सन्दर्भः क. दानी बहादुर थापाको १४ औं स्मृति दिवस संघर्षका प्रतिमूर्ति ः दानीदाइ

[sharethis-inline-buttons]

रामरिझन यादव
विक्रमको तीस र चालिसको दशकतिर काठमाडौंको वामवृत्तमा एउटा थेगो खुबै प्रचलित थियो – ‘सिरहाको रुखका पातहरु पनि रातो हुन्छन् ।’ पञ्चायती व्यवस्थाको कठोर कालरात्रीमा वामपंथीहरुबीच प्रचलनमा रहेको यो भनाइ अहिलेको पुस्ताको लागि एउटा पठनीय सामग्री बन्न सक्छ । अनुसन्धान र अन्वेषणको खुराक बन्न सक्छ । सिरहा जिल्लाको वर्तमान राजनीतिक स्वरुपले पनि अतीतको गरिमामय धरोहरलाई परिलक्षित गरेको देखिन्छ । गत चुनावले त सचित्र नै प्रस्तुत गरेको देखियो । जिल्लामा वामपंथीहरुको वर्चस्व यसको ज्वलन्त उदाहरण हो । वास्तवमा भन्ने हो भने जिल्लाको स्थापनाकाल २०१८ सालमा नेपाल कम्युनिष्ट पार्टी एकीकृत अवस्थामा भए पनि दरभंगा प्लेनमपश्चात पार्टी छिन्नभिन्न हुन थाल्यो । तर, सो प्लेनमबाट एकिकृत कम्युनिष्ट पार्टीको केन्द्रीय समितिमा पुगेका सिरहा कर्जन्हाका क. जयगोविन्द साहको साहासी र ओजस्वी नेतृत्वमा सिरहाली वाम आन्दोलनले जुन उचाइ प्राप्त गर्यो त्यसैको फलस्वरुप काठमाडौंको वामवृत्तमा प्रचलित यो थेगोले सिरहाको गरिमा बढाएको हो । यही ओजपूर्ण आन्दोलनका उत्पादन हुन् –क. दानी बहादुर थापा । जसले सिरहाको उत्तरी भेकमा रहेका किसान र मजदूरहरुको शोषण दमन र उत्पीडनलाई माक्र्सवाद लेनिनवाद तथा माओत्सेतुङग विचारधाराको सशक्त हतियार वर्ग संघर्षको माध्यमबाट नौलो जनवादी क्रान्ति सम्पन्न गर्न आफ्नो सम्पूर्ण जीवनलाई समर्पित गरे । आज तिनै विभूतिको १४ औ. स्मृति दिवसको अवसरमा केही कुरा कोर्न बस्दा अतीतका दिनहरु स्मरण भएर आएका छन् ।
वैभवपूर्ण जीवनबाट सर्वहाराकरण ः
कतिपयले भौतिकवाद र अध्यात्मवाद एक अर्काका पूरक हुन् भन्ने कुरा पनि नफलाकेका होइनन् । जतिबेला पार्टीगत वा व्यक्तिगत स्वार्थमा कहींकतैबाट ठेस पुगेको वा कमजोर पार्न थालिएको महसूस भयो भने त्यतिबेला नेताहरु आफ्नो निहित स्वार्थ अनुकूल विचार र सिद्धान्त प्रतिपादन गर्ने गरेको दखिन्छ । जो कालान्तरमा झुटो साबित भएका छन् । बहुदलीय व्यवस्थाको पुनस्र्थापनापश्चात् भ्रष्टाचारलाई संस्थागत बनाउने श्रेय गिरिजा प्रसाद कोइरालालाई जान्छ । तत्कालीन राजा ज्ञानेन्द्रले भ्रष्टहरुलाई ठेगान लगाउन थालेपछि माले, मशाले र मण्डले एकै हुन भन्न नथाक्ने कांग्रेस सुप्रिमो कोइरालाले विराटनगरमा आयोजित एक कार्यक्रममा अध्यात्मवादसंग भौतिकवादलाई जोडेर भाषण गरेको मैले सुनेको हूँ । अहिले पनि सिंहदरवारको सत्ताले गिरिजा प्रसाद कोइरालाको त्यो भनाइलाई चरितार्थ साबित गरेको छ । होइन भने