१ जनवरी २०२५ बुधबार सबेरै गोलबजार नगरपालिका वडा नं. १० का एमाले कार्यकर्ता भीमबहादुर आलेलाई नेकपा माओवादी केन्द्र गोलबजारले अन्माएर आधारशिलामा हार्दिक स्वागत ग¥यो । प्रतिस्पर्धी राजनीतिक दल एमाले छोडेर आफ्नो पार्टीमा आएका भीमबहादुरको स्वागत अवीर , माला र जोशिलो भाषणबाट गरियो । उनीसँगै अन्य केही व्यक्तिहरुले पनि पार्टी फेरेको घोषणा गरेर आधारशिलामा कमरेड विश्वनाथसँग हात मिलाए । मुठी उचालेर अभिवादन पाए । पार्टी प्रवेशका तस्बिर र भिडियो सामाजिक सञ्जालमार्फत समाजमा छरपष्ट भयो ।
तर पार्टी अदल बदलको घोषणा भएको २४ घण्टा नबित्दै आधारशिला पसेका भीमबहादुरलाई डोली चढाएर एमाले जनहरुले कमरेड फुलेस्वर नायकको घरमा अवस्थित पार्टी सम्पर्क कार्यालयमा पु¥याए । त्यहाँ भीमबहादुरमाथि आधारशिलामा गरिएको तन्त्र, लागुभागू र टुनामुना सबै मन्साइयो । भीमबहादुर पुन छ्याङ्ग भए । उनले भने म आफ्नै पार्टी एमाले मै छु । हिजो खानपिन गर्न भनेर गएको , मलाई त माला र अवीर लगाइ दिए । पुरानो तस्विर पोष्ट गरेर भ्रम छरिदिए । वास्तवमा म एमाले मै छु । उनले लिखित र मौखिक वक्तव्य नै दिए ।
भीमबहादुर २०२८ सालदेखि नै कम्युनिष्ट पार्टीमा लागेका हुन् । उनी सेवा निवृत्त शिक्षक पनि हुन् । नेकपा माओवादी केन्द्रसँग चित्त कुढिएपछि उनी लीलानाथ श्रेष्ठको सम्पर्कमा आएर पार्टी फेरेका थिए । माओवादीबाट तीन वर्ष अघि एमाले बनेका भीमबहादुरलाई हिजो मात्र माओवादीमा फर्काउन कमरेड विश्वनाथ सफल भएका थिए । २४ घण्टा नपुग्दै बाजी पल्टियो । भिमबहादुर बिहिवार अर्थात २ जनवरी २०२५ मध्यान्ह पछि एमाले बनेका छन् ।
मिसन ०८४ का लागि एमाले र माओवादी बीच कार्याकर्ता तानातानको खेलो फडको घनिभुत रुपमा मञ्चन हुने कुरा भीमबहादुर माथिको तानातानले दर्शाएको छ । भीमबहादुर जस्तो वुद्धिजीवीलाई आफूतिर तानेर पार्टी बलियो बनाउने ध्येयले समाजमा कस्तो सन्देश जाला राजनीतिक दलहरुले आफै खुट्याउन् ।
मिसन २०८४ लक्षित कार्यकर्ता भित्र्याउन एमाले र माओवादीमा होडबाजी – तनातानमा बुद्धिद्धजीवी भीमबहादुर आले
प्रकाशित : २०८१ पुष १८ बिहीबार