
सिरहा क्षेत्र नं २ बाट निर्वाचित जनता समाजवादी पार्टी नेपालका सांसद तथा अन्तर्राष्ट्रिय सम्बज्ध समितिका सभापति राजकिशोर यादवले सिरहा जिल्लामा माफिया राज चलेको बताएका छन् । हिजो मंगलवार संसदको शून्य समयमा बोल्दै माननीय यादवले सिरहाका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाल र प्रहरी उपरीक्षक रमेश पण्डितले तस्कर र माफियाहरुसँग साँठगाँठ गरेर माफिया राज्य काउम गरेको गम्भीर आरोप लगाएका छन् ।
सांसद यादवले भने , “ मोटो रकम लिएर भारतीय नागरिकलाई नेपाली नागरिकताको प्रमाण पत्र दिइएको छ । ” मिडियाहरुमा घटना सार्वजनिक हुँदा पनि कारवाही गर्नेतर्फ चासो लिइएको छैन । सांसद यादवले भने ग्राभेल उत्खनन् गर्ने तस्करहरुसँग मिलेर अनाधिकृत रुपमा उत्खनन् राएको र समाचार लेख्ने पत्रकारहरुलाई पटक पटक ज्यान मार्ने धम्की दिलाएको , पत्रकारहरुले सुरक्षा माग गरेर निवेदन दिंदा पनि सुनुवाई नगरिएको बताए ।
सांसद यादवले सिरहामा एसपी र सिडिओ असुली धन्दामा लागेको र माफियातन्त्रले जिल्लामा शासन चलाएको जिकिर गरे । उनले भने अहिले सिरहाको अवस्था अस्त्व्यस्त छ । शान्ति सुरक्षाको अवस्था राम्रो छैन । कमजोर वर्गकाहरुका लागि राज्यको संरक्षण हराएको छ । चुरे संरक्षणका लागि आवाज उठाउने पत्रकारहरुको क्यामरा फुटाइएको छ । उनीहरुलाई सिडिओ र एसपीको आडमा पटक पटक ज्यान मार्ने धम्की दिइएको छ । भूमाफियाहरुले पनि प्रशासन र प्रहरीको संरक्षण पाएको छ ।
सांसद यादवले भने वडाध्यक्ष सत्ताधारी दलको भएको हुनाले नागरिकता बेच्ने गम्भीर अपराधमा संलग्न हुँदा पनि उनलाई कारवाही गरिएको छैन । सिरहामा तस्करहरु सुरक्षित र आम जनता असुरक्षित रहेको उनको कथन थियो ।