रातारात ओली र देउबाले घाँटी जोड्ने थिएनन् । जब भूटानी शरणार्थी प्रकरण र गिरिबन्धु टी–स्टेट काण्डको अन्तर्यलाई तत्कालीन गृहमंत्री नारायणकाजी श्रेष्ठले गम्भीरतापूर्वक केलाउन थालेको सुँइको पाएका शेरबहादुर र ओली व्यक्तिगत स्वार्थको कारण सत्ता समीकरणको मतियार बन्न पुगे । ऐतिहासिक रुपले यो तथ्यलाई पुष्टि गर्न एउटा उदाहरण नै प्रयाप्त हुन्छ । तत्कालीन नेपालको माओत्सेतुङ्ग भनेर चिनिने मोहन विक्रम सिंहले गद्दार पुष्पलाल नामको पुस्तक लेखेकै हुन् । माओ र चायोको नामबाट परिचित क. निर्मल लामा र क. मोहन विक्रम सिंहको “तँ तँ र म म ” को व्यक्तित्व टकरावको कारण नेकपा(चौथो महाधिवेशन) फुटेकै हो । तर, नेताका यी व्यक्तिगत कुरालाई रतिभर प्रवाह नगर्ने कार्यकर्ताहरु आफ्नो सुख वैभवको जिन्दगीमात्र होइन, आर्जन गर्दै गरेको शिक्षाजस्तो पवित्र संस्कारलाई समेत बुर्जुवाको संज्ञा दिदै परित्याग गरेको इतिहास आलै छ । क. दानी बहादुर थापा तिनै इमान्दार र कर्तव्यनिष्ठ कार्यकर्तामध्ये एक थिए जसले आफ्नो वैभवशाली र उन्नतशील जीवनलाई यसरी सर्वहाराकरण गरे कि आज पनि उनको त्याग र तपस्या सिरहाली जनताको माझमा उदाहरण बनेको छ । विद्यार्थीकालमा नै धोवीबाट धोइएको कपडा लगाउने र सिरहा स्कूल पढ्न जाँदा उनको घोडाको सवारी हेर्नेहरु अझै पनि जीबित छन् । एउटा सम्भ्रान्त र मझौला खाले जमिन्दार परिवारमा जन्मेका क. दानी बहादुर थापाले सिरहाली क्रान्तिकारी कम्युनिष्ट आन्दोलनलाई उचाईमा पुर्याउन आफ्नो सम्पूर्ण जीवनलाई जसरी खर्चे त्यो सबै शोषित पीडित तथा उत्पीडितको लागि प्रेरणाको श्रोत बन्न पुग्यो ।
त्यसैले पार्टीगत, व्यक्तिगत तथा गुटगत स्वार्थको कारण सिद्धान्तलाई बङ्ग्याउने नेपाली नेताहरुको चालचलनले गर्दा नै आज मुलुकको यो दुर्दशा हुन पुगेको हो । भौतिकवादको भठ्ठीबाट उत्पादित कार्यकतालाई ब्रह्माले ब्रह्माण्डलाई चुटकीको बलमा श्रृष्टि गरेको उरन्ठ्याउले सिद्धान्तलाई जीवनमार्ग बनाउनेहरुसंगको सहकार्य कहिल्यै पनि टिकेको उदाहरण छैन । स्वार्थमा धक्का पुग्नसाथ त्यो बारम्बार भताभुङ्ग भएका छन् । सिरहा अम्बासको दुईतले घरमा क. पानबीर विश्वकर्माले केपी ओलीलाई साक्षी राखेर क. मदन भण्डारीलाई महासचिवको टीको लगाउँदा नेपाली वामआन्दोलन सत्तास्वार्थको लागि यति हदसम्म तल झर्छ भन्ने कुरा कहिल्यै चिताएका थिएनन् होला । त्यस्तै वर्ग दुश्मनलाई कुनै पनि हालतमा छोड्नु हुँदैन भन्ने पाठ पढाएका क.प्रचण्डले सत्ता र शक्तिको मदमा सिद्धान्त र विचारलाई भर्सेलीमा राखेकै हुन् । अध्यात्मवादमा जसरी एउटा देउता पूजिन्छ ठीक त्यसरी अहिले केही नेपाली नेताहरु बारम्बार प्रधानमंत्री हुनु देउतालाई पूज्ने सरह हो कि होइन भन्ने केलाउने बेला आएको छ । के क.