मिथिला क्षेत्रकाे साझा पर्व ‘राखी’ काे रौनक शुरू, दाजुभाइको स्वागतको तयारीमा दिदीबहिनी

[sharethis-inline-buttons]

महोत्तरी । मिथिलामा साउन शुक्लपक्ष प्रारम्भ भएपछि थुप्रै चाडबाडको लहरो लाग्छ । मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा प्रचलनमा रहेको मिथिला र विद्यापति पञ्चाङ्गको वर्ष आरम्भ नै साउन शुक्लपक्षसँगै हुन्छ । वर्षको प्रारम्भसँगै अर्थात् साउन शुक्लपक्षसँगै चाडपर्व बाक्लिदै  जान्छन् । मिथिलामा साउन शुक्लपक्षभित्रै मधुश्रावणी पर्व समापन, झुलनोत्सव, नागपञ्चमी पर्व पर्दछन् । यी पर्वसँगै साउन शुक्लपक्षमा खास रौनक भने ‘राखी’ पर्वको देखिन्छ । अहिले साउन शुक्लपक्षको करिब मध्यतिर आइपुग्दा महोत्तरी सहितका मिथिला क्षेत्रमा ‘राखी’ (रक्षाबन्धन) पर्वको रौनक ह्वात्तै बढेको छ । साउन पूर्णिका दिन मनाइने यो पर्वको तयारीका लागि मिथिला क्षेत्रमा अहिले रमझम बढेको छ । यही साउन २७ गते शुक्रबार ‘राखी’ पर्व मनाइँदैछ ।

अहिलेदेखि फुटपाथे पसल होऊन् वा पान पसल..! ठूलठूला व्यापारिक प्रतिष्ठान होऊन् कि चलचित्र घर.. ! सबै ठाउँमा दिदीबहिनी र दाजुभाइबीच गाढा प्रेम दर्शाउने गीतका धून लगातार बजिरहेका सुनिन्छन् । चारैतिर पर्वको रमझम र तयारीले सम्पूर्ण मिथिला क्षेत्र अहिले राखीमय देखिनाका साथै जताततै दाजुभाइको सौर्य बखान गरिएका माङ्गलिक गीतको मीठो धून गुञ्जिरहेका छन् । गाउँ–नगर बस्तीमा रङ्गीबिरङ्गी ‘राखी’ (साउन पूर्णिमाका दिन दिदीबहिनीले दाजुभाइलाई हातमा बाँधिदिने कलात्मक ढङ्गले बनाइएका धागोका डोरा) बेच्न राखिएका छन् । बस्तीमा खासगरी किशोरी र नवयौवना सखी सहेली एकापसमा भेट हुनासाथ गरिने कुराकानी नै ‘राखी’को तयारीसँग सम्बन्धित हुन थालेको छ ।

“दाजुभाइ को कता छन् ? उनीहरुको खोजी गर्नु र आफ्ना दाजुभाइका नाडीमा सुहाउने राखी खोज्नु अहिलेको तयारी हो”, जलेश्वर नगरपालिका–२ की साधना वर्मा बताउनुहुन्छ । मैथिल दिदीबहिनीले पर्वका लागि टाढाटाढा रहेका दाजुभाइलाई फोन गरेर सम्झँदै राखीको निम्ता धमाधम गर्दैछन् । अविवाहित दिदीबहिनीलाई त एउटै घरमा भएपछि दाजुभाइलाई निम्ता दिन हतार हुँदैन तर विवाह भएर आफ्नो घरजममा लागेका दिदीबहिनी भने साउन शुक्लपक्ष लाग्नासाथ निम्ताको तारतम्यमा लाग्छन् । “मैले त दाजुभाइलाई फोन गरेर निम्ता गरिसकेँ”, महोत्तरीकै भङ्गाहा–४ रामनगर घर भएकी आजादी कुशवाहा भन्नुहुन्छ, “सबै दाजुभाइ मेरै घर आउने टुङ्गो भयो ।” बर्दिबास नगरपालिका–१२ बिजलपुरा माइती भएकी कुशवाहा दाजुभाइको स्वागतको तयारीमा अहिले नै लाग्न थाल्नुभएको छ ।

