गोलबजारमा नागरिक समाजको गठन , सुशासनका लागि शान्तिपूर्ण अभियान सञ्चालन गरिने

[sharethis-inline-buttons]

गोलबजारमा सचेत नागरिकहरुको एक भेलाबाट गोलबजार नागरिक समाज नामक एक समुदायमा आधारित संगठनको घोषणा गरिएको छ । बैशाख १२ गते अपरान्ह जोगी होटलको अघिल्तिर खुला सडकमा भेला भएका ४० जना अगुवा नागरिकहरुले नागरिक समाजको घोषणा गरेका हुन् ।
गोलबजार नगरपालिकाका अगुवा व्यक्तित्व चन्द्रदेव यादव , रामचन्द्र सिंहर रामनारायण सिंहको अभिभावकत्व रहने र अन्य सबै सदस्य रहने गरी सामुदायिक जन संगठनको रुपमा नागरिक समाज सकृय रहने जानकारी दिइएको छ । यो नागरिक संगठन दर्ता नगरिने , यसले कुनै कसैको ( दातृ निकायको ) च्यारेटी पनि स्वीकार नगर्ने तर सुशासनका लागि शान्तिपूर्ण तथा रचनात्मक अभियानहरु सञ्चालन गर्ने बताइएको छ । अभियन्ताहरु स्वयंसेवकका रुपमा काम गर्ने भनिएको छ ।

राज्यका विभिन्न निकाय तथा समाजमा नीतिगत परिवर्तन तथा संरचनागत रुपान्तरणका लागि दबाब , सुझाव र प्रभाव पार्ने गरी जनवकालत गर्ने नागरिक समाजको ध्येय रहेको सहभागी प्रदीप साहले बताउनु भयो । यस नागरिक अभियानमा राज्यका अंगहरुमा कार्यरत बाहेकका तथा शान्तिपूर्ण अभियानमा विश्वास राख्ने वयस्क नेपाली नागरिक जोसुकै सहभागी हुन सक्ने रामपुकार कामतीले जानकारी दिए ।

चन्द्रदेव यादवले भन्नुभयो सुशासन र स्वस्थ लोकतन्त्रका लागि बलियो प्रतिपक्ष चाहिन्छ । तर गोलबजार नगरपालिकामा प्रतिपक्ष नदेखिएकोले नागरिक अभियानले रचनात्मक प्रतिपक्षको भूमिका खेल्नु पर्ने छ ।

नागरिक समाज गठनका लागि एकत्रित जन समूहले गोलबजार चोकमा मैनवत्ती बालेर नागरिक अभियानको उद्घोष गरेका थिए ।

 


प्रकाशित : २०८१ बैशाख १३ बिहीबार