तीन वर्ष हुनै लाग्यो पुरानो विद्यालय व्यवस्थापन समितिले पदावधि समाप्त भएर बिदा लिएको तर श्री जनता माध्यमिक विद्यालय प्राविधिक गोलबजारमा नयाँ विद्यालय व्यवस्थापन समिति गठन हुन सकेको छैन । विद्यालय व्यवस्थापन समिति गठन नभएको कारण विद्यालयको महत्वपूर्ण कार्यहरु हुन सकेको छैन । समिति नहुँदा बेलाबखतमा चरम अव्यवस्था, आर्थिक अनियमितता र अपारदर्शीताको आरोप लाग्ने गरेको छ । विद्यालयमा ७ जना शिक्षकको दरवन्दी खाली छ तर व्यवस्थापन समिति नहुँदा शिक्षक नियुक्ति प्रकृया अवरुद्ध भएको छ । खानेपानी , शौचालय र कक्षा कोठा जराजीर्ण छन् । तर निर्माणका लागि बजेट छैन । विद्यालय व्यवस्थापन समिति नभएको कारण कतिपय निर्णयहरु शिक्षकहरुको बैठकबाट लिइएको छ जुन गैर कानूनी छ । पठन पाठन र शैक्षिक गुण्स्तरमा ह्रास आएको छ ।
कुनैबेलाको जाज्वल्यमान विद्यालयको रुपमा नाम कमाएको गोलबजार हाइस्कूल अहिले उपेक्षा र मजाकको विषय बनेको छ । विद्यालय व्यवस्थापन समिति गठन गरेर विद्यालयको भौतिक, आर्थिक र शैक्षिक अवस्थामा सुधार ल्याउनु पर्नेमा स्थानीय जनताले जोड दिएपनि कार्यान्वयन हुन सकेको छैन । शैक्षिक उन्नयनको हर्ताकर्ता मानिएको गोलबजार नगरपालिकालाई निजाम चलाउनेदेखि मात्र सरोकार छ । शैक्षिक दुरावस्था प्रति पटक्कै चिन्ता छैन । सरोकारवालाहरु भन्छन् , नगरपालिकाका मेयर श्याम श्रेष्ठको गोलबजार स्कूल प्रतिको बक्र दृष्टि र कलुषित भावनाका कारण यो विद्यालयको अस्तित्व नै संकटमा परेको छ ।
विद्यालयका प्रधानाध्यापक भरत साह भन्छन् मेयर नजिक जानु उनले “अहिलेको अहिले पहाडको छाती फुटाएर दुधको नदी बगाएर स्कूलमा पु¥याइ दिन्छु ” भन्ने भरोसा र आश्वासन दिन्छन् तर एक मिनेट पछि नै उनलाई आफ्नो बचन याद रहँदैन । व्यवस्थापन समिाति नभएको कारण हामी शिक्षकहरु (खास गरी म) धेरै अप्ठ्यारोमा छौं । ७ जना शिक्षकको दरवन्दी खाली छ । अधुरो भवनहरु निर्माणका लागि एक पैसा बजेट पाएका छैनौं । पुराना कक्षा कोठाहरु जराजीर्ण छन् । विद्यालयको उन्नति प्रगति ठप्प छ । अनिर्णयको बन्दी भएर बसेका छौं । म आफै दर्जनौ पटक मेयर साहवलाई भन्न गए । हुन्छ हुन्छ भन्नुहुन्छ तर कार्यान्वयनमा शून्य । आर्थिक हिनामिनाको सवालमा एउटा छानविन समिति गठन गरिदिएका छन् । कि त हस्तक्षेप नगर्नु , गरेपछि तार्किक निष्कर्षमा पु¥याउनु । मलाई त नेल लगाएर बाँधेर राखे जस्तै बनाउनु भएको छ । त्यो समितिको प्रतिवेदन सार्वजनिक गरेर कि त दोषी देखाउनु कि सफाई दिनु भनेर मैले पटक पटक आग्रह गरे तर मेयर साहवको नियत के हो बुझ्नै सकिएन ।
प्रधानाध्यापक साह भन्छन् म शिक्षा शाखा प्रमुख सुवोध लामालाई पनि भेट्न गएँ । उहाँ भन्नुहुन्छ म त आदेशपालक हो । मेयर साहवले आदेश दिए म एक दिन मै काम सिध्याईदिन्छु । तर आदेश नै आउँदैन – अधिकृत लामाको भनाइ उद्धृत गर्दै प्रधानाध्यापक साहले मेयर श्रेष्ठकै मनमा गोलबजार स्कूलप्रति के भावना छ बुझ्नै सकिएन । उनले भने नगरपालिकाले पत्राचार गरेको एक सातामा आफूले व्यवस्थापन समिति गठन गरिदिने दावी गरे ।
नेपाली कांग्रेसका नेता चन्द्रदेव यादव भन्छन् यी मेयर ( श्याम श्रेष्ठ ) रहुञ्जेल गोलबजार स्कूलमा व्यवस्थापन समिति गठन हुँदैन । उनी स्वयं बाधक बनेर उभिएका छन् । आर्थिक अनियमितता छानविन गर्न समिति गठन भएको वर्ष नाघी सक्यो तर प्रतिवेदन सार्वजनिक भएन । होडमास्टर र मेयर बीच मिलिभगत छ । विद्यालयको अवस्था नाजुक छ । तपाई मिडियाहरुले यसलाई उजागर गरिदिनु प¥यो ।
