मेयर साहेव ः म तपाइँको भ्रष्टाचार प्रमाणित गर्दैछु ः नैतिकताले जे भन्छन त्यही गर्नुहोस्

[sharethis-inline-buttons]

गोलबजार नगरपालिका बारे समाचारहरु निरन्तर लेख्न थालेपछि मेयर साहेब श्याम कुमार श्रेष्ठ र म बीच धेरै पटक एकल र सामुहिक भेटघाट तथा कुराकानी भएको छ । पछिल्लो भेंटमा उहाँले दुईवटा कुरा जोडदार रुपमा ( मलाई चुनौति दिंदै ) व्यक्त गर्नुभयो । पहिलो कुरा ः लौ प्रमाण्ति गर्नुस् श्याम श्रेष्ठले एक रुपैयाँ खाएको , म अहिले राजीनामा दिन्छु । दोश्रो कुरा तपाईँले विजयको बारेमा केही लेख्न सक्नु हुन्न । ल लेखेर देखाउनुस् ।

मेयर साहेब , लेख्नका लागि तथ्य प्रमाण भेटिनु पर्छ । प्रमाण नभेटिएसम्म लेख्न मिल्दैन । आज विजयको बारेमा पनि थोरै प्रमाण फेला परेको छ । जति तथ्य फेला परेको छ त्यती यहाँ उल्लेख गर्दैछु ।

मेयर साहेव , भ्रष्टाचार गर्दा साक्षी राखेर , तस्बिर वा भिडियो खिचाएर , कागज पत्रमा सवुत प्रमाण सजिलै भेटिने गरी कसैले गर्दैन । आजसम्म कुनै भ्रष्टाचारीले भनेका छैनन् “लौ मैले भ्रष्टाचार गरें ।” भ्रष्टाचारमा दामल हुन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मिहिन तरिकाले छिद्रान्वेषण गरी अभियोग लगाउृनु पर्छ । त्यसपछि अदालतमा परीक्षण गरेर अपराध प्रमाणित भएपछि मात्र भ्रष्टाचारी ठहर हुन्छ । यो एउटा सजाय दिने कानूनी मार्ग हो । तर सञ्चार जगतले देखिएका , सुनिएका श्रव्यदृश्य वा जनबोली वा कागजातहरु अर्थात उपलब्ध तथ्यहरुलाई विश्लेषण गरेर समाचार लेख्ने हो । सञ्चार जगत अदालत होइन र यसले फैसला दिंदैन । यसले प्रश्न गर्छ । तथ्य र बिचार समाज र राज्य सामु पस्किन्छ । समाचार वा बिचार पढेर समाजले आफ्नो धारणा बनाउँछ ।

मेयर साहेव, गोलबजार नगरपालिकाले चालु आर्थिक वर्ष २०८०÷०८१ माा वडा नं. ३ मा तीन वटा कृषि सडक निर्माण गरेको छ । यी सडकहरु नगरस्तरीय योजना अन्तर्गत निर्माण भएका हुन् । त्यसकारण यी तीनवटा सडक परियोजना सिधै तपाईँसँग सम्बन्धित छ । यो बजेट र योजना कार्यान्वयन सिधै तपाईँको नियन्त्रण र मार्गनिर्देशनमा हुने र रहने योजना हो ।

पहिले सडक कोपिला सहकारीबाट पूर्व लालपुरको सीमासँग जोडिने गरी निर्माण भएको छ तर अधुरै छ । यो सडक निर्माण गर्न गोपाल योञ्जनको अध्यक्षतामा उपभोक्ता समिति गठन भएको छ । तर गोपाल योञ्जन भन्छन् , मलाई त केही थाहा छैन । अध्यक्ष त मलाई बनाइ दिए तर काम कसले गरेको हो मलाई केही थाहा छैन । कुन दर रेटमा , कहाँबाट , कसले , कति ट्रिपर माटो ग्राभेल हाल्यो मलाई थाहा छैन । सम्झौतामा पनि सही गरेको छैन , कार्यादेश पनि पाएको छैन । खाता पनि खोलेको छैन ।

विजय साहलाई सोधनी गर्दा उनी भन्छन् हो तीनवटै सडक निर्माणमा मेरो ट्रिपर , स्काभेटर र अन्य मेसिनरी प्रयोग भएको हो । जव उपभोक्ता समितिको अध्यक्षलाई नै थाहा छैन भने विजय साहले कोसँग कुरा गरेर , कोसँग दर रेट कायम गरेर वा शर्तनामा गरेर ती मेसिनहरु पठाए र त्यसको भुक्तानी कसरी वा कसले दिन्छ ? तथ्यले के भन्छ बिचार गर्नुस् मेयर साहेव ।