पानवीर विश्वकर्मा र क. दानी बहादुर थापाजस्ता योद्धाहरुले अध्यात्मबादी पार्टी नेपाली कांग्रेससंग सहकार्य गरेर बारम्बार ओली र प्रचण्ड प्रधानमन्त्री बनुन् भनेर आफ्नो जीवनको आहुति दिएका थिए ? कदापि होइन । यतिमात्र होइन, ओखलढुङ्गा काण्डमा मारिएका क्याप्टन यज्ञबहादुर थापाले पनि गिरिजा प्रसाद कोइराला र शेरबहादुर देउवा देश र जनताको भलो चिताउनुभन्दा प्रधानमन्त्रीको कुर्सीको लागि प्रतिस्पर्धा गर्नेछन् भन्ने कुरा कहिल्यै सोचेका थिएनन् होला । होइन भने सुनकोशीको किनारमै बन्दूक फालेर उनी आफ्नो घरतिर लाग्थे । क. दानी थापाहरु पनि आफ्नो घरगृहस्थीमा रमाउथे ।
निरंकुश पञ्चायती व्यवस्था विरुद्ध यसरी बन्दुक उठाएका कांग्रेस र मालेले बहुदलीय व्यवस्थाको पुनस्र्थापनापश्चात् पार्टीलाई पञ्चायतीकरण गरेपछि त्यसको जगमा जनयुद्ध जन्मेको हो भन्नु पर्दा कुनै अतिशयोक्ति नहोला । यो जनयुद्ध जन्माउनमा प्रचण्डको पार्टी नेकपा (माओवादी) ले मात्र भूमिका खेलेको हो भन्छ भने त्यो माक्र्सको ऐतिहासिक भौतिकवादको विपरीत कुरा हुन जान्छ । एतिहासिक भौतिकवादले के भन्छ भने कुनै पनि बस्तुको वर्तमान–इतिहासको अवशेष हो । यसर्थमा माक्र्सवाद लेनिनवाद तथा माओेत्सेतुङ्ग विचारधाराको आधारमा नेपालजस्तो अर्धसामन्ती तथा अर्धऔपनिवेशिक मुलुकमा नयाँ जनवादी क्रान्तिद्वारा सत्ता हातमा लिने नेपालका क्रान्तिकारी कम्युनिष्टको आधारभूमि सिरहा पनि हो । जसको बारेमा काठमाडौंको वामवृत्तमा चर्चित भनाइ “पात पनि रातो हुन्छ ” भन्ने कुराले पुष्टि गर्दछ । क. दानी बहादुर थापाले आफ्नो वैभवपूर्ण जीवन तिनै नयाँ जनवादी क्रान्तिको लागि परित्याग गरेको तथ्य जगजाहेर छ । जसको जगमा जनयुद्ध भएको हो । होइन भने नेकपा(माओवादी) गठन हुनेवित्तिकै उसको वरिपरी यत्तिको कार्यकर्ता लामबद्ध हुने थिएनन् । त्यो माक्र्सवादी दर्शन ऐतिहासिक भौतिकवादको देन हो र क. दानी बहादुर थापा त्यसका ज्वलन्त प्रमाण हुन् । जनमोर्चा नेपाल माओवादीको भाइ कमरेड नै हुन् भन्ने कुरा आतंकवादी विधेयकको विरुद्धमा एक्लो क. लिलामणि पोखरेलको गर्जनले तत्कालीन संसद गुञ्जायमान भएकै हो । संसद र सांसदहरुलाई तताएकै हुन् ।
पार्टीगत स्वार्थ व्यक्तिगत स्वार्थमा रुपान्तरण ः
