सामाजिक सदभावका नरम तन्तु जोड्ने चैतन्य आभा : दावानल

[sharethis-inline-buttons]

सम्पादकीय,

दावानल वन डढाउन होइन,काँडा हटाउन हो । हाम्रा शब्दलाई पराईले प्राण भरेको अभिनय गरी प्रदूषित पार्दा जनमन भ्रमित छ । मनमा रुढ बनेर गडेका कतिपय शब्दको डहन शान्त पार्न आज चेतनाको दावानल दन्काउनु परेको हो । तराई भन्दा तर्केर तर्सने,मधेस भन्दा अर्कै मनशाय देख्ने,पहाड भन्दा परको मान्ने हिमालभन्दा अन्यथा बुझ्ने गरी नेपाली मन बिच्किएको छ । स्वभूमि र स्वशब्दमा नै शंका हुने गरी बरालिएर मनमा उत्पन्न पीडा निको पार्न चैतन्य ज्वालाको दरकार छ । यसको हुर्को उठेपछि अरुले घुसाएका, आफै टुसाएका,आलस्यले उब्जाएका सारा झार झ्याउ काँडा काउछाहरु डढेर भष्म हुनेछन् । र तराई हाम्रो सुनको थाली, हिमाल हीराको भन्ने यथार्थभाव स्थापित हुनेछ । आज उठेका सारा शंका स्वाहा भई विश्वासको बत्ती बल्नेछ । शब्दले नै राष्ट्रलाई सग्लो राख्छ । सगोल तुल्याउँछ ।

नेमी मिथिको मनमस्तिष्क मन्थन गरी मथिंगलबाट मान्यता प्राप्त मतिमा चल्ने मिथिलाको भाषा संस्कृति कला र सम्पदालाई सर्वकालिक बनाउन पनि दावानल दिगो भई दन्कनेछ । तराईको तरल त्वरित भूमिको उर्वरालाई अन्न बनाई राष्ट्रिय जीवन र अर्थतन्त्रलाई उकेरा लाउन दावानलका शब्दहरु दाना भई उम्रिने छन् । जर्जरधरामा वहार ल्याउन जनकले जमिन जोत्दा जानकी प्राप्त गरेझैं दावानलले देशमा शान्ति शीतलता र सिर्जनाका सन्तान जन्माउने छ ।

देशको अन्तर्राष्ट्रिय सीमा समीपमा बसेर देख्ने द्रष्टाले साक्षात्कार गरेका जनशब्द दावानलका समिधा हुन् । देश जोगाउन र जनताको दुःख दूर गर्न सीमावर्ती जनताले गरेको त्याग राष्ट्रको योगदान बुझेर सत्ताले सदा सम्मान गर्ने वातावरण बन्यो भने बल्ल राष्ट्रियता मजबुत हुने हो । युद्धले होइन जुक्तिले देश जोगाउन जनता सदा जागृत छन् । यो जागरणको ज्वाला कसैले नाघ्न सक्तैन । यो नै मुलुकको अजेय जग हो । दावानलले यो अग्नि कहिल्यै कमजोर हुन दिने छैन । अविच्छिन्न शब्द आहुति अर्पण गर्नु नै दावानलको धर्म हो । धर्मलाई कर्ममा रुपान्तर गरी चर्यामा चल्नु यसको कर्तव्य हो ।

समाजमा विद्यमान यथार्थभन्दा परका आरोप,अन्याय अत्याचार, अभाव,विपत्ति निवारणका लागि राज्यको ध्यानाकर्षण गराई जनताले सहनु परेको ताप न्यूनीकरणका लागि दावानल हरपल साक्षी भई उभिनेछ । स्वार्थीले रचेको कुनै पनि खालको अँध्यारो कालो कर्तुत च्यात्न दावानल धुनी बाली अहोरात्र जाग्राम बस्नेछ । जनसेवा र जनचेतना यसको मुख्य मक्सद हुनेछ । जनताको घरमा परेको दुःखसुखले यसको दिल छुने हुँदा जनवस्ती बन्ने बाटा,पुल,कुला नहर खानेपानी बिजुली,विद्यालय स्वास्थ्यसंस्था सेवाप्रवाह दायित्व कर्तव्यका सवालमा दावानल निरन्तर सजग र सदा उपस्थित हुनेछ । देश र जनताकै पहरेदार भई यसले खबरदारीको खबर खोजेर हिड्नेछ । यो यात्रा देशभरि पुगेर विदेशसम्म पनि विस्तारित हुनेछ ।

जनताको मन जित्ने गरी काम गर्नु यसको मुख्य ध्यानध्येय हुनेहुँदा जनताले यसप्रति गरेको प्रेम,सद्भाव र सहयोग दावानलका लागि ऊर्जा हुनेछ । दावानल ठण्डीमा हुस्सु हटाउने अनल भई आउनेछ, गर्मीमा जनविश्वासको जलवर्षा भई छाउनेछ । जलनशील दावानल दृष्टिको ज्योति पनि हो र सृष्टिको सूत्रधार पनि हो । यसले अन्धकार अज्ञान,अवचेतन,बन्धनको जञ्जालको जंगल जलाएर समाजमा कालिञ्जर,श्लेष्मान्तक,नन्दन,अमरावती,पञ्चवटी तथा चित्तलता वन विकसित गर्नेछ । यो महाअभियान पत्रकारिताका शब्दबाट सम्भव हुनेमा हामी विश्वस्त छौं । आकाशले दिने शब्दशक्ति समाएर गरिने आहुति विश्ववासीका लागि उन्नतिको यज्ञ हुनेछ । यो आहुति शिरमा पर्जन्यरुपी आशीर्वाद भई अजस्रसम्म बर्सिरहनेछ । दियालो बनी दिग्दर्शन गरिरहनेछ ।। वैधानिकता पूरा गरेर दावानल अविच्छिन्न अस्तित्वको लयमा चाँडै आउने छ । थोरै प्रतीक्षा ।। ………


प्रकाशित : २०७८ आश्विन १३ बुधबार