गोलबजार नगरपालिकामा यसरी हुन्छ भ्रष्टाचार ः एक करोड तीस लाख पहिले तह लगाउने मेयर श्याम श्रेष्ठको योजना , तगारो हाल्ने वडाध्यक्ष मुखिया , दुईतर्फी दोहोरी चलेको छ

[sharethis-inline-buttons]

“मेयरको तजविजी अधिकार अनुसार खर्च हुने बजेटमा वडाध्यक्षहरुले हस्तक्षेप नगर्नु भन्ने गोलबजार नगरपालिकाले उर्दी जारी गरेको छ । तर त्यस्तो गैर कानूनी उर्दीलाई नटेर्ने भन्दै केही वडाध्यक्षहरुले विधिसम्मत उपभोक्ता समिति गठन गर्न थालेका छन् । गोलबजार नगरपालिका र वडा नं. १० बीच दोहोरी नै चलेको छ । नगरपालिकाले चेतावनीसहित पत्र काटेर वडा नं. १० लाई प्रतिवन्ध लगाएको छ भने वडाध्यक्ष उपेन्द्र मुखियाले गैर कानूनी प्रतिवन्ध नमान्ने जवाफ दिएको छ । अन्य वडाध्यक्षहरु चाँहि मुकदर्शक बनेका छन् भने दुई प्रतिपक्षी भनिएका वडाध्यक्षहरु मेयर श्रेष्ठको समर्थनमा उभिएको सुत्रहरुको दावी छ । ”

घटना विवरण अनुसार गोलबजार नगरपालिका वडा नं. १० का वडाध्यक्ष उपेन्द्र मुखियाले उपभोक्ता समिति गठन गर्न सार्वजजिक सूचना प्रकाशित गरेपछि बिदामा रहेका मेयर श्याम श्रेष्ठ झस्किए । उनले निमित्त प्रशासकीय प्रमुख सुवोध लामालाई फोन गरेर हप्काए । उपभोक्ता समिति गठन गर्नु भन्ने बेहोराको अनुमति पत्र किन दिएको भन्दै मेयर श्रेष्ठले लामाको सातो टिपेपछि वडा नं. १० लाई लामाले अर्को पत्र लेखे । अर्को पत्रमा तत्काल उपभोक्ता समिति गठन नगर्नु भन्ने उल्लेख गरेर पठाइयो । तर वडाध्यक्ष मुखियाले उपभोक्ता समिति गठन किन नगर्नु ? कारण खुलाएर र कानूनको दफा खुलाएर लेख्नु भनेर जवाफ पठाएका छन् । वडाध्यक्ष मुखियाको जवाफी पत्रले गोलबवजार नगरपालिकामा भ्रष्टाचारको हण्डी फुट्ने अवस्था आइपरेको छ । त्यहाँ हलचल मच्चिएको छ । मुखियाले भने , म कुनै पनि हालतमा डमी ( नक्कली ) उपभोक्ता समिति गठन गर्दिन । आम जनता बोलाएरै समिति गठन गर्छु ।

प्राप्त सूचना अनुसार मेयर श्रेष्ठ र प्रमुख प्रशासकीय अधिकृत नभएको बेला निमित्त रहेका लामाले वडा नं. १० का वडाध्यक्ष मुखियालाई रु १० लाख बजेटको सडक मर्मत र रु १० लाख बजेटको विद्यालय भवन मर्मत परियोजनाका लागि उपभोक्ता समिति गठन गर्नु भन्ने आदेशसहितको पत्र लेखेर दिएका थिए । निमित्त प्रमुख प्रशासकीय अधिकृत रहेका लामाले मेयर श्रेष्ठको तजविजी अधिकार अन्तर्गतको बजेट र परियोजना हो भन्ने होस पु¥याएनन् । पत्र लेखेर त वडाध्यक्ष मुखियालाई दिए तर पछि मेयरले हप्काए पछि उनी विलखबन्दमा परे । उनले तत्कालै गल्ती सच्याउन खोजे तर वडाध्यक्ष मुखियाले खोंचे थापेपछि लामालाई पर्नुसम्म अप्ठ्यारो परेको छ । मुखियाले विधिपूर्वक सूचना प्रकाशित भएकोले आम जनता बोलाएरै उपभोक्ता समिति गठन गर्ने अडान व्यक्त गरेका छन् ।

प्राप्त सूचना अनुसार एक करोड ३० लाखलाई १०–१० लाखको दरले प्रत्येक वडालाई भागशान्ति लगाइएको छ । यो रकम वास्तवमा विपद् व्यवस्थापन शीर्षकको होइन । तर पत्रकारहरुले वा राजनीतिक दलहरुले थाहा पाउनु अघि नै झटपट खर्च गरेर तह लगाउन मेयरले नयाँ जुक्ति झिके । असारको वर्षाले विभिन्न स्थानहरुमा सडक भत्किएको र त्यसको मर्मतका लागि प्रत्येक वडाहरुमा १०–१० लाख दिने निर्णय गरे । वडाध्यक्षहरुलाई भनियो , यो बजेट मेयरको तजविजी अधिकारको नगरस्तरीय बजेट हो । यसमा कसैले हकदावी नगर्नु , तगारो नहाल्नु । मेयर स्वयंले कार्यान्वयन गर्नुहुनेछ ।

