माणलाई प्राथमिकता दिइने भएको छ । रेल मार्ग निर्माणलाई पनि अघि बढाइने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । सघन शहरी विकास कार्यक्रमलाई सरकारले निरन्तरता दिएको छ ।


प्रकाशित : २०८० जेष्ठ ५ शुक्रबार