
धनुषा – नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीको जनधार मधेश भएकोले मधेशलाई विश्वासमा लिनुको विकल्प नरहेको बताएका छन् । सोमबार धनुषामा सन्चारकर्मीसँगको कुराकानीमा उपसभापति निधिले मधेशलाई रिझाउन नसके अगामी निर्वाचनमा पार्टीलाई ठूलो नोक्सान हुने दावी गरे ।
‘कांग्रेसले मधेशकै भोटको सहयोगमा निर्वाचनमा राम्रो परिणाम ल्याउन सकेको छ,’ उनले भने, ‘मधेशको सहयोगबिना कांग्रेस कहिलै पनि निर्वाचनमा राम्रो गर्न सकेन । कांग्रेसलाई मधेशको सहयोग आवश्यक छ । पार्टीका शीर्ष नेताहरूले पनि यो कुरा बुझेका छन् । अब मधेशले के चाहन्छ ? मधेशलाई कसरी रिझाउन सकिन्छ भन्ने कुरा पार्टीका शीर्ष नेताहरूको हातमा छ ।’
पार्टीलाई मधेश र देशमा मजगुत बनाउन आफूले पार्टीको आसन्न महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने घोषणा गरेको दावी गर्दै नेता निधिले अधिकांश शीर्ष नेताहरूले सहयोग गर्ने आश्वासन दिएको बताए ।