हेलो चोहर्वा दरवार ः इमान्दारिता मुखमा कि व्यवहारमा ?

[sharethis-inline-buttons]

मिर्चैयाका ७६ वर्षिय रामचन्द्र साह पेट्रोलपम्पका साहु हुन् । सगरमाथा पेट्रोलियम एसोसियनका अध्यक्ष साह मिर्चैयामा सज्जन व्यापारीका रुपमा चिनिन्छन् । जीवनको उत्तरार्ध वयमा उनी चोहर्वा दरवारका सुप्रिमोको व्यवहारबाट तितो अनुभव गर्दैछन् ।

झण्डै १२ वर्ष हुन लाग्यो । चोहर्वा दरवारका सुप्रिमो कमरेड प्रचण्डसँग चुनावी मैदानमा उत्रिएका थिए । चुनावमा उम्मेदवार बनेका सुप्रिमो नेताले पेट्रोलपम्पका साहु रामचन्द्र साहसँग कुपन पठाउँछु , डिजेल पेट्रोल दिनुहोला । म चुनाव पछि एकमुष्ट भुक्तानी गर्छु भने । पम्प धनी साह भन्छन् अपेक्षाकृत भला आदमी ठनेको थिए । उनको परिवारसँग साँस्कृतिक सम्बन्ध ( अपनैती ) पनि थियो । चाड पर्वमा आउजाउ पनि थियो । उहाँले पठाएको कुपन अनुसार तेल दिएँ । मिर्चैयाकै एकजना एमालेका नेता जीवछ साह पनि आउनुभएको थियो । उहाँले पनि सिफारिस गर्नुभयो । तेल दिनुस् , भुक्तानीमा फरक पर्ने छैन भन्नुभयो ।

पम्प धनी साह भन्छन् म सिधासादा व्यापारी । जिल्लाकै बरिष्ट नेता भनेर विश्वास गरें । तर मेरो विश्वास टुट्यो । कति भयो चुनाव भएको सम्झिनुस् त ! आजसम्म मेरो १० लाखभन्दा अधिक रकम भुक्तानी दिएनन् । मैले धेरै पटक ताकेता गरे । फोन गरे । पहिले पहिले त यताबाट आएपछि दिन्छु उताबाट आएपछि दिन्छु भन्थे तर पछि त फोन उठाउनै छोडे । आउजाउ पनि बन्द भयो । के गर्ने हामी व्यापारीले ल भन्नुस् , साहले प्रतिप्रश्न गरे । उनले भने आखिर हामीले पनि किनेर ल्याएको डिजल पेट्रोल हो । घुर्मी खोलाबाट भरेर ल्याएको त होइन ।

दुई वर्ष भयो मैले फोन गर्न र ताकेता गर्न छोडिदिए । रामचन्द्र साह मनका बह कहदैथिए , अचानक उनका कान्छा छोरा आइपुगे । उनले बुबालाई सम्झाउँदै भने , हामी व्यापारी हौं । राजनीति गर्नेसँग किन शत्रुता मोल्ने । त्यति रकम माया मारेर हामीले छोडिसक्यौं त पत्रकारलाई किन सुनाउने ? उहाँको कुनै राजनीतिक रिस इवि होला , वेकारमा हामीलाई प्रयोग गरेर लेख्नु हुन्छ । छोड्नुस् जे भयो भयो ।

सुपथ रकम लिन र माग्न पनि नेतासँग व्यापारीहरु कसरी तर्सिने रहेछन् भन्ने कुरा रामचन्द्र साहका सुपुत्रको कुरा सुनेर मैले अनुभूति गरें । व्यक्तिगत लेनदेन सार्वजनिक चासो र लेखनको विषय हो कि होइन भनेर मैले निकै गमेर निक्र्यौल गर्न खोजें । १२ वर्षसम्म व्याज त कता गयो साहुको साउँ पनि डुबाउनु इमान्दारीताको लेनदेन होइन भन्ने निष्कर्षमा पुगे. । जव एक शक्तिशाली राजनीतिक व्यक्तिले सामाजिक राजनीतिक शक्तिको आडमा कसैको धन लिएर फिर्ता गर्दैन भने त्यो शोषण, दमन र अन्याय हो । चोहर्वा दरवारका सुप्रिमो त्यसैका पर्याय हुन् भन्ने निष्कर्ष निकाल्दा अतिशयोक्ति नहोला ।

