गोलबजार नगरपालिकामा ः वेइमानीका सुत्र र सुत्रधारहरुबाट १ करोड ३० लाख रकम भ्रष्टाचार

[sharethis-inline-buttons]

भ्रष्टाचार गर्ने र पक्राउ नपर्ने कला र क्षमताको जीवित नमूना कही छ भने त्यो हो गोलबजार नगरपालिका । यहाँ दिउँसै रात पार्ने गरी तिलस्मी शैलीमा भ्रष्टाचार गरिन्छ । गणितको प्रश्न समाधान गर्न विद्यार्थीले सुत्र कण्ठाग्र गरे जस्तै गोलबजार नगरपालिकामा वेइमानीका सुत्र जानेकाहरु बग्रेल्ती छन् । भ्रष्टाचारका सुत्रधारहरु यति सिद्धहस्त छन् कि हाकाहाकी भ्रष्टाचार गरेपनि कसैले प्रश्न उठाउने र पक्राउ पर्ने रत्तिभर डर रहँदैन ।

असार को २५ गते आर्थिक वर्षको क्लोजिङ्ग हुन्छ । साउन महिनाभरी त नयाँ बजेट सञ्चालन गर्ने तारतम्य मिलाउनै लाग्छ । सिरहा जिल्लामै असोजको १० गतेसम्म कतिपय पालिकाहरुको खाता पनि सञ्चालनमा आएको छैन । तर गोलबजार नगरपालिकामा साउन १ गतेदेखि नै १ करोड ३० लाख बजेटको परियोजना सञ्चालनमा आएको छ ।

आर्थिक वर्ष २०८१÷०८२ को बजेटमा नगरस्तरीय योजनाका लागि १ करोड ३० लाख बजेट एकमुष्ट नगर प्रमुखले सञ्चालन गर्ने गरी विनियोजन गरिएको थियो । उक्त नगरस्तरीय बजेट नगर प्रमुख श्याम श्रेष्ठको एकल निर्णयबाट कथित विपद् शीर्षकमा रकमान्तरण गरियो । वडा वडामा बाढीले सडक भत्काएको भन्दै सडक मर्मतका लागि हरेक वडामा १०–१० लाख बजेट दिने निर्णय गरियो । तर यो बजेट विपद्को नाममा अमानतमा काम गर्ने गरी मेयर श्रेष्ठले आफ्नै नियन्त्रणमा राखे । उपभोक्ता समिति गठन गरिएन न त कोटेशन निकालियो न टेण्डर निकालियो । शाहजादामार्फत ठाउँ ठाउँमा ग्राभेल छर्केर ठूलो रकम अपचलन गर्ने कार्य भएको छ ।

विपद् व्यवस्थापन समितिले कहा कति क्षती भयो भनेर लगत संकलन गरेन । कहाँ कति रकम दिने भन्ने निर्णय र सिफारिस पनि गरिएन । न त डिजाइन र इष्टिमेट नै गरियो । सिधै शाहजादामार्फत देखावटी रुपमा ग्राभेल छर्ने काम सुरु भयो । बील भरपाई बनेर भुक्तानीको प्रकृया सुरु गरिएको छ । स्वयं वडाध्यक्षहरु भन्दैछन् हामीलाई के काम, कहाँ , कसरी र कसले ग¥यो भन्ने नै थाहा छैन ।

वडा नं. २ का वडाध्यक्ष सुकदेव सिंह भन्छन् विपद् व्यवस्थापन समितिले कुनै निर्णय गरेको छैन । सिफारिस पनि गरेको छैन । यो सबै मेयर साहेवको निर्णय हो । हरेक वडालाई १०–१० लाख दिने भन्नुभयो । नगर स्तरीय बजेट हो । नगरबाटै काम गराइयो । हामीलाई थाहा नै भएन कुन प्रकृयाबाट काम गराइएको हो ।

वडा नं. ५ का वडाध्यक्ष बालकृष्ण गौतम भन्छन् , विपद् शीर्षकमा काम भएकोले उपभोक्ता समिति पनि बनाउन परेन , टेण्डर वा कोटेशन पनि निकाल्न परेन । सिधै मेयर साहेबको रेखदेखमा अमानतमा काम भयो । हाम्रो वडाबाट बाढीले सडक बगायो भनेर लेखेर दियौं । हामीलाई त विकास चाहिएको हो । कसेले,कसरी, कति रकम खर्चेर विकास ग¥यो त्यसको खोजी गरेनौं । काम सम्पन्न भएको प्रतिवेदन पनि दिनु परेन । कति भुक्तानी भयो त्यो पनि थाहा भएन । सबै वडालाई १० लाख दिने भनिएको थियो । हाम्रो वडामा काम सम्पन्न भइसक्यो ।

असारमा भएको वर्षा र आएको बाढीले उत्पन्न गरेको विपद् ( आपतकालीन अवस्था ) को लागि गैर कानूनी रुपमा शीर्षक बदलेर बजेट दिइयो तर असोज आधाउधी बित्दा पनि वडा नं. ११ मा भने काम सुरु गरिएको छैन । वडा नं. ११ का वडाध्यक्ष सोयव अनवर भन्छन् हरेक वडालाई १० लाख दिने भनियो तर हाम्रो वडामा विपद् शीर्षकको रकमबाट अझै काम सुरु भएको छैन । बाढीले सडक टुटफुट भएको छ । नगरस्तरीय योजना हो । नगरपालिकाले आफै गरिदिने भनेको छ ।

