अवकाश लिएका शिक्षकको नामबाट १ लाख ५३ हजार तलव निकासा लिई भ्रष्टाचार

[sharethis-inline-buttons]

अर्जुन थपलिया ÷ ३ चैत २०८१, सिरहा

श्री जनता माध्यमिक विद्यालय ( प्राविधिक ) गोलबजारमा अर्को एउटा असाधारण भ्रष्टाचार भएको दवानलले प्रमाण फेला पारेको छ । राजीनामा दिई अवकाश लिएका शिक्षकको नामबाट १ लाख ५३ हजार रकम तलब वापत निकासा लिएर हिनामिना गरिएको रहस्योदघाटन भएको छ ।

प्राविधिक धारतर्फका निमावि स्तरका शिक्षक अन्तराम यादवले मिति २०८१ बैशाख २६ गते आफ्नो पदबाट राजीनामा दिएका थिए । उनले दिएको राजीनामा २०८१ बैशाख २७ गतेको मितिबाट लागू हुनेगरी तत्कालीन प्रधानाध्यापक भरत साहले स्वीकृत गरिदिए । विद्युत इन्जिनियर शिक्षक अन्तराम यादवले नेपाल विद्युत प्राधिकरणमा नाम निकालेर शिक्षकबाट राज्निामा दिएका थिए । उनी अहिले प्राधिकरणमा राजविराजमा कार्यरत छन् ।

आफैले राजीनामा स्वीकृत गरी अवकाश दिएका शिक्षक अन्तराम यादवको नामबाट प्रधानाध्यापक भरत साहले तलब निकासा गराई १ लाख ५३ हजार ९ सय २० रुपैयाँ अपचलन गरेका छन् । २०८१ बैशाख २७ गते देखि सेवा निवृत्त भइ नेपाल विद्युत प्राधिकरण राजविराजमा जागिर खान गएका शिक्षक अन्तराम यादवको २०८१ आशोज महिनासम्मको तलब, भत्ता र दशैं पेश्की समेत गोलबजार नगरपालिकाबाट निकासा मागियो । गोलबजार नगरपालिकाका मेयर श्याम श्रेष्ठको सहमतिमा तत्कालीन शिक्षा शाखा प्रमुख सुवोध लामा, लेखापाल रामेस्वर .साह र प्रधानाध्यापक भरत साहको मिलिभगतमा उपरोक्त रकम निकासा भएको हो । नगरपालिकाबाट निकासा लिएर शिक्षक अन्तराम यादवको किर्ते हस्ताक्षर गरी विद्यालयबाट नगदै तलब भुक्तानी लिएको र वाँडफाँड गरी हिनामिना गरेको पाइएको छ । शिक्षक अन्तराम यादवले दिएको राजीनामा पत्र र गोलबजार नगरपालिकाले विद्यालयलाई निकासा दिएको तलवको फाँटवारी दावानललाई प्राप्त भएको छ । राजीनामा पत्रमा तत्कालीन प्रधानाध्यापक साहले स्वीकृतीको तोक लगाएका छन् ।

यस सम्बन्धमा अवकाश लिएका शिक्षक अन्तराम यादवसँग सोधनी गर्दा उनले भने मैले २०८१ बैशाख २६ गतेसम्मको तलब बुझेको छु । आवश्यक परे बैंक स्टेटमेन्ट देखाउन सक्छु । त्यो भन्दा बढी कैफियत भएको रहेछ भने हेडमास्टरलाई सोध्नुस् । उनी नै जिम्मेवार हुनुपर्छ । यस सम्बन्धमा तत्कालीन प्रधानाध्यापक साहसँग सोध्दा उनले शिक्षिका विमला झाको तलवसँगै अन्तराम यादवको पनि तलब निकासा आएको स्वीकार गरे । उनले भने विमला झाको तलवसँगै अन्तराम यादवको तलब रकम पनि फिर्ता गरिएको छ ।

मेयर श्रेष्ठले उपसचिव अनन्त पौडेललाई जिम्मेवारीविहीन गराई उनीभन्दा कनिष्ट शाखा अधिकृत सुवोध लामालाई कमाइ गरेर दिने विश्वास पात्रका रुपमा शिक्षा शाखामा प्रमुख बनाएर राखेका थिए । शिक्षा क्षेत्रबाट नाजायज नजराना संकलन गर्न माहिर र रकमी कर्मचारी लामा उठती रकम मेयर श्रेष्ठसम्म पु¥याउने सर्तमा लामो समयसम्म शिक्षा प्रमुख पदमा वहाल रहेका थिए ।

असाधारण विदामा अष्ट्रेलिया गएकी शिक्षिका विमला झाको तलव निकासा लिएर हिनामिना गरेको घटना गत माघ ११ गते दावानलमा प्रकाशित भएपछि मेयर श्रेष्ठ शिक्षा शाखा प्रमुख लामा, प्रधानाध्यापक साह र लेखापाल साहलाई हटाउन बाध्य भएका थिए । उनीहरु तीनै जनालाई नगरपालिकामा जगेडामा राखेर हाजिर गराइएको छ । विमला झा तलव हिनामिना प्रकरणमा मुद्दा चलाउनुको सट्टा लामा, प्रअ साह र लेखापाल साहलाई जोगाउन मेयर श्रेष्ठले कागज पत्र मिलाइ दिएको सुत्रहरुको दावी छ । पदबाट हटाइएका शिक्षा शाखा प्रमुख लामाले “रकम खाने बेला बाँडेर खाने अहिले मलाई मात्र कारवाही गर्ने हो भने म त डुब्छु सँगसँगै सबैलाई लिएर डुब्छु ” भनेर घुर्की लगाए पछि मेयर श्रेष्ठ उनको बचाउमा कदम चाल्न बाध्य भएका थिए । तर विमला झा प्रकरण सेलाउन नपाउँदै अर्को एक भ्रष्टाचार काण्ड उजागर भएको छ । कहीं नभएको जात्रा हाँडी गाउँमा भने झैं गोलबजार नगरपालिकामा भ्रष्टाचारको गोलचक्कर जात्रा चलेको छ ।

 


प्रकाशित : २०८१ चैत्र ३ आईतवार