
नेपाली उखान छ –“भूइँको टिप्दा पोल्टाको खस्छ ” कमरेड विश्वनाथ साहलाई अहिले त्यही हत्ते आइलागेको छ । पार्टी पंक्तिलाई जति समेट्न खोज्यो उत्ति छरिन्छ ।
गोलबजार खानेपानी निर्वाचनताका एकढिक्का झैं देखिएको नेकपा माओवादी केन्द्र गोलबजारको भित्री वस्तुगत परिस्थिति भिन्न छ । भित्र टुटफुट र तानातानको स्थिति पहिलेको भन्दा पनि चर्किएर गएको छ । सकेसम्म पार्टी एकढिक्का बनाउने र आफ्नो नियन्त्रणमा राख्ने कमरेड विश्वनाथको प्रयास निधार भित्तामा ठोक्किएर टुटुल्को उठेजस्तै भएको छ । कमरेड विश्वनाथले भूइँको टिप्न खोज्छन् उता पोल्टामा भएको झरिहाल्छ । परिस्थितिकीय पिरलो र हत्ते उनका लागि चिट–चिट पसिना निकाल्ने खालको छ ।
वडा नं. ३ मुसहर्निया गुम्बाको प्रशिक्षणले आधारशिलाको शक्ति गुम्बातर्फ संक्रमण भएको आभाष पाएपछि दक्षिणतर्फका कार्यकर्ताहरु सचेत र सजग भएका छन् । त्यहाँको प्रशिक्षणमा भाग लिएका दक्षिणतर्फका कार्यकर्ताहरु पनि प्रशिक्षण आयोजना स्थल उचित नभएको तर्क गरिरहेका छन् । उत्तर र दक्षिणको तानातानको स्थिति पैदा भएको छ । पहिले एक किसिमले गुटबन्दी थियो अहिले फरक शैलीमा ध्रुविकरण भइरहेको छ । जातीय र नश्लमा आधारित वर्चस्वका लागि घम्साघम्सी चलिरहेको छ ।
मुसहर्निया गुम्बामा आयोजित प्रशिक्षण पछि आधारशिलालाई “कम आक्न ” थालिएको भन्दै केही कार्यकर्ताहरुले त्यसपछिको पार्टीको बैठकहरु अनिवार्य रुपमा आधारशिलामा आयोजना गर्ने जमर्को गरेका छन् । आधारशिलामा बैठक आयोजना गर्ने कुराको मुसहर्निया पक्षका कमरेडहरुले कडा विरोध जनाएका छन् । उनीहरुले पार्टीको कार्यालय हुँदाहुँदै आधारशिला वा एक नेताको निवासमा किन बैठक गर्ने भनेर प्रश्न उठाएको र त्यस्तो बैठकमा नजाने घोषणा पनि गरेको बुझिएको छ । नेकपा माओवादी केन्द्र गोलबजारका कमरेडहरुले आपसी सञ्चारका लागि बनाएको सामाजिक सञ्जालको समूह ( च्याट समूह ) मा दोहोरी मात्र चलेको छैन कतिपयले अन्य कतिपयलाई समूहबाट हटाइदिएका छन् । हटाइएकाहरुले अर्को च्याट ग्रुप सञ्चालनमा ल्याएका छन् । एकले अर्कोलाई निषेध गर्ने , आरोप प्रत्यारोप गर्ने र एउटाको बिचार पोष्ट हुन नपाई अर्कोले खण्डण गर्ने परिपाटी नै चलेको छ ।
एकथरी कमरेडहरु कमरेड विश्वनाथलाई साथमा लिएर राजनीतिक शक्ति र २०८४ को टिकट चुरे डाँडा छेउछाउ लैजाने अभियानमा लागेका छन् । अर्काथरी कमरेडहरु शक्ति र टिकट दक्षिणतर्फ नै राख्ने वातावरण बनाउन कमरेड विश्वनाथलाई दवाव दिइरहेका छन् । कमरेड विश्वनाथले खास कार्यकर्तालाई आवश्यकताभन्दा अधिक महत्व दिएर अन्य कार्यकर्ताहरुको तेजोबध गराएको एकथरीको गुनासो छ भने अर्कोथरीले नेतृत्वमा जातीय र क्षेत्रीय सन्तुलन मिलाउनु पर्ने कुरामा जोड दिएका छन् ।
कमरेड विश्वनाथलाई मुल लिडरशिप सम्बोधन गरेर आधारशिलामा उनकै निर्देशन अनुसार बैठक राखिएको कुरामा अर्को पक्षले आपत्ति जनाएका छन् । उनलाई मुल लिडरशिप नमान्ने र पार्टी कार्यालय बाहेक आधारशिलामा राखिएको बैठकमा नजानेसम्मको घोषणा गरिएको छ । त्यसैगरी गोपनीयताका लागि आधारशिलामा बैठक राखिएको तर्कको खण्डण गर्दै त्यसो भए पासपोर्ट जम्मा गरेर चीनमा गएर बैठक गर्ने भनेर व्यङ्ग कसेका छन् ।
विगतमा नगर , प्रदेश र संघ तीन तहको चुनावमा पराजित भएकोले पार्टी एक ढिक्का बनाएर मिसन ०८४ मा जाने र पार्टीको गुमेको साख र शक्ति पुनः आर्जन गर्ने कमरेड विश्वनाथको प्रयासमा झन धक्का लागेको छ । गोलबजार नगर कमिटीको आसन्न अधिवेशनबाट नगर कमिटीमा बहुमत ल्याउने कसरथमा दुई पक्षका कार्यकर्ताहरुले कसरथ बढाएका छन् । यस्तै परिस्थिति रह्यो भने ०८४ मा पनि हसिया हथौडा बाहेक लालटिन वा लालीगुँरास चुनाव चिन्ह लिएर मैदानमा उत्रिने वागी समूह पुन देखिन सक्दैन भन्न सकिन्न ।