वडा नं. ४ का वडाध्यक्ष सकलदेव यादव भन्छन् अब म आफै पहलकदमी लिन्छु । मेयर साहव र शिक्षा शाखाको भर परेर भएन । मेयर श्याम श्रेष्ठ निर्वाचित भएदेखि नगरपालिकाले गोलबजार स्कूलको लागि १ रुपैयाँ पनि बजेट दिएको छैन । यस विद्यालय प्रति उनको नियत सफा छैन । बरु मैले वडाबाट सकेजति गरेको छु । आगामी माघ २ गते पछि म व्यवस्थापन समिति गठनको लागि जोडबल गर्छु ।
वडा नं. ४ कै पूर्व वडाध्यक्ष राजदेव यादव भन्छन् घरमा अभिभावक नहुनु र विद्यालय एउटै अवस्था हो । सबै भताभुङ्ग र लथालिङ्गको अवस्था । गोलबजार स्कूलको हालत अहिले त्यस्तै छ । खासगरी मेयर श्याम श्रेष्ठको अन्तरमनमा गोलबजार वडा नं. ४ र ६ प्रति खराव मनसाय छ । उनी यहाँको हाटबजार, विद्यालय , शहरीकरण र लगायत सबै क्षेत्रको विकास ठप्प होस् भन्ने चाहन्छन् । उनले प्रशासकीय भवन पनि बनाउन चाहेका छैनन् । श्रेष्ठको चाहना , भावना र प्रयास हो चोहर्वा दरवार वरिपरी शहरीकरण गर्ने । गोलबजार स्कूलको अवस्था बिगार्नकै लागि यस विद्यालयलाई विवादको भुमरीमा मेयरले फसाई राखेका छन् ।
वयोवृद्ध वाम नेता रामजी यादव भन्छन् पहिले विद्यालयहरु मध्ये गोलबजार हाइस्कूलको सर्वत्र नाम आउँथ्यो तर अहिले यो विद्यालय थला परेको छ । शैक्षिक विकासको महत्व नै थाहा नभएको नेतृत्व आएपछि विद्यालयको यो दुर्दशा हुनु स्वभाविक हो । विद्यालय व्यवस्थापन समिति गठन हुन नदिएर गोलबजार स्कूलको हुर्मत लिइएको छ । यस क्षेत्रका बासिन्दा तत्कालै सजग हुनुपर्छ ।
नेकपा माओवादीका नेता रामचन्द्र सिंह भन्छन् मेयर श्याम श्रेष्ठले बुझेको विकास ग्राभेल छर्ने र त्यसबाट व्यक्तिगत शुभलाभ गर्ने हो । शैक्षिक उन्नति र समाजको विकासबारे उनलाई चिन्ता छैन , फिक्री छैन । शैक्षिक विकासको महत्वबारे बोध नै छैन । तीन वर्ष बित्न लाग्यो शैक्षिक क्षेत्रमा शून्य लगानी छ । गोलबजार नगरपालिका भित्र जस्तो सामुदायिक शिक्षाको बेहाल कही छैन । उनी आफैले पढेको विद्यालय गोलबजार स्कूलमा आजसम्म एक रुपैयाँ लगानी गरेका छैनन् । कहिले फर्केर पनि जाँदैनन् । बबुर रोपेर आँप फल्दैन – जनताले मेयरको बारेमा यति ठहर बनाए पुग्छ ।
वडा नं. ५ का वडाध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष बालकृष्ण गौतम भन्छन् विद्यालय व्यवस्थापन समिति भनेको मेरुदण्ड हो । त्यही नभएपछि विद्यालयको अवस्था त खराव हुने नै भयो । यसमा सबैको गल्ती छ । हेडमास्टर , नगरपालिका , अभिभावक र सरोकारवालाहरुको पनि । छिटो भन्दा छिटो विद्यालय व्यवस्थापन समिति गठन हुनुपर्छ ।
वाम वुद्धिजीवी दामोदर अधिकारी भन्छन् शिक्षाको महत्व बारे एउटा निवन्ध लेख्न लगाउने हो भने ७ कक्षाको विद्यार्थीले जति लेख्न नसक्ने नेतृत्वले शिक्षाको महत्व र शैक्षिक विकासको दूरदृष्टि कसरी कोर्न सक्छ ? समाज , शिक्षा र विकास प्रकृया बारे नगरपालिकामा चेतना र बोध भएको को छ ? साँझ परेपछि बदनाम गलीमा भिड लाग्नेहरुको झुण्डबाट के आशा गर्न सकिन्छ ? हाम्रो दुर्भाग्य यही हो ।
व्यवस्थापन समिति गठन नभएको बारे जिज्ञासा राख्दा नगरपालिकाका शिक्षा शाखा प्रमुख सुवोध लामा भन्छन् यहाँका स्थानीय अभिभावक, वुद्धिजीवी, व्यापारी, शिक्षाप्रेमी र सरोकारवालाहरुलाई चासो छैन । चासो भए पनि विवादमा अल्झिल्छन् । हामीले त पत्र काटी दिने हो गर्ने त विद्यालय र समुदायले हो । यसमा हामीले के गर्ने ?