वडाध्यक्ष धन प्रसाद लामा भन्छन् उक्त सडक निर्माण गर्न उपभोक्ता समिति पनि गठन गरिएको छ तर जमिनबालाहरुले जमिन दिन नमाने पछि काम रोकिएको छ । मैले वडाबाट नगरपालिकालाई पत्राचार गरेको छु – कोटेशनबाटै उक्त सडक निर्माण होस् र भुक्तानी दिइयोस् । यो त झन् भ्रष्ट कदम सिद्ध हुँदैछ । एउटै सडक बनाउन उपभोक्ता समिति पनि गठन गर्ने अनि कोटेशनबाट पनि भुक्तानी दिने सिफारिस गर्ने । जुन सजिलो हुन्छ त्यही प्रकृयाबाट रकम झिकेर अपचलन गर्ने कुरा थप पुष्टि गर्नुपर्छ र मेयर साहेव ?

अब अर्को सडकको कुरा गरौं । साहुजी टोलदेखि पूर्व स्वास्थ्य चौकीसम्म जाने बाटोको उपभोक्ता समितिका अध्यक्ष हुन् कालुमान क्षेत्री । उनी भन्छन् यो सडकमा मलाई अध्यक्ष त राखिदिए । तर यसको सबै काम विजयले गरेका हुन् । १५ लाख बजेट छ भनेर सुनाइएको थियो तर खाता खोलेकै छैन अहिले । हामीसँग पुँजी छैन , त्यसकारण सबै विजयलाई नै सुम्पेको हो ।

यही सडकका अनुगमन समितिका अध्यक्ष चन्द्र कुमार साह भन्छन् , म अनुगमन समितिको अध्यक्ष हुँ । हामीलाई केही थाहा भएन , कति बजेट हो त्यो पनि थाहा छैन । कसले , कुन दर रेटमा कहाँबाट ग्राभेल हाल्यो त्यो पनि थाहा छैन । उपभोक्ता समिति पनि पछि थप्ने गरी नाम खाली राखेर गठन गरिएको छ । हामीलाई रोड भए पुग्यो , बाँकी कुरा नसोध भनियो । अनुगमन समितिका अध्यक्षलाई नै जव बजेट कति हो थाहा छैन अनि उसले कसरी अनुगमन गर्छ मेयर साहेव ?

अब अर्को सडक थापा टोलको कुरा गरौं । यहाँ कैलाश थापा उपभोक्ता समितिको अध्यक्ष छन् । उनी भन्छन् सारा काम विजयले गरेका हुन् । विजयको गाडीघोडा ल्याएर काम गरियो । नापी पनि भइसक्यो । मसँग विजयले तीन थान चेकमा पनि हस्ताक्षर गराएर लगि लगिसके । कति रकम भरेको थियो त्यो पनि उनलाई थाहा भएन । मेयर साहेव किस्ताबन्दीमा भुक्तानी हुन्छ भनेर गुमराह गरेर तीन थान चेकमा हस्ताक्षर गराइयो रे । भन्दैछन् कैलाश थापा ।

मेयर साहेव , २०७५÷१२÷१७ देखि २०७८ ÷५÷११ सम्म गोलबजार नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसीको पहिलो कार्यकाल थियो । त्यो अविधिमा अर्थात २ वर्ष ५ महिनामा विजयले गोलबजार नगरपालिकाको लगभग ३४ वटा ठूला काम ( निर्माण योजना ) हात पारेका थिए । निर्वाचन ताका तपाईले आफै उदघोष गर्नुभएको थियो मैले जिते भने नगरपालिकालाई कुनै एक ठेकेदारको पेवा हुन दिन्न । तपाईँको चुनावकालीन भाषण सुन्ने एमालेका कार्यकर्ताहरु साक्षी छन् । अहिले प्रमुख प्रशासकीय अधिकृत केसी गोलबजार नगरपालिकामा पुनः आसिन भएको ५ महिना पुगेकै छैन । लगभग ४० वटा परियोजना उनै विजयको हातमा परिसकेको छ । जता फर्कियो विजय , जुन वडामा गयो विजय , जुन परियोजनामा हे¥यो विजय । टेण्डरमा विजय , कोटेशनमा विजय , उपभोक्ता समितिले पनि काम ठेक्का लगाउने विजयलाई । यो के हो मेयर साहेव ?

