पुल मुनिको बास , चिसो रातमा भोको पेट – बेसाहारा मुसहर बस्तीको आगो मात्र छ साहारा

[sharethis-inline-buttons]

–अर्जुन थपलिया
शुभनारायण सदा र सुमित्रा सदाको बसेरा “ओडार युगको घर ” जस्तै छ । बैशाखको टन्टलापुर घामले पिठ्यु डढाउँछ , वर्षेझरीमा घरभित्रै निथ्रुक्क रुझ्नु, मैनावत्ती खोलाको भलले बगाउने त्रासमा रातभरी जाग्राम बस्नु र अहिले शीतलहरमा कठ्याङ्गिनु उनको जीवनभरको भोगाई हो । त्यसकारण मैनावत्ती नदीको पुल मुनि विगत एक दशकदेखि आश्रय लिएर बसिरहेका छन् ।
पुष महिना तराईको कठ्याङ्ग्रिने शीतलहर छ । सदा दम्पतीले खर बटुलेर , पराल मागेर , वनमाराको स्याउला काटेर पुलको पिलर मुनि आश्रय स्थल बनाएका छन् । पुराना जडाउरी मागेर आङ्ग ढाकेका छन् । न ओढ्ने छ , न ओछ्याउने । घरमा अन्नको गेडो पनि छैन । शीतलहर चलेकोले कतै मजदुरी पनि पाइदैन । चिसो रातमा भोको पेट । पुल मुनिको बास छ । कसरी बाँचेको हुनुहुन्छ ? भन्ने प्रश्नमा सुमित्रा भन्छिन् आगोको साहारा छ । भोक लागे पनि आगो ताप्छौं जाडो भए पनि आगो ताप्छौं । शुभनारायण भन्छन् “बाँचेका छैनौं , मृत्यु पर्खेर बसेका छौं । मरेपछि यहाँबाट पल्टाइ दिन्छन् । नदीमै छौं । चार चपरी माटो हालेर पुरिदिन्छन् । सकियो मुसहरको जीवन । ” नेपाल राज्यमा हामीले बाचुञ्जेल लमतन्न भएर सुत्न एउटा खट राख्ने जमिन पनि पाएनौ । ठूला जातिका धनीमानीहरुले हामीलाई बस्तीबाट उठिबास लगाएर खेदे – शुभनारायणले दुखेसो पोखे ।


मानव गोलबजार नगरपालिका वडा नं. ११ बलकवा बजार पुग्नु अघि मैनावत्ती नदीको पुल पार गर्नु पर्छ । यो पुल मुनि मैनावत्तीको वगरमा झण्डै ४० घर मुसहर परिवार बस्दछन् । यो पूरै बस्तीमा अहिले अनिकाल छ । प्राय सबै घरमा चुल्हो बाल्न हम्मे हम्मे छ । ओढ्ने ओछ्याउनेको कमी छ । काठपात र कसमल समेतको अभावले आगो बाल्न पनि मुस्किल छ । तिर झैं शरीर घोच्ने पश्चिमी सिरेटोले अधिकांश केटाकेटी बिरामी परेका छन् । भोकभोकै रात बित्छ । नेपाली कांग्रेसका नेता रामवृक्ष साह भन्छन् शीतहलरका कारणले रोजगारी पनि पाइदैन र काम गर्न सक्ने मौसम पनि छैन । मुसहर समुदायको विजोग भएको छ । साह भन्छन् तत्कालै यो मुसहर बस्तीमा खाद्यान्न , ओढ्ने , ओछ्याउने , न्यानो कपडा र औषधी उपचारको खाँचो छ । रहात नदिने हो भने मुसहर बालबालिकाहरु चिसोले मर्न सक्छन् । पूरै मुसहर बस्ती संकटाभिमुख छ ।


गोलबजार नगरपालिकाले अन्न र कपडा त परै जाओस् जाडोमा दाउरा समेत यो दलित मुसहर बस्तीमा पु¥याउन सकेको छैन । बजार क्षेत्रमा धनी धनी माझ दाउरा वितरण गरियो तर जहाँ गरिब, दलित मुसहर छन् त्यहाँ नगरपालिकाको आँखा परेन – शुभनारायण सदाले आक्रोस पोख्दै भने ५ पटक लीला मालिक र श्याम मालिक दाजुभाइलाई ( सांसद लीलानाथ श्रेष्ठ र मेयर श्याम कुमार श्रेष्ठ ) भोट हाल्यौ तर हाम्रो अवस्था यस्तै छ । पुल मुनि छौं ।
पुलमाथीबाट आउजाउ गर्नेहरुलाई पुल मुनिको मुसहर बस्ती कठाङ्ग्रिने शीतलहरमा भोको पेट सुतेको थाहा पाउँदैनन् । तर नगरपालिकालाई पनि दलित मुसहर समुदायको अवस्थाबारे बोध र चेत छैन – मुसहर समुदायका अगुवा अरुण सदाले रोष प्रकट गरे । अगुवा अरुण सदा भन्छन् “यो पुलको आडैमा भवरी मेला ( धार्मिक जात्रा ) लाग्दछ । आउँदो माघ १ देखि ७ गतेसम्म यहाँ ठूलो मेला लाग्छ । मेलाका लागि पसल थाप्न जग्गा बाँडफाँट हुँदैछ । नगरपालिकाले जात्राका लागि लाखौं रुपैयाँ सहयोग दिएको छ तर यो मुसहर बस्तीमा नगरपालिकाको नजर पुगेको छैन । यसरी समाजवाद ल्याइदैछ नेपालमा ” ।


प्रकाशित : २०८१ पुष २५ बिहीबार