सामान्यतया फागुन महिनामै स्थानीय तहले पाठ्य पुस्तक खरिद गर्ने रकम विद्यालयहरुलाई निकासा पठाइ सक्छ । विद्यालयले आगामी शैक्षिक सत्रका लागि समयमै पाठ्य पुस्तकको जोहो गर्ने र बैशाखमा सुरु हुने नयाँ शैक्षिक सत्रको पहिलो दिनमै पाठ्य पुस्तक वितरण गर्ने अभ्यास छ । तर धनगढीमाई नगरपालिकामा फागुनमा निकासा हुनु पर्ने पाठ्य पुस्तकको रकम बैशाखको ८ गतेसम्म पनि निकासा भएको छैन ।
बैशाख ८ गते धनगढीमाई नगरपालिकामा आयोजित विद्यार्थी भर्ना अभियान र समग्र शैक्षिक अवस्थाको समीक्षा विषयक एक दिने गोष्ठीमा बोल्दै भवानीपुर माध्यमिक विद्यालयका प्रधानाध्यापक रामविलास यादवले भन्नुभयो , आज बैशाख ८ गते सम्म पाठ्य पुस्तकको रकम निकासा भएको छैन । जवकी यो रकम फागुन महिनामै विद्यालयहरुले पाउनु पर्ने हो । प्रधानाध्यापक यादवले भने , शैक्षिक सत्र सुरु भएको पनि एक साता बित्यो तर अहिलेसम्म निकासा आएको छैन । प्रधानाध्यापक यादवले प्रश्न गरे , “ हामीले कसरी गुणस्तरीय शिक्षाको ग्यारेण्टी गर्न सक्छौं ?”
पाठ्य पुस्तकको रकम निकासा नआएकोले धनगढीमाई नगरपालिका भित्रका सामुदायिक विद्यालयहरुमा बैशमखको ८ गतेसम्म विद्यार्थीहरु खाली हात विद्यालय आउने र हाजिर बनाएर जाने गरिरहेका छन् । विद्यार्थीहरुको हातमा पाठ्य पुस्तक नै छैन कसरी पढाउने ? एक शिक्षकले नाम उल्लेख नगर्ने शर्तमा दावानललाई बताए ।
यस विषयमा धनगढीमाई नगरपालिकाका प्रमुख शिव संकर महतोसँग जिज्ञाशा राख्दा उनले भने नगरपालिकामा केही विवाद भएर प्रमुख प्रशासकीय अधिकृतको उपस्थिति पातलो भयो । अब सबै कुरा मिलेको छ । छिट्टै निकासा जान्छ । त्यसैगरी प्रमुख प्रशासकीय अधिकृत राजकुमार दाससँग सोध्दा उनले भने म बिदामा रहेको कारण ढिलो भयो , तर चेक बनिसकेको छ । आजै निकासा जान्छ ।
शिक्षकहरुको पदस्थापनमा पनि विलम्ब
शिक्षा सेवा आयोग पास गरेर स्थायी नियुक्ति लिएर आएका शिक्षकहरु पनि पदस्थापनमा नगरपालिकाले ध्यान नदिएको कारण भौतारिनु परेको छ । नाम उल्लेख नगर्ने शर्तमा एक नव नियुक्त शिक्षकले दावानललाई बताए , हामी एक सातादेखि धनगढीमाई नगरपालिकामा धाइरहेका छौं । कुन विद्यालयमा पठाउने हो – पठाइदिनुस् भनिरहेका छांै । तर कुनै वास्ता गरिएको छैन । हामी नियुक्ति पत्र लिएर सडकमा अलपत्र छौं , विद्यालयमा विद्यार्थीहरुलाई पढाउने शिक्षक छैन । शैक्षिक सत्रको दिन दिनदिनै व्यतीत हुँदैछ ।
यस सम्बन्धमा प्रमुख प्रशासकीय अधिकृत दाससँग प्रश्न गर्दा उनले भने यसबारे म शिक्षा शाखामा बुझेर भन्छु ।
धनगढीमाई नगरपालिकाले समयमा रकम निकासा नदिंदा कक्षा १० का विद्यार्थीहरुले छात्रवृति लिन सकेनन् । उनीहरु एसइइ परीक्षा दिएर विद्यालयबाट बिदा भइसके । तर अधिकारले पाएको छात्रवृति सुविधा लिन पाएनन् । नगरपालिकाले समयमा रकम निकासा नदिंदा रकम फ्रिज भएर जान्छ तर सेवाग्राहीले सेवा पाउँदैनन् ।