भएको कुरा के हो भने प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसी र विजय बीच नङ्ग मासुको घनिष्टता रहेको छ । कही यस्तो त सल्लाह भएको होइन ? शाहजादालाई काम गर्न दिंदा बदनामी भयो । शाहजादालाई बाहिरै राखौं । विजयले सबै काम गरेर एकमुष्ट बुझाउँछ । तनाव लिनै पर्दैन । त्यसमा तपाई पनि सहमत हुनुभयो । नत्र एक ठेकेदार जता पनि हावी कसरी सँभव छ ? तथ्यले यही प्रदर्शन गर्छ अन्यथा केही भिन्न कुरा छ भने प्रष्ट्याउनुस् ।

मेयर साहेव ः आगो नबाली धुँवा निस्कदैन र आगोलाई कपडामा लुकाउन पनि सकिन्न । विजयमार्फत नगस्तरीय योजना सम्पन्न भइरहेको कुरा र त्यसमा उपभोक्ता समितिलाई अन्योलमा राखेर काम गरिएको कुरा तपाईँलाई थाहा नहुने कुरै होइन । यदी थाहा छैन भन्नुहुन्छ भने तपाईँले आफैलाई असक्षम मेयर सावित गर्नु हुनेछ । सबै तपाईको इशारा र आदेशमै भइरहेको छ । यी परियोजनाहरुमा मनग्य भ्रष्टाचार भएको छ र त्यसको भागशान्ति तपाईँ कहाँ पुगिरहेको छ । रकम कहाँ , कुन व्यक्तिबाट वा कुन माध्यमबाट कति बुझिलिनु हुन्छ त्यसको लागि “ स्टिङ्ग अपरेसन ” गर्न सकिंदैन । त्यो अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मात्र सक्छ । तर तथ्यहरुको आधारमा कमिशनको अधिकतम रकम तपाइँ समक्ष पुग्छ भन्ने कुरामा दुईमत छैन ।

मेयर साहेव, यदी तपाईँले मलाई थाहा थिएन भन्नुहुन्छ भने म अर्को तथ्य पस्किन्छु । यी तीनवटा सडकको फाइल लिएर अनुगमन समितिकी संयोजक नगर उप प्रमुख मान्ती साह समक्ष सही गराउन सहेन्द्र यादवलाई पठाउनु भयो । उनले सम्पूर्ण कागजात र सडक नहेरी हस्ताक्षर गर्दिन भनेर फर्काइ दिइन । त्यसपछि तपाईले फोनमार्फत सही गरिदिन उपप्रमुख साहलाई अनुरोध गर्नुभयो । तर उनले मानिन् । त्यसपछि तपाईँ आफै फाइल लिएर मान्ती साह समक्ष पुग्नुभयो तर पनि उनले सही गर्न मानिनन् । धेरै दिनसम्म ती फाइलहरु मुलतवीमा रहे । अहिले के भयो यकिन थाहा छैन । सुत्रहरु भन्छन् मान्ती साहको हस्ताक्षर बिना नै भुक्तानी लिइएको छ । यी तीन सडकका फाइल तपाईँ स्वयं बोकेर उप प्रमुख समक्ष जानुले तपाईको संलग्नता पुष्टि हुन्छ ।

उपभोक्ता समितिलाई अन्योलमा राख्ने , एकै ठेकेदारमार्फत काम गराउने , बजेट कति हो कसैलाई थाहा नदिने , उपभोक्ता समिति पनि गठन गर्ने र कोटेशनको प्रकृया पनि अघि बढाउने , मेयर साहेव आफै फाइल बोकेर कुद्ने , उप प्रमुखले अविश्वास गर्ने , कतै खाली चेकमा हस्ताक्षर गराउने , कतै उपभोक्ता समितिको हातमा सम्झौता पत्र र कार्यादेश नपर्ने , होर्डिङ्ग बोर्ड कतै नराख्ने । यी सबै तथ्यका आधारमा तपाईँ स्वयंको संलग्नतामा संस्थागत र नीतिगत रुपमा भ्रष्टाचार भइरहेको तथ्य छर्लङ्ग हुन्छ । उपभोक्ता समितिहरुको भिडियो यसैमा संलग्न छ । सुन्नुहोला ।

मेयर साहेब , म तपाईँको राजीनामा माग्दिन । तर तथ्य प्रमाणले पुष्टि गर्दा नैतिकता देखाएर तपाईँ स्वयंले राजीनामा दिनुहुन्छ भने म नदिनुस् पनि भन्दिन । गोलबजार नगरमा यतिबेला मुर्दाशान्ति छाएको छ । ब्रह्मलुट देखेर पनि सबै मौन छन् । तर जनता जाग्न समय लाग्छ रे । जागे पछि सेलाउन मुस्किल पर्छ । वडा नं. ३ का वडाध्यक्ष धन प्रसाद लामाको भिडियो पनि संलग्न छ । अहिलेलाई उहाँको भनाइ सुनेर जनताले आफै धारणा बनाउन् ।

 

 


प्रकाशित : २०८१ बैशाख १० सोमबार