किन आए सीपीसीका उच्च नेता जियानचाओ नेपाल भ्रमणमा ?

[sharethis-inline-buttons]

चिनियाँ  कम्युनिष्ट पार्टीका एक जना उच्च नेता हाल नेपाल भ्रमणमा रहेका छन् ।  दश दिनअघि चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का नवनियुक्त विदेश विभाग प्रमुख लिउ जियानचाओले नेपालका प्रमुख राजनीतिक दलका नेताहरुसँग भर्चुअल सम्वाद गरेका थिए । त्याे छलफललगतै उनी नेपाल आइपुगेका छन् ।

उनकाे भ्रमण चारदिनकाे रहेकाे कार्यतालिका छ । त्यसक्रममा उनले सरकारी उच्च अधिकारी बाहेक विशेष गरी नेपालका मुख्य मुख्य कम्युनिष्ट पार्टीका नेताहरूसँग भेटघाट गर्ने बताइएकाे छ ।

चिनियाँ उच्च अधिकारीको यो भम्रणलाई राजीतिकरुपमा अर्थपूर्ण रुपमा हेरिएको छ । यद्यपि विश्लेषक र कूटनीतिज्ञले भ्रमणलाई फरक फरक दृष्टिले हेरेका छन् । नेपाल भ्रमणका क्रममा उनले  प्रधानमन्त्री र परराष्ट्रमन्त्रीसँग भेट गरिसकेका छन् ।

त्यस्तै, राष्ट्रपतिसँग पनि भेट गर्ने कार्यतालिका रहेकाे छ ।

नेताहरुसँगको भेटवार्ताका क्रममा लिउले नेपालको पछिल्लो राजनीतिक अवस्था, दुई देशबीचको सम्बन्ध, नेपालमा बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) कार्यान्वयनको अवस्था र अमेरिकासँग भएको मिलेनियम च्यालेन्च कर्पोरेशन (एमसीसी) कार्यान्वयनका सवालमा चासो राख्ने बुझिएको छ ।

कूटनीतिक क्षेत्रका जानकारहरुका अनुसार नेपालले प्रतिनिधि सभाबाट एमसीसी व्याख्यात्मक घोषणा गरेसँगै बीआरआई परियोजनालाई लिएर चीन चिन्तित छ । नेपालले बीआरआई परियोजना अगाडि बढाउने प्रतिवद्धता जनाएपनि व्यवहारमा अघि बढाउन सकेको छैन ।

उनकाे नेपाल भ्रमणकाे मुख्य चासाेकाे विषय चाहिँ बीआरआई परियाेजना अगाडि बढाउनु र नेपालका कम्युनिष्ट शक्तिहरूलाई एक ठाउँमा ल्याउनु रहेकाे जानकारहरू बताउँछन् । कम्युनिष्ट पार्टीहरूलाई पूर्ववत नेकपाकै स्थितिमा पुर्याउनु वा त्यस्ताे स्थितिकाे व्यवस्था गर्न नसकिएकाे अवस्थामा कम्युनिष्टहरू एक ठाउँमा मिलेर अगाडि बढ्न सक्ने वातावरण बनाउनु उनकाे भ्रमणकाे उद्देश्य रहेकाे बताइएकाे छ ।


प्रकाशित : २०७९ असार २७ सोमबार