त्यसैगरी अविवाहित चेली पनि काम विशेषले घरबाहिर रहेका दाजुभाइलाई सम्झँदै पूर्णिमाका दिन राखी बाँध्न आउने निम्ता दिन तल्लीन छन् । साउन शुक्लपक्ष सुरु भएयता दाजुभाइप्रति देखाइने चासो र पर्वको पूर्वतयारीले १५ दिन बितेको थाहै नपाइने मैथिल दिदीबहिनी बताउँछन् । पर्वको मुख्य दिन आउन अझै नौ÷१० दिन बाँकी छँदै अहिले सिङ्गो मिथिला क्षेत्र नै पर्वको तयारीमा छ । दाजुभाइ तथा दिदीबहिनीबीच प्रेम, समर्पण र आपसी सम्बन्ध कहिल्यै नटुट्ने प्रतिबद्धता जनाइने यो पर्व मिथिलाकोे महान् सांस्कृतिक पर्व भएको स्थानीय लोकसंस्कृतिका ज्ञाता बताउँछन् । साउन शुक्लपक्ष सुरु भएयता बजारहाटमा आ–आफ्ना दाजुभाइलाई बाँधिने राखी छान्न मिथिलानी (मिथिलाका नारी) चेलीहरुको चहलपहल अहिलेदेखि नै बढेको छ । साउन शुक्लपक्ष सुरु भएयता महोत्तरी सहितका मिथिला क्षेत्रका व्यापारिक प्रतिष्ठानहरु, चोक चौराहाका सानाठूला पसल र हातहातका मोबाइलमा पनि दाजुभाइ–दिदीबहिनीबीच प्रगाढ माया र सद्भाव दर्शाउने गीत बज्न थालेका छन् ।

यस्ता गीतले आम बटुवालाई समेत द्रवित बनाउने गरेको महोत्तरीको मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठका नेपाली साहित्यका सहप्राध्यापक ध्रुव राय बताउनुहुन्छ । चेलीहरु अहिलेदेखि नै राखी बाँधी दिएपछि दाजुभाइलाई ख्वाइने मिष्टान्न परिकारबारे योजना बनाउन थालेका छन् । यसैगरी दाजुभाइ पनि पर्वमा दिदीबहिनीसँग राखी बाँध्ने प्रयोजनका लागि केही दिन पहिलेदेखि नै आ–आफ्नो कामबाट फुर्सत मिलाउन लागेका छन् । घरबाट काम विशेषले टाढाटाढा रहेका दाजुभाइ छुट्टी मिलाएर घर फर्कने तयारीमा रहेका टेलिफोन संवादले चेलीहरु खुसीले दङ्ग देखिन्छन् ।

“भैया दिल्ली स राखी पावैन के लेल ऐवाक् निश्चित भेल” (दाजु राखी पर्वका लागि दिल्लीबाट आउने कुरा निश्चित भयो) बर्दिवास–७ प्रेमनगरकी किशोरी समिता राम भन्नुहुन्छ, “आब राखी के जोगार मे लगैछि’’ (अब राखी किन्ने छु) । पर्व विशेषमा दाजुभाइ, दिदीबहिनी र राखीको कारोबार गर्ने व्यापारीहरु उत्तिकै व्यस्त देखिन्छन् । ग्राहकको रोजाइमा परेका राखीका डिजाइनको माग र त्यसको आपूर्ति अहिले आफ्नो मुख्य ध्येय रहेको व्यापारीहरुको भनाइ छ । पर्वका लागि अब नौ÷१० दिनमात्र बाँकी रहँदा रक्षाबन्धनका विभिन्न डिजाइनको माग र आपूर्तिका कामले एक छिन फुर्सद नभएको सीतापुरबजारमा राखी बिक्री गर्दै आउनुभएका रामप्रताप साह बताउनुहुन्छ ।

 


प्रकाशित : २०७९ श्रावण १८ बुधबार