वडा नं. १२ का वडाध्यक्ष गणेश मुखिया भन्छन् – नगरस्तरीय बजेट हो । १०–१० लाख सबै वडामा दिने भनेका छन् । काम कसले गर्ने , कसरी गर्ने हामीलाई केही थाहा छैन । जानुन् मेयर साहव कि जानुन हाकिम साहेव । हामीले सडक बिग्रेको स्थान देखाइदिएका छौं । अहिलेसम्म काम भएको छैन ।

नेकपा माओवादी केन्द्रका नेता रामचन्द्र सिंह भन्छन् , “यो कस्तो विपद् व्यवस्थापन हो ? आपतकालिन अवस्था भनेर उपभोक्ता समिति समेत गठन नगरी अमानतामा काम गर्ने गराउने तर ३ महिनामा पनि काम सुरु नगर्ने ? मेयरको हातमा भएको नगरस्तरीय बजेट सजिलो तरिकाले भ्रष्टाचार गर्ने उपाय निकालिएको हो । यो वेइमानीका सुत्र निकाल्ने सुत्रधार प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसी हुन् । उनलाई महारथ हाँसिल छ –कसरी भ्रष्टाचार गर्ने र पक्राउ पनि नपर्ने तरिकामा । १ करोड ३० लाख रकम विपद्का नाममा ग्राभेल छर्केर सातु फ्वाक्क पारे जस्तै सजिलै खाइदिए । ”

नेता सिंह भन्छन् , गोलबजार नगरपालिकामा असारमा त्यति ठूलो वर्षा नै भएको छैन जसले विपद् निम्त्याउन सक्छ । छिटफुट कतै सडक टुटफुट भएको भए पनि टालटुल गर्न त्यत्रो बजेट नै चाहिँदैन । सबै वडामा १०–१० लाखको बरावरी क्षती हुने गरी प्राकृतिक प्रकोप आउँदैन । प्राकृतिक प्रकोपले कतै बढी कतै कम क्षती गर्छ । त्यसकारण विपद्को नाममा सबै वडामा १०–१० बरावर वाँड्ने कुरा नै गलत छ । यो मेयरको हातमा भएको १ करोड ३० लाख बजेट  यसो ग्राभेल छरे जस्तो गरेर अपचलन गर्ने तौर तरिका हो । विपद् भने पछि उपभोक्ता समिति गठन गर्नु परेन । कोटेशन वा टेण्डर निकाल्न परेन । यो जनताको आँखामा छारो हालेर दिउँसै रात पार्न खोजिएको छ ।

नेकपा एकीकृत समाजवादीका युवा नेता सुरेश यादव भन्छन् , विपद् शीर्षकमा रहेको २५ लाख बजेट चलाइएकै छैन । साच्चै विपद् हो भने पहिले त्यो २५ लाख खर्च गरेर नपुगे जति मात्र अन्य शीर्षकबाट रकमान्तरण गर्न सकिन्थ्यो । तर कथित विपद्का नाममा मेयरको हातमा भएको बजेट जवरजस्ती विपद्का नाममा खर्च गरिएको छ । प्राकृतिक प्रकोपले सबै वडामा सडक मात्रै विगारेको छ र ? अनी सबै स्थानमा १०– १० लाखको बरावर क्षती गरेको छ र ? यादवले भने मेयरका छोरा सुमित श्रेष्ठ स्वयंले यो १ करोड ३० लाख को कथित विपद् बजेटको कमाण्ड हातमा लिएका छन् । ठाउँ ठाउँमा ग्राभेल छरेजस्तो गरिएको छ । गोलबजार नगरपालिकामा मेयरका छोराले गरेको कामको नापजाँच गर्न एक जना स्पेशल इन्जिनियर राखिएको छ । यो सरासर भ्रष्टाचार हो । ३० लाखको पनि काम नगरी १ करोड हजम गर्ने सजिलो मार्ग रोजिएको छ ।

नेपाली कांग्रेसका युवा नेता सुरेश साह भन्छन् साच्चै विपद् भएको भए सर्वप्रथम विपद् व्यवस्थापन समितिले क्षतीको लगत संकलन गर्नु पर्छ । त्यसपछि विपद् व्यवस्थापन समितिको बैठकबाट निर्णय गर्नु पर्छ । कुन स्थानमा कति खर्च लाग्छ भनेर प्राविधिकले इष्टिमेट र डिजाइन गर्नुपर्छ । त्यसपछि असार र साउनमै युद्धस्तरमा काम गरेर सिध्याउनु पर्ने हो । विपद् व्यवस्थापन समितिलाई थाहै नदिई बजेट शीर्षक बदलेर काम गर्नुको पछाडि नियत खराव देखिन्छ । असोजसम्म काम सुरु नगर्ने कस्तो विपद् हो ? १ करोड ३० लाख नगरस्तरीय बजेट सजिलो गरी पचाउन यो छलछाम गरिएको हो । साउन १ गते मा बैंक खाता खुलेको छैन , मेयर र प्रमुख प्रशासकीय अधिकृत बीच अख्तियारी आदान प्रदान भएकै छैन । तर १ करोड ३० लाख रकम खर्च गर्ने गरी परियोजना सुरु गरियो । वडा नं. २ , ३ र ५ मा त काम पनि सम्पन्न गरिएको बुझिएको छ । कतिपय स्थानमा हयुमपाइप राखिएको र ग्राभेल छरिएको छ । कतिपय वडाहरुमा काम गरिएकै छैन । तर काम सम्पन्न भएको बील भरपाई बनाएर भुक्तानी लिने प्रकृया सुरु गरिएको छ । भ्रष्टाचारको नाङ्गो स्वरुप प्रदर्शन गरिएको छ ।


प्रकाशित : २०८१ आश्विन १३ आईतवार