अर्जुन थपलिया
मुल्ला नसरुद्दिन मासुको परिकारका पारखी थिए । उनकी पत्नी गुलजान पनि मासु खाने मामिलामा लोभी थिइन् । एक दिन नसरुद्दिनले एक किलो मासु किनेर घरमा छोडे । आफू मदर्सामा पढाउन गए । पत्नीलाई अह्राएर गएका थिए ‘मासु मिठो पारेर पकाइ राख्नु ।’
पत्नीले मासु पकाउन थालिन् । मरमसला हालेर पर्परी भुट्न थालेपछि मासुको मिठो वासना चल्यो । पत्नीले एक चोक्टा कराहीबाटै झिकेर चाखिन् । क्रमश भुट्दै गइन् । घरी न घरी एक –एक चोक्टा झिक्दै ख्वाप्प मुखमा हाल्दै गर्न थालिन् । मासु पाकुञ्जेल आधा जति मासु खाइसकिछन् । त्यसपछि भात, दाल र साग पकाउँदै मासुको एक चोक्टा मुखमा हाल्दै । सुरैसुरमा मासु जति एकै चोक्टा बाँकी नराखी सिध्याइछन् ।
नसरुद्दिन घर आए । हात मुख धोएर खाना खान बसे । तर पत्नी गुलजान किंकर्तव्यविमुढ भएर टोलाइरहिन् । मुल्ला खान देउ भन्छन् तर पत्नी के गरुँ – के नगरुँको मुद्रामा यताउता हेर्छिन् । उनलाई गल्ती महसुस भइरहेको थियो । तर उनी बच्ने उपाय खोज्दै थिइन् । त्यसै घडीमा एउटा बिरालो आँगनमा देखा प¥यो । गुलजानले झटपट भनिन् , “ म साग टिप्न थालें , उ यो बिरालो पडकेले सबै मासु खाइदियो” । के गर्नु हजुरले गाली गर्नुहुन्छ भनेर चुप भएकी म ।
नसरुद्दिन जुरुक्क उठे । खुरुरु कुदेर बिरालो च्याप्प समाए । घरभित्रबाट तराजु झिकेर बिरालो जोखे । बिरालो ठीक्क एक किलो भएछ । नसरुद्दिनले पत्नीलाई प्रश्न गरे एक किलो मासु थियो र बिरालो पनि एक किलो छ । मासु यो हो भने बिरालो खोई – बिरालो यो हो भने मासु खोई ? पत्नी गुलजान चोर पक्रा परिन् । उनले स्वीकार्नै प¥यो मासु आफूले खाएको सत्य ।
मेयर साहबको पत्रकार सम्मेलनमा आमन्त्रित नभए पनि सहकर्मी पत्रकारहरुले खिचेको भिडियोबाट मैले केही ब्यहोरा जान्न पाए । मेयर साहब , नसरुद्दिनले बिरालो नजोखेर चुपचाप विश्वास गरेको भए गुलजानको बदमासी जगजाहेर हुने थिएन । त्यसकारण प्रश्न गरिनुपर्छ अर्थात बिरालो जोखिनु पर्छ । सर्वसाधारण जनताले प्रश्न गर्दैनन् । तर म सञ्चारकमी हुँ । मैले जम्माजम्मी बिरालो जोखेको हुँ र प्रश्न गरेको हुँ । चौथौ अंगको यही काम हो । पैसा कति थियो र विकास कति भयो ? कुन वर्गका लागि लक्षित विकास थियो र कुन वर्गलाई दिइयो ? विकास गर्दा कानून , नीति र नीयमहरु पालन गरियो कि गरिएन ? सुशासनको प्रत्याभूति भयो कि भएन ? यति हो मेरो बिरालो जोखाइ ।
उदाहरणका लागि एउटा प्रसंग । अन्न नभएर अनिकाल लागेको गाउँमा चामल बाँड्नु विकास ( राहतमुखी ) हो तर “ अधिकांश अन्न उब्जाउने तिमी श्रमजीवीहरुको घरमा किन अन्न छैन ” भनेर प्रश्न गर्नु वामपन्थ हो । दिइएको चामल भात पकाएर गाउँलेले भोक टारे । तर किन चामल छैन भन्ने प्रश्नले जनविद्रोहको आँधी सृजना ग¥यो । अन्न फलाउनेको शोषण विरुद्ध भोका पेटहरु संगठित भए । मैले पनि अलि फरक शैली अपनाए । किनकि वामपन्थी बिचारबाट ओतप्रोत छु । त्यसकारण मैले प्रश्न गरे , बिरालो जोखे । मेरो कलम निरुद्देश्य निष्प्राण होइन । मेरो जीवित अस्तित्व कलमको टुप्पोसम्मै छ । लेखनमा अभिप्राय छ , उद्देश्य छ र निहित स्वार्थ छ । त्यो के भने भ्रष्टाचार विरुद्ध जनता जागुन् र सुशासनको प्रत्याभूति खोजुन् । त्यसकारण म बिरालो जोख्दै छु र प्रश्न गर्दैछु । पैसा कति थियो विकास कति भयो ? मेरो हातमा हतियार छैन न मनमा हिंसाको कुत्सित र कलुषित भावना छ । मेरो हातमा मात्र एउटा कलम छ र हत्केलामा कोरिएका रेखाहरु छन् ।