चेहर्वा दरवारका सुप्रिमोको यस्ता ठाडै पचाउने लेनदेन दर्जनौ भेटियो । चोहर्वाकै एक मुस्लिम युवा कपडा व्यापारी ( जो जग्गा कारोवारी पनि हुन ) उनको व्यथा पनि कम छैन । उनले चोहर्वा दरवारका सुप्रिमोलाई चुनाव ताका २८ लाख रकम सापटी दिएको ७ वर्ष भयो रे । अहिले उनको व्यपार डुबेर दिनदशा लगे झैं भएको छ । बैंकमा धितो राखेको घर खेत लिलाम हुँदैछ । तर चोहर्वा दरवारले उनको रकम फर्काउने मन गर्दैन । बिचरा ती युवा डरले दरवारका सुप्रिमोसँग पटक पटक ताकेता पनि गर्न सक्दैनन् । उनी भन्छन् – त्यती ठूलो मान्छेले आफै बुझ्नु पर्ने हो । तिर्ने नियत नभए पछि मैले ताकेता गरे पनि असुल हुँदैन । मैले माया मारिसके ।

भाषण गर्दा र सञ्चार माध्यममा अन्तरवार्ता दिंदा सुप्रिमो गर्वले छाती फुकाएर भन्छन् कसैले भनोस् त मैले कसैसँग एक रुपैयाँ लिएको छ भनेर । म राजनीतिबाट सन्यास लिन्छु । तर उनको यो ओठे दावी सही सत्य होइन । सुप्रिमोबाट लेनदेनमा प्रताडित अझै एक दर्जन व्यक्तिहरुको फेहरिस्त दावानल समक्ष आइपुग्यो ।

कमरेड पुष्पलालसँग सुप्रिमोले २५ लाख भन्दा अधिक रकम लिनु भएको ३ वर्ष हुनै लाग्यो । त्यसमध्ये ५ लाख रकम दिनेले लिनेलाई फिर्ता नगर्ने शर्तमा दानमा दिनुभएको रहेछ । बाँकी रकम फिर्ता गर्ने गरी सापटीको अर्थमा दिइएको रहेछ । रकम दिने मान्छे रकम लिनेको दरवारमा धेरै पटक धाइसकेको सुनिएको छ । तर रकम फिर्ता गर्ने कुनै सुरसार देखिएको छैन । सुप्रिमोले पुष्पलाललाई प्रदेश सभा सांसद पदका लागि समानुपातिक सूचीमा नाम राखिदिएका थिए । हुनत टिकट दिए वापत रकम लिइएको हो । तर एउटा नेपाली उखानले यो रकमलाई घुस भन्न दिदैन । “मितले मलाई चार पाथी धान सित्तैमा दिए – मैले मितलाई दुई हलगोरु दुई दिन जोत्न सित्तैमा दिएँ ” । टिकट दिने राजनीतिक शक्ति प्रयोग गरेर रकम उठाइएकै हो । तर घुमाएर कुरा बुझ्नु प¥यो । यद्यपि आठौं नम्बरमा नाम राखेकोले पुष्पलाल छनौटमा पर्नु भएन । टिकट दिए वापत अन्य धेरै व्यक्तिहरुबाट रकम असुलिएको जानकारीहरु आउँदै छ । विस्तारै लेखौंला ।

भगवानपुरतिरका एक कमरेडले लहानका मारवाडी साहुका जग्गा धितो राखेर चुनावका लागि ऋण उठाएका छन् । उक्त रकमबाट सुप्रिमोले लगभग ११ लाख रकम थुतेका छन् । रकम दिने कमरेडले सुप्रिमोले सापटी लिएका हुन् , एक दिन फर्काउँछन् भन्ने आशमा छन् । तर लिने सुप्रिमोले टिकट दिए वापत उक्त रकम मिनहा भन्ने अर्थमा बुझेका छन् । जनताबाट सियोको टुप्पासम्म पनि सित्तैमा नलेउ र लिएको कुरा समयमा फर्काउ भन्ने माओत्सेतुङ्गको ८ नीयम पढेका रकम दिने कमरेड अब उग्र बन्दैछन् । किनकि उनले भेउ पाएछन् कि सुप्रिमोले ११ लाख रकम फिर्ता गर्ने छन्द छैन ।

गोलबजारकै एक नव प्रवेशी कोल्डड्रिक्स व्यापारीले पनि सुप्रिमोलाई ५ लाख दिएका रहेछन् । वर्षभरी कमाउँदा ५ लाख बचत हुँदैन । तर नेताले एक ठक्करमा ५ लाख खाइदिने रहेछन् भन्ने बुझेर उनी तीनछक्क परेका छन् । रकम धेरै पटक फिर्ता मागे तर अब उनी रकम फिर्ता आउने सम्भावना देख्दैनन् । ५ लाख डुबेको दुखाई महसुस गर्दै उनी पार्टीबाट बाहिरिने तरखरमा छन् ।

सुप्रिमो नेता जीले रकम माग्दा घुस भनेर माग्नु हुन्न । कि सापटी कि सहयोग भनेर माग्नु हुन्छ । साह्रै बैगुनी पनि भन्न मिल्दैन सुप्रिमोलाई । मिर्चैयामा नगरपालिकामा किन सदा सर्वदा एकै जनालाई टिकट दिइन्छ । किन अन्य कमरेडहरुको कुरा सुनिदैन भनेर खोज्दै जाँदा ज्ञात भयो मेयरका सपना बोकेका कमरेडलाई जमानी राखेर सुप्रिमोले ५ लाख रकम सापटी भनेर बुझिलिएका रहेछन् । कमरेडले ब्याजसहित बुझाउँला भनेर जमानी बसेका रहेछन् । सुप्रिमोले ३ वर्ष बित्दा पनि रकम नतिरेपछि कमरेड रन्थनिएका छन् । उनले पनि कुरा बुझेछन् यो ५ लाख टिकट वापत स्याहा श्रेष्तामा मिनहा लेख्नैपर्छ ।

सुप्रिमो कमरेडले सिरहा सदरमुकामदेखि उत्तरतर्फ घर भएका कमरेड लक्ष्मणसँग दुई पटक गरी लिएको १० लाख , पोदार थरका एक व्यक्तिसँग लिएको पनि ३ वर्ष नाघेको छ । विष्णुपुरका ३ जनासँग पनि १० लाखको हाराहारीमा रकम ऋण सापटी भनेर सुप्रिमोले बुझिलिएको बुझिएको छ । नरहाका एक जना पेशाकर्मीलाई जमानी राखेर ३ लाख रकम सुप्रिमोले व्याजसहित तिर्ने गरी लिएको पनि ३ वर्ष व्यतीत भयो । तर रकम फर्काउने सुरसार छैन । पेशाकर्मीले बुझिसके अब यो रकम जमानी बसे वापत मेरै थाप्लोमा आउँछ । नियुक्तिमा सहयोग गरे वापत अघोषित घुस सरह भयो यो ३ लाख रकम पनि ।
सुप्रिमोले लिएको यी रकमहरुको तेजारत जोड्दा १ करोडको हाराहारी हुन आउँछ । यसरी तिर्नै नपर्ने र फर्काउनै नपर्ने गरी चोहर्वा दरवारका सुप्रिमोलाई रकम दिन कसैलाई रहर हुँदैन । तत् व्यक्तिहरुले पनि पसिना बगाएर कमाएको धन होला । चोहर्वा दरवारले इमान्दारिता मुखले मात्रै प्रदर्शन गर्ने होइन , व्यवहारले पनि सिद्ध गनुपर्छ । सुप्रिमोले रकम लिंदा घुस भनेर लिएका चाँहि होइनन् तर विषय वा प्रसङ्गले घुस लिएको अर्थ नै लाग्छ । राजनीतिबाट सन्यास लिने कि ?

 


प्रकाशित : २०८१ आश्विन १९ शनिबार