काठमाडौं । नेपाली पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल ९इन्जा० ले यस वर्षको बौद्धिक पत्रकारिता पुरस्कार नेपाल समाचारपत्रका सम्पादक कपिल काफ्लेलाई प्रदान गरेको छ ।
त्यसै गरी सो संस्थाले उत्कृष्ट इन्जा खोजी पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार गजेन्द्र बुढाथोकीलाई प्रदान गरेको छ ।अन्तर्राष्ट्रिय कम्पनी कोकाकोलाले नेपालमा कर छली गरेको विषयलाई पत्रकारिताको माध्यमबाट सूचना सम्पे्रषण गरी राज्यलाई सात अर्ब राजस्व असुल गर्न सहयोगी भूमिका निर्वाह गर्नुभएकाले पत्रकार बुढाथोकीलाई सो सम्मान प्रदान गरिएको हो ।
काठमाडौंमा शनिबार आयोजित इन्जाको पाँचौँ वार्षिकोत्सव समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सम्पादक काफ्लेलाई नगद ५० हजार राशी र सम्मानपत्रसहित सम्मान गर्नुभयो ।त्यसै गरी मन्त्री कार्कीले एक लाख राशि र सम्मानपत्रद्वारा पत्रकार बुढाथोकीलाई सम्मान गर्नुभएको थियो ।
त्यसै गरी मन्त्री कार्कीले इन्जा ग्रामीण पत्रकारिता पुरस्कार पत्रकार दीपा कर्ण र रेडियो मेलम्चीलाई, इन्जा बौद्धिक पत्रकारिता पुरस्कार उपप्राध्यापक देवराज अर्याललाई जनही ५० हजार नगद र कदरपत्र प्रदान गरी सम्मान गर्नुभयो ।मन्त्री कार्कीले वरिष्ठ पत्रकारद्वय हरि लम्साल र गोपालचन्द्र शर्मा तथा सञ्चारिका समूहकी निवर्तमान अध्यक्ष नीतु पण्डितलाई पनि कदरपत्रद्वारा सम्मान गर्नुभयो ।
टक्सार मासिकका प्रधानसम्पादक बुढाथोकीलगायतका पत्रकारहरूलाई सम्मान गर्दै मन्त्री कार्कीले इन्जाले गाह्रो, साह्रो र अप्ठेरोमा परेका पत्रकारलाई सम्मान गर्ने परम्पराको सुरुआत गरेकामा खुसी व्यक्त गर्नुभयो । उहाँले नेपाली पत्रकारिता आवाजविहीनहरूको आवाजलाई बाहिर ल्याउने सशक्त माध्यम बन्नुपर्नेमा जोड दिनुभयो ।
इन्जा संसारभर छरिएर रहेका नेपालीभाषी पत्रकारहरूले स्थापना गरेको संस्था हो । इन्जाको प्रधान कार्यालय अमेरिकामा रहेको छ । इन्जा ग्लोबलका अध्यक्ष गुणराज लुइँटेलले भर्चुअल माध्यमबाट सम्बोधन गर्दै विभिन्न अप्ठेरोमा परेका नेपाली पत्रकारलाई सम्मान गर्न पाएकामा खुसी व्यक्त गर्नुभयो ।
नेपाल पत्रकार महासंघका सभापति विपुल पोखरेलले अप्ठेरामा परेका पत्रकारहरूलाई सहयोग गर्न नेपाल पत्रकार महासंघ इन्जासँग सहकार्य गरेर अगाडि बढ्ने बताउनुभयो ।
समारोहमा नेपाली पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल ९इन्जा०, एसियाका अध्यक्ष टंक पन्त, केन्द्रीय सचिव दीपक रिजाल, नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्साल, प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेत, समाजवादी प्रेस संगठनका अध्यक्ष शम्भु श्रेष्ठ, मधेसी पत्रकार समाजका अध्यक्ष मोहन सिंहलगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।