आर्थिक वर्ष २०८१÷०८२ का लागि सडक मर्मत सम्भारमा एकमुष्ट एक करोड ३० लाख रकम विनियोजन गरिएको छ । यो रकम मेयरले तोके बमोजिमको परियोजनामा खर्च हुने भनिएको छ । अन्य बजेट कार्यान्वयन गर्न आगामी मंसिर पुषदेखि उपभोक्ता समिति गठन हुनेछ तर मेयरको तजविजी अधिकारमा रहेको सडक मर्मतको बजेट दशैं भित्रै खर्च गर्ने तारतम्य मिलाई सकिएको छ ।

मेयरको यो प्रस्तावलाई एमालेका दुई वडाध्यक्षहरुले विरोध गरे पनि दुई जना विपक्षी वडाध्यक्षहरुले समर्थन गरे । मेयरको वरद बाहुली बनेर दायाँ वायाँ बस्ने विपक्षी दुई वडाध्यक्षहरुको बलमा मेयरले दशैं अघि एक करोड ३० रकम तह लगाउने योजना कार्यान्वयन सुरु गरे । यो योजना शाहजादाको कमाण्डमा छ र सेटिङ्गका प्रियपात्र ठेकेदारमार्फत कार्यान्वयन सुरु भएको छ । वडा नं. ३ मा दमारमा सडक मर्मत कार्य लगभग पूरा हुने चरणमा छ । आम जनतालाई विपद् व्यवस्थापनको बजेट भनेर झुक्याइएको छ । प्राप्त सूचना अनुसार वडा नं. ५ मा पनि सडक मर्मत र हइुम पाइप हाल्ने काम सम्पन्न भएको छ । वडा नं. ५ का वडाध्यक्ष बालकृष्ण गौतम भन्छन् , हाम्रो मेयर साहेव सोझो मान्छे । हामीले भन्नासाथ बजेट प्रदान गर्नुभयो । मेरो वडामा पनि सडक मर्मतको काम भइसक्यो ? तर उपभोक्ता समिति कहिले बन्यो र कसरी बन्यो भन्ने कुरामा उहाँले केही बताउन चाहनु भएन ।
वडा नं. २ का वडाध्यक्ष सुकदेव सिंह भन्छन् , बजेट नगरस्तरीय हो तर विपद् भनेर खर्च गरिएको छ । के गर्ने असार  वर्षाले जताततै सडक भत्केको छ मर्मत गर्नै पर्छ ।

नेकपा माओवादीका नेता रामचन्द्र सिंह भन्छन् , “वडाध्यक्ष मुखियाको अडानले मेयर श्रेष्ठको योजनामा तुषारापात हुने भएको छ । ” शाहजादाको कमाण्डमा डमी ( नामका लागि ) उपभोक्ता समिति बनाएर सेटिङ्गका ठेकेदारमार्फत काम गर्ने गराउने र एक करोड ३० रकम दशैं अघि नै तह लगाउने मेयरको योजना पर्दाफाँस भएको छ । सिंहले भने भदौ महिनामै उपभोक्ता समिति बनाएर योजना सम्पन्न गरेर भुक्तानी लिने तरखरमा छन् मेयर । तर अब त्यति सजिलो छैन । नेकपा माओवादी केन्द्रले हरेक योजनाको शुक्ष्म अनुगमन गर्ने छ । डमी उपभोक्ता समिति र सेटिङ्गका ठेकेदारले गर्ने काममा धावा बोल्ने छ ।

नेपाली कांग्रेसका युवा नेता सुरेश साह भन्छन् , “नगरपालिका अन्यत्र कतै कुनै पालिकामा खाता पनि खुलिसकेको छैन । कतै सुत्रमा बजेट पोष्टिङ्ग हुँदैछ । तर गोलबजार नगरपालिकामा मेयर श्याम श्रेष्ठको तजविजमा खर्च हुनेगरी राखिएको नगरस्तरीय योजना कार्यान्वयन सुरु भइसकेको छ । नगरस्तरीय सडक मर्मतको रकम विपद् व्यवस्थापनको नाममा खर्च गर्न पाइदैन । विपद्को बजेट छुट्टै छ । प्राकृतिक विपद्बाट सिर्जना भएको समस्या हो भने त्यसको अध्ययन अनुसन्धान र लागत इष्टिमेट गरेर विपद् शीर्षकबाटै खर्च गरिनु पर्छ । डमी उपभोक्ता समिति बनाएर सेटिङ्गका ठेकेदारमार्फत कही कतै ग्राभेल छरेर पैसा हजम गर्ने उद्देश्य हो भने अब त्यसलाई स्वीकार गरिदैन । साहले भने ल जोड दिएर लेखिदिनुस् मेरो भनाइ भनेर । विपद्का नाममा एक करोड ३० लाख हजम गर्ने मेयर श्रेष्ठ र प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसीको योजनालाई नेपाली कांग्रेसका युवाहरुले अब सास थुनिने गरी छेक्ने छन् ।

नेकपा एकीकृत समाजवादीका युवा नेता सुरेश यादव भन्छन् यो कस्तो विपद् आयो असार महिनामा, जसले हरेक वडाका सडकहरुमा १०–१० लाखको वरावर क्षति गरेर गयो ? यस्तो पनि हुन्छ कहीँ कतै ? अचम्म र उदेक लाग्दो छ । डमी उपभोक्ता समिति बनाएर छोरामार्फत सेटिङ्गका ठेकेदारमार्फत ग्राभेल छरेर बजेट हजम गर्ने मेयरको चाल असफल बनाइने छ । प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसीसँग पनि जवाफ मागिने छ ।


प्रकाशित : २०८१ भाद्र २५ मंगलवार