‘बामदेवकाे वाम एकता अभियान’ कति सम्भव ! कति असम्भव !

[sharethis-inline-buttons]

काठमाडाैं । राष्ट्रिय सभाका सांसद वामदेव गौतमले आफू फेरि कम्युनिस्ट पार्टीहरुलाई एकजुट बनाउने अभियानमा लागि पर्ने बताएका छन्। केही समयदेखि आफू कुनै पनि पार्टीमा संलग्न नभएको उल्लेख गर्दै सांसद गौतमले त्यसलाई फेरि एकीकृत गर्ने अभियानमा लाग्ने विचार गरेको र केही समयपछि त्यसको घोषणा गर्ने योजना रहेको बताए ।

तत्कालीन नेकपाका सचिवालय सदस्य समेत रहेका सांसद गौतमले कम्युनिस्ट पार्टीहरुलाई एकीकृत गर्नका लागि नै आफूले कुनै पनि नेताहरुको बारेमा टिकाटिप्पणी नगरेको दाबी गरे ।

उनले नेपाललाई एउटा समृद्ध समाजवादमा पुर्याउने आशासहित गठन भएको नेकपा पार्टीभित्रको आन्तरिक समस्याका कारण तीन वटा टुक्रामा विभाजित भएको बताए । उनले भने, ‘केही समयदेखि म नेपालको कुनै पनि पार्टीमा छैन । मेरो विचार कम्युनिस्ट पार्टीहरु फेरि एकजुट हुनुपर्छ भन्ने हो । मैले फेरि पार्टीलाई एकीकृत गर्ने, म फेरि कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्ने एउटा महाअभियानमा संलग्न हुने विचार गरेको छु । र, केही समयपछि म घोषणा गरेर त्यो काममा लाग्नेछु । सफलता प्राप्त हुन्छ कि हुँदैन ।’

पूर्वउपप्रधानमन्त्री समेत रहेका गौतमले नेकपा एकता पछि जनता खुसी भएको तर पार्टी भित्रकै उत्पन्न समस्याहरुले पार्टीलाई विभाजित गरेको बताए ।तर बामदेव गौतमको यस्तो भनाइ नौलो नभइ पुरानै भएको विश्लेषकहरू बताउँछन् ।

बामदेवको जनाधार र संगठनमा कुनै भूमिका नरहेकाले आफ्नो उपस्थिति जनाउनका लागि मात्रै यस्तो बोल्ने गरेको बामपन्थीशरु नै बताउने गर्छन् ।

गत वर्ष एमालेबाट विद्रोह गरी एकीकृत समाजवादी पार्टी बन्दा बामदेव गौतम कतै पनि नलागि तठस्थ बसेका थिए। तर एमालेको विरोध भने गरिरहेका थिए । यसको अर्थ उनको सहानुभुति विद्रोही शक्तिलाई छ भन्ने थियो । तर उनले एमाले पार्टीको कुनै पदबाट राजीनामा दिएका वा अलग भएका छैनन् । एमालेको कार्यक्रमहरुमा नगए पनि उनी हालसम्म पनि एमालेका उपाध्यक्ष नै हुन् ।

कतै पनि आफ्नो बलियो शक्ति देखाउने नसक्ने भएपछि सबैतिरबाट सहानुभुