
नेकपा एमालेका स्थाथी समिति सदस्य तथा मधेश प्रदेश इन्चार्ज सांसद लीलानाथ श्रेष्ठ विरुद्ध उनकै पार्टीमा उजुरी परेको छ । स्थानीय निर्वाचन,प्रदेश तथा संघको निर्वाचनमा उम्मेदवारहरुबाट श्रेष्ठले टिकट वापत रकम असुलेको भन्दै उजुरी परेको हो । सिरहा जिल्लामा मात्र होइन सिङ्गो मधेश प्रदेशमा टिकट वितरण गर्दा श्रेष्ठले केही न केही रकम नजराना असुल गरेको र उनीहरु मध्ये एक दर्जन व्यक्तिहरुले गोप्य तरिकाले केन्द्रीय कार्यालयमा उजुरी दिएको सुत्रहरुले बताएका छन् ।
गत साता सिरहाबाट गएको एक प्रतिनिधि मण्डलले पार्टीका महासचिव शंकर पोखरेल र पार्टीका प्रवक्ता राजेन्द्र गौतमलाई भेटेका थिए । पार्टी सचिव रघुवीर महासेठ समेतको उपस्थिति रहेको उक्त भेटघाटमा प्रदेश इन्चार्ज श्रेष्ठले कुन कुन उम्मेदवारबाट कति कति रकम असुलेको भन्ने फेहरिस्त बुझाएका थिए ।
उजुरी परेपछि पार्टीले शूक्ष्मातिशूक्ष्म छिद्रान्वेषणको शैलीमा छानविन गर्ने आश्वासन पाएको एक सहभागीले दावानललाई बताए । पार्टी केन्द्रीय कार्यालयमा सिरहाका कमरेडहरुको रिपोर्टिङ्ग सुनेर नेता श्रेष्ठको देखाउने र खाने दाँत फरक भएको चर्चा चलेको छ ।
यसैबीच सिरहा जिल्लाका पार्टी कार्यकर्ता, शुभेच्छुक ,व्यापारी, ठेकेदार र मजदुरहरु समेतको रकम चुनाव ताका नेता श्रेष्ठले फिर्ता गर्ने सर्तमा सापटी भनेर लिएको तर फिर्ता गर्न आनाकानी गरेपछि उनीहरु संगठित भएका छन् । गोलबजारमा भएको एक गोप्य भेलामा क–कसकोे कति रकम , कुन मितिमा र कुन सर्तमा लिएको हो – उनीहरुको नाम, फोन नं. र हस्ताक्षर संकलन गरिएको छ । त्यसमा उधारो सामान दिने व्यापारीहरु पनि रहेका छन् । काम लगाएर मजदुरी नदिएका मजदुरहरुको पनि नाम समावेश गरिएको छ । भेलामा संकलित सूची लिएर एक प्रतिनिधि मण्डल चाडै बालकोट जाने र पार्टी अध्यक्ष केपी शर्मा ओली समक्ष रकम असुल उपर गराई दिन उजुरीका साथ निवेदन दिने निर्णय गरिएको छ ।
गत माघ महिनामा गोलबजारका एक स्थानीय पेय पदार्थका व्यापारी आफूले सापटी दिएको ५ लाख रकम फिर्ता माग्न गएका थिए । उनलाई नेता श्रेष्ठले “जाउ, पत्रकारसँग पैसा माग , उसैसँग लेउ । म दिन्न , जे गर्नु छ गर ” भनेर फर्काइ दिएको एक सुत्रले जानकारी दिएको छ । नेताको रुखो हप्काई सुनेर फर्केका व्यापारी पैसा सापटी दिएर पाप गरेको भन्दै पाप मोचन गर्न कुम्भ स्नानतर्फ लागेका थिए ।
पेय पदार्थका व्यापारीलाई हप्कीदप्की गरिएको चर्चा चलेपछि अन्य व्यापारी तथा रकम फसेकाहरु पनि चिन्तित भएर भेला बोलाएको एक सहभागीले दावानललाई बताए । उनले भने, नेता श्रेष्ठमाथि ११ वर्ष अघिदेखिको वक्यौता रकम भएका पीडित व्यापारीहरु पनि भेलामा सहभागी थिए । भेलामा एक मजदुरले आफ्नो मजदुरी वापतको रकम नदिए नेता श्रेष्ठको घर अगाडि दिउँसै लालटिन बालेर धर्नामा बस्ने घोषणा गरेका छन् । भेलामा सहभागीहरु बीच सापटी रकम नतिर्ने तर सल्लाघारीमा शिश महल बनाउने कस्तो नैतिकता हो भनेर प्रश्न उठेको एक सहभागीले दावानललाई बताए ।