जसरी अध्यात्मवादले संसरभरी आफ्नो किल्ला गाडेको छ । दिनप्रति दिन अझ प्रगाढ बन्दै गएको तथ्य अहिलेको भारतबाट बुझ्न सकिन्छ । ठीक त्यसरी नै त्यसको विपरीत वादले त्यसलाई संसरभरी चुनौती दिइरहेको छ । किनकि, न्यूटनको तेस्रो नियमले के भन्छ भने ‘एभरी एक्सन हैज इक्वल एण्ड अपोजिट रिएक्सन ।’ अर्थात् कुनै पनि कार्यको प्रतिकार्य समान रुपले हुन्छ । कम्युनिष्ट पनि विश्वदर्शन भएकोले अध्यात्मले संसारभरी फैलाएका अन्धविश्वास, भ्रम तथा गलत अवधारणाहरु विरुद्ध त्यसले त्यसलाई खण्डन मण्डन गरिरहेको छ । विज्ञानमूलक सोचलाई स्थापित गर्न भरमग्दूर प्रयास गरिरहेको छ । नेपाली क्रान्तिकारी कम्युनिष्ट आन्दोलनमा स्थापित यो तथ्यलाई आत्मसात गर्ने नेताहरुको कुनै कमी छैन । तर, त्यसलाई बङ्ग्याउनेहरु पनि त्यतिकै छन् ।
कम्युनिष्ट सिद्धान्तमा व्यक्तिगत स्वार्थको कुनै गुन्जाइस छैन । उसको लागि पार्टी नै सबैथोक हो । पार्टीले निस्वार्थ भावबाट देशको लागि काम गर्छ र राष्ट्र र राष्ट्रियताको हकमा कहिल्यै झुक्दैन । कसैसंग सम्झौता गर्दैन । त्यसैले त क. दानी बहादुर थापाले आफूलाई जन्माएको बुवासंग पनि सम्झौता गरेनन् । मजदुरीको लागि भैरहेको आन्दोलनमा आफ्नै खेतमा काम गर्न जानबाट मजदूरहरुलाई रोके । बुबाले पार्टीको निर्णय नमानुन्जेलसम्म मजदुरलाई खेतमा काम गर्न दिएनन् । पछि बुबाले बाध्य भएर पार्टीको माग मानेपछि मात्र खेतमा काम गर्न अनुमति दिए । त्यतिबेला उनी नेकपा ( चौम) सिरहा जिल्लाका सचिव थिए । यस्तो अवस्थामा घरपरिवारले उनीप्रति कति आक्रोश पोखेको होला भन्ने कुरा अहिले सोच्दा व्यक्तिगत स्वार्थ नै सबैथोक हो भन्ने सोच्नेहरुलाई पत्याउनै गाह्रो पर्छ । तर, क. दानी बहादुर थापामात्र होइन यस्ता हजारौ निस्वार्थ कार्यकर्ताहरुले दिएको बलिदानबाट शोषित पीडितहरुले जो अधिकार प्राप्त गरेका छन् त्यो अहिले पनि आंशिक रुपमामात्र छ । यो आंशिकतालाई पूर्णतामा रुपान्तरण गर्ने अभिभारा बोकेकाहरु पद, पैसा र प्रतिष्ठामा निर्लिप्त भएपछि दानी थापाजस्तो निस्वार्थी नेताहरुको मानहानी हुन पुगेको हो । अहिले तराई मधेशमा स्कूलको पढाई छोडेर विदेश गैरहेका युवाहरुको आमाबुबाको कुरा सुनेर म जसरी छक्क पर्छु ठीक त्यसरी नै राजनीति सेवा होइन कमाउने धन्धा हो भन्ने टिप्पणीले वर्चश्व स्थापित गर्दै गरेको कुराले मलाई उद्वेलित पार्छ । पक्कै पनि यो सोचको बीजारोपण दलाल पूजिवाद र आसेपासे (क्रोनिक) पूजिवादबाट भएको हो भन्ने कुरामा कुनै दुईमत छैन । प्रश्न के हो भने हजारौ हजारले यही क्रोनिक क्यापिटल ल्याउन आहुति दिएका थिए त ? कदापि होइन । यदी होइन भने वामपंथीहरु सत्तामा पुग्दा यसका विरुद्ध के कस्ता कदमहरु चाले भन्ने प्रश्न नै अहम् हो । तर, अफसोच पार्टीगत सोचलाई दाउमा राखेर नेताहरु यति व्यक्तिवादी भए कि उनीहरु आफ्नोबाहेक अरुको बारेमा सोच्न फुर्सद नै पाएनन् । यदि त्यसो नहुँदो हो त ७० वर्षको हदम्यादलाई एमालेले किन खारेज ग¥योे ? कं प्रचण्डमाथि क. प्रभाकरले किन प्रश्न तेस्र्याए ? शेरबहादुर पाँच पाँच पटक प्रधानमन्त्री भैसकेको अवस्थामा छैठौ पटकको लागि किन सुरसार गर्दैछन् ? श्रमतीलाई विदेशमंत्री बनाउनुको अर्थ के हो ? गैरराजनीतिक पेशाबाट उक्लेका कोइरालाभाइ बहिनीहरुले खान्दानी विरासतको बलमा कसरी राजनीतिलाई आफ्नो पेवा बनाएका छन् ? जस्ता प्रश्नहरुले क. दानी बहादुर थापा, क्यापटन यज्ञ बहादुर थापा तथा क. पानवीर विश्वकर्माको भावनामाथि कुठाराघात गरेकै हो ।
क. दानी थापा बाँचेका जीवन ः
क. निर्मल लामाको शब्दमा २००७ सालको क्रान्ति असफल क्रान्ति हो । यद्यपि उनी पनि त्यस क्रान्तिका अभिन्न अंग भएर सहभागिता जनाएका थिए । त्यही असफल क्रान्तिकालीन समयमा तत्कालीन सप्तरीको १० वटा प्रगन्नामध्ये रामपुर प्रगन्नामा पर्ने जमदह गाउँमा बुबा नन्दीलाल थापा तथा आमा नयन थापाको कोखबाट दानी बहादुर थापाको जन्म भएको थियो । जमिन्दार परिवारमा जन्मेका क. दानी थापाको लालन पालनमा कुनै कसर बाँकी राखिएन । उनी आफ्नो गाउँकै स्कूलबाट प्राथिमिक तह पास गरेपछि सिरहा हाईस्कूलतिर लागे । त्यतिबेला सिरहा स्कूलको नाम श्रीचन्द्र हाई ईङ्गलिश स्कूल थियो । जो नेपालको पहिलो दरवार हाईस्कूल पछि दोस्रो हो । यो पंक्तिकार पनि त्यही स्कूलका उत्पादन हुन् । क. दानी थापाले सिरहा स्कूलबाट मैट्रिक पास गरे र उच्च शिक्षाकालागि काठमाडौंतिर लागे । त्यतिबेला एसएलसीलाई फलामे ढोका भनिन्थ्यो । पास गर्न साह्रै मुस्किल थियो । मलाई लाग्छ त्यतिबेला यस भेकमा मुस्किलले एक–दुई व्यक्ति मेट्रिक पास गरेका होलान् । कतिसम्म भने दुई दुई सय पूर्णङ्कको अंग्रेजी र गणित पढ्नु पथ्र्याे । दानी दाइभन्दा म धेरैपछि एसएलसी पास गरेको हूँ । तर कोर्स एउटै भएकोले मेरो बेलासम्म पनि एसएलसी फलामे ढोकासरह नै मानिन्थ्यो । मलाई याद छ मेरो बैचमा १२९ जना विद्यार्थी सम्मलित भएकोमा केवल १६ जना पास भएका थिए । ३ जना तेस्रो श्रेणी, १२ जना दोस्रो तथा म मात्र एक जना प्रथम श्रेणीबाट पास भएको थिएँ । जो कूल प्रतिशतको १३ हुन आउँछ । म कति इज्जत र प्रतिष्ठा पाएको थिएँ भन्ने कुरा मलाई याद छ । दानी दाइको पाला त झन् डा. बाबुराम भट्टराईको बैच हो । त्यस्तो परिस्थितिमा मैट्रिक पास गरेपछि घरपरिवारको इज्जत र प्रतिष्ठा पनि बढेको सबैले अनुभूत गरेका थिएँ । तर, घरपरिवारले प्राप्त गरेको प्रतिष्ठाप्रति उनले कहिल्यै चासो राखेनन् र पढ्दा पढ्दै कम्युनिष्ट आन्दोलनको संघर्षपूर्ण मैदनमा हाम फाले ।