सबैलाई थाहा छ सुनको मृग कहि कतै हुँदैन । तर पनि हामी भित्रको राम ( भ्रमित र लोभी आत्मा ) सुनको मृग पछाडि कुद्छ । जव सुनको मृगको पछाडि कुदिन्छ तव सीताको चोरी हुन्छ । अर्थात अन्तरआत्माको पतन हुन्छ । यसरी नै शासक भ्रष्ट हुन्छ । शक्तिले मैमत्त र अन्धो हुन्छ । अनि धृतराष्ट्रिय धृष्टता गर्नथाल्छ । राजनीतिलाई पथभ्रष्ट बनाउँछ । समाजलाई अराजकतातर्फ लैजान्छ । सामाजिक न्याय मर्छ । बलियाले कमजोरलाई क्वाप्पै खाने मत्स्य न्याय कायम हुन्छ । त्यसकारण समाजमा शासन गर्ने शासकलाई खवरदारी गर्ने कलम चलाउने चौथो स्तम्भ पत्रकार चाहिएको हो । मेरो आयतन सानो छ । सानो दायरा भित्र जहाँ म बस्छु ( गोलबजार क्षेत्र ) त्यहाँ भूमिका मञ्चन गर्छु । परिमाण अनुसार परिणाम के आउँछ हेर्छु । क्रमशःआयतन बढाउँदै जानेछु ।
भारतमा औरंगजेव राजा थिए । एक वृद्ध सुफी फकिर जो असाध्यै प्रतिष्ठित थिए , उनी सर्वाङ्ग नाङ्गो भएर हिँड्न थाले । समाजमा लोकलाज भयो । समाजका केही गन्यमान्यहरु राजाका गुनासो लिएर गए । उनीहरुले भने, महाराज ! सुफी फकिरलाई सम्झाइबक्स्योस् । लोकलाज भयो । समाजमा अनाचार फैलियो ।
औरंगजेव फकिरको कुटीमा गए । हात जोरेर भने बाबा वस्त्र छैन भने भन्नुस् –म रेशमी वस्त्र मगाउँछु । तर वस्त्र धारण गरी दिनुस् । समाजमा अनाचार फैलियो ।
फकिरले भने, औरंगजेव मसँग एउटा मजेत्रो छ । तिमीले मगाउन पर्दैन । तर यो मजेत्रोले मैले मेरो लाज नछोपेर तिम्रो पापलाई छोपि दिएको छु । यति भनेर फकिरले नजिकैको मजेत्रो ताने । सुफी फकिरले आफ्नो मजेत्रो खोलेर औरंगजेवको तरवारले काटिएका मानिसका टाउकोहरु ( नरमुण्ड ) छोपिराखेका थिए । फकिरले औरंजेवलाई सोधे “यो नरमुण्ड देखेर समाजमा हाहाकार फैलिन्छ कि मेरो वृद्ध लाज देखेर अनाचार फैलिन्छ भन ! ” तिमी तरवार फ्याक म मजेत्रो लगाउँछु ।
मेयर साहब , मजेत्रो एउटै छ । म पत्रकारिताको लाज छोपु कि तपाईको नगरपालिकामा भइरहेको भ्रष्टाचार छोपु ? जवसम्म गोलबजार नगरपालिकामा सुशासनको प्रत्याभूति हुँदैन तवसम्म हामी दुई मध्ये एक नाङ्गै देखिनु स्वभाविक छ । कुशासन हुँदाहुँदै म कलम बन्द गरुँ भने मेरो पत्रकारिता सर्वाङ्ग हुन्छ । भ्रष्टाचार उजागर गर्दा गोलबजार नगरपालिका ह्वाङ्गै हुन्छ । फरक यति हो सुफी फकिर आफु नाङ्गो भएर औरंगजेवको हाहाकारी अत्याचार छोपिदिएका थिए । म पत्रकार हुँ फकिर भइसकेको छैन ( यद्यपि फकिरीको मार्गमा हिड्ने प्रयत्न गर्दैछु ) । त्यसकारण भ्रष्टाचारलाई छोप्न सक्दिन । उजागर गर्नैपर्छ । यसो गर्दा कसैको कुशासन सर्वाङ्ग हुन्छ भने म के गर्न सक्छु ? जनता जाग्छन् भने म के गरुँ ?