दानीदाइको यो संघर्षपूर्ण कदमलाई केहीमात्रले सराहना गरे । धेरैले खेदो नै खने । घरपरिवारदेखि गाउँसमाज सबैले दुस्साहसपूर्ण कदमको रुपमा व्याख्या गरे । किनकि, त्यतिबेला देशको अवस्था नै त्यस्तै थियो । राजनीतिक पार्टीहरु प्रतिबन्धित थिए । कम्युनिष्ट पार्टी छिन्नभिन्न अवस्थामा थियो । अधिकांश नेताहरु भागेर भारतमा शरण लिएका थिए भने सयौंलाई समातेर जेलमा बन्द गरिएको थियो । कांग्रेस भागे पनि कम्युनिष्ट पार्टीका नेता तथा कार्यकताहरु भ्ूमिगत शैलीमा पार्टीको संगठन निर्माणमा लागेका थिए । यस्तो विषम परिस्थितिमा एउटा होनहार छोराले शिक्षाजस्तो पवित्र कामलाई बुर्जुवा शिक्षा भनेर तिलाञ्जली दिनु घरपरिपारको लागिमात्र होइन अपितु गाउँसमाजको लागि पनि अशोभनीय जस्तो थियो । तर, युवा मनले निर्णय लिइसकेपछि त्यसलाई फेरि फर्काउनु कति गाह्रो हुँदो रहेछ भन्ने कुरा दानी दाइको परिवारलाईमात्र थाहा हुन सक्छ । उनले आफ्नो परिवारको कुरा रत्तिभर सुनेनन् । पारिवारिक संस्कार र संस्कृतिको विपरीत सोच भएको दर्शनलाई आफ्नो जीवनको पथ बनाउन पुगे । जीवन मार्ग बनाए । अहिले पनि कतिपय व्यक्तिहरुले कम्युनिष्ट पार्टी गरिबगुरुवाहरुको हकमा काम गरेकोले धनीहरुको लागि माक्र्सवाद जहरको पुरिया हो भन्ने सोच रहेको पाइन्छ । तर, विश्वका एकजना धनाढ्य व्यक्तिका दार्शनिक छोरा फ्रेडरिक एन्जेल्स कसरी माक्र्सवादको अभिन्न अंग बन्न पुगे भन्ने कुरा क. दानी थापालाई थाहा भएर नै कम्युनिष्ट दर्शन अंगाल्न पुगेका होलान् जस्तो लाग्छ मलाई ।
तिनताका सिरहामा वर्ग संघर्षले चरमरुप धारण गरेको थियो । जिल्लाको उत्तरी भेकमा मजदुर आन्दोलनको नेतृत्व क. जयगोविन्द साहले गरिरहेका थिए । उनको सानिध्यमा कामरडेहरु विष्णुलाल वाइवा, काजीलाल वाइवा, इन्द्रलाल लामा, महेन्द्रलाल लामा, भिखरु पासवान, रामकुमार यादव, वीरबहादुर लामा, भालु राई, मनिलाल राई, सुवलाल राई, पुष्पलाल पाख्रिन, अविरमान थापा, सूर्यमान लामा, यमकुमार लामा, जगतनारायण साह तथा गुजन यादव लगायत व्यक्तिहरुले आ–आफ्नो गाउँठाउँबाट नेतृत्व दिइरहेका थिए । उनीहरुको बीचबाट नेकपा(चौम)ले क. दानी बहादुर थापालाई जिल्ला सचिवको जिम्मेबारी सुम्पिए । उनले जिम्मेबारी पाउनसाथ सिरहाली वाम आन्दोलनले दिन दुइ गुणा रात चौगुणाको दरले अभिवृद्धि गर्न थाल्यो । ज्याला (बोनी) आन्दोलनले गति पक्रन थाल्यो । सामन्तहरु थर्कमान भए । यसको मूलकारण उनको कार्यशैली थियो । उनी पार्टीको नीतिलाई बडो गम्भीरतापूर्वक अध्ययन गर्थे र त्यही अनुकूल लागू पनि गर्थे । उनको भूमिगत शैली आफ्नो नेता तथा केन्द्रीय सदस्य क. सूर्यनाथ रान यादवजस्तो थियो । त्यसैले सिरहा प्रशासनले बारम्बार उनको घर घेर्ने योजना बनाए पनि कहिल्यै पनि उनलाई फेला पार्न सकेनन । प्रहरी गाउँमा प्रवेश गर्नेवित्तिकै उनी जंगलतिर टाप कस्थे । कतिखेर जंगल पस्थे कसैलाई थाहा हुँदैन्थ्यो । सुराकीको भरमा दानीलाई गिरफ्तार गर्न आएका प्रहरी निराश भएर फर्किन्थे । वास्तवमा त्यतिबेला अहिलेको जस्तो प्रहरीको जालो थिएन । गोलबजारमा प्रहरी चौकी थिएन । सिरहामा मात्र थियो । कहिलेकाँही अस्थायी प्रहरी चौकी जस्तो खडा गरिन्थ्यो । कं जयगोविन्द साहको घरको अगाडि नै अस्थायी प्रहरी चौकी खडा गरेको इतिहास छ ।
त्यतिबेलासम्म उनको विहेमात्र होइन बालबच्चासमेत भैसकेको थियो । तर, पारिबारिक बोझलाई उनले कहिल्यै पनि पार्टीमाथि लादेनन् । घरपरिवारको जिम्मा नै छोडे । धन्य उनकी जीवनसाथी जसले चारचारवटा छोराछेरीलाई हुर्काए र चेतनशील नागरिक बनाए । सामान्य गृहणी भएर पनि उनले आफ्नो जीवनलाई छोराछोरीहरुको पालनपोषणमा जसरी व्यतीत गरिन् त्यही नै दानी दाइको लागि ठूलो उर्जा थियो ।
दानी दाइको भूमिगतकालको चर्चा मेरो गाउँ सन्हैठामा पनि हुने गथ्र्यो । त्यतिबेला म सिरहा स्कूलमा पढ्थे । हाम्रो गाउँका धेरै व्यक्तिहरुको खेतिपाती उनको गाउँ जमदह तेतरियातिर थियो जसलाई डोहटा भनिन्थ्यो । मलाई याद छ मेरो हजुरबुबा पर्ने उतिमलाल यादवको खेती पनि दानी दाइको गाउँमा पर्ने हुनाले उनी ओहोरदोहोर गरिरहन्थे । सम्भवतः उनको दोस्ती पनि दानी दाइको बुबासंग थियो । त्यसैले उनले यता घटेका घट्नाहरुको सविस्तार बखान गरेपछि हामी चञ्चले स्वभावका केटाकेटीहरु खुबै रमाएर सुन्थ्यौं । कसरी दानीले आफ्नै खेतमा मजदुरहरुलाई काम गर्न दिएनन् ? प्रहरी आएपछि एकछिनमै दानी कसरी वेपत्ता हुँदा रहेछन् ? यत्रो धनीको छोरा दुःखै दुःखको जीवन काटिरहेको हजुरबुबा उत्तिमलालको कुरा सुन्दा हामी अचम्म मानेर सुन्थ्यौ ।
एउटा अर्को संस्मरण पनि मसंग छ । मलाई नोकरीबाट राजीनामा गराएर कम्युनिष्ट आन्दोलनमा पूर्णकालीन बनाउने अहिलेका नेकपा(माओवादी केन्द्र) का उपमहासचिव गिरिराजमणि पोखरेल हुन् । तर, कम्युनिष्ट दर्शनबाट परिचित गराउने र यस विषयका प्रारम्भिक गुरु मेरो काका कमरेड रामकुमार यादव नै हुन् । उनको पहिलेको घर पनि सन्हैठा नै हो । जन्म पनि यही भएको हो । म हाईसकूल पढ्दासम्म उनको खेतीपातीको अवशेष सन्हैठामा छदै थियो । त्यसैले म बाल्यकालदेखि नै उनको घर धरमपुर कदिमाटोल आउने जाने गर्थे । एक पटक उनले मलाई कुरै कुरामा दानी दाइको छोरासंग आफ्नो छोरीको विहे गर्ने जिकिर गरे । त्यतिबेला उनको छोरी रेखा जन्मेकी थिइन् । म आश्चर्यचकित भए । यस्तो पनि कही हुन्छ ? एउटा यादवको घरमा मगरको विहे ? तर कालान्तरमा बाल्यकालको यो अज्ञानता जीवनको अभिन्न अंग बन्न पुग्यो । वास्तवमा त्यतिबेला अन्तर्जातीय विवाहको बारेमा मलाई केही थाहा थिएन । तर, कम्युनिष्ट पार्टीमा जातपात हुँदैन । ठूलाबडा र सानातिना पनि हुँदैन । सबै समान हुन्छन् भन्ने सोच भएकोले नै होला काका कामरेडले त्यसो भनेका थिए । उनलाई कक्षा दिन आएका मोहनविक्रम सिंह, निर्मल लामा, कमल कोइराला, भरतमोहन अधिकारीहरुले यसरी नै प्रशिक्षित पारेका थिए । तर, काका कामरेडले त दानी दाइको परिवारसंग आफ्नो बालबच्चाको अन्तर्जातीय विहे गरेनन् । म भने आफै पनि अन्तर्जातीय विहे गरे र दुइटै छोरीहरुलाई पनि अन्तर्जातीय तथा अन्तर्सामुदायिक विहे गर्न कुनै बाधा व्यावधान खडा गरिन ।
अन्त्यमा एक दिन लहानमा पार्टीको ठूलो कार्यक्रम थियो । हामी संगसंगै गोलबजारबाट हिड्यौं । दानी दाइ काकाका छोरा भाई पंचू थापाको मोटर साइकलमा थिए भन्ने कुरा म सम्झिरहेको छु । कर्यक्रम सकियो । हामी फर्किसकेका थियौं गोलबजार । त्यतिबेला म मूलतः गोलबजारस्थित विश्वनाथ दाईको घर तथा कहिलेकाँही पार्टी कार्यालयमा बस्थे । उनीहरु फर्किने बेलामा धनगढीनिर मोटर साइकल दुर्घटनामा परे । मोटरसाइकल हाँकिरहेका भाई क. पंचू थापाको घट्नास्थलमा नै मृत्यु भयो । तर, घाइते दानी दाइलाई बचाउन पार्टीले धेरै प्रयास ग¥यो । हेलिकोप्टरबाट काठमाडौं लगियो । भनिन्छ उनी बाँचेर पनि मरे । कैयौं दिनसम्म होस नआएको बेला भाई पंचूको बारेमा थाहा हुने कुरै भएन । साथीहरुले पनि पंचूको बारेमा केही भनेनन् । पार्टीको नेतृत्व गरिरहेका क. विश्वनाथ शाह तथा काका क. रामकुमार यादवले निर्देशन नै दिएका थिए कि क. पंचूको बारेमा दानी दाइलाई केही पनि नभन्ने । तर, कुनै न कुनै कुनाबाट उनले पंचू घट्नास्थलमा नै मरेको सुइको पाए । भाई पंचूको मृत्यु भयो भन्ने दुःखद समाचारले उनको शारीरिक अवस्था बिग्रन थाल्यो । पहिले त उनी मानसिक रुपमा थलिए । अन्ततोगत्वा भाईको यादमा प्राण त्यागे । यस्तो भातृप्रेम एउटा सही कम्युनिष्टमा मात्र हुन सक्छ भन्नेहरु पनि अहिले थुप्रै छन् । यसले पनि के पुष्टि गर्दछ भने उनी विद्रोही स्वभावका व्यक्ति थिए । युवा अवस्थामा उनले घरपरिवार छोडेर गरेको विद्रोह आफैमा सम्झिने लायक हुन् । विद्रोही व्यक्ति भगत सिंह र दुर्गानन्द झाजस्तै इमान्दार हुन्छन् । भगत सिंहले अग्रेजको संसदमा वम पड्काएर पनि भागेनन् तर राजा महेन्द्रमाथि बम हान्ने दुर्गानन्द झा भागेर पनि पुनः फर्के । विद्रोही स्वभावका व्यक्ति भावना प्रधान हुन्छन् । भावनात्मक बेगमा वग्छन् । यही भावनात्मक सोचले गर्दा दानी दाइले मृत्युको मुखबाट झण्डै बाँचेको जीवनलाई अन्त्य गरे । शब्द श्रद्धाञ्जली !
जगिया–जानकी कुटीर
सिरहा नपा–१९ सन्हैठा
२०८१÷६÷१४


प्रकाशित : २०८१ आश्विन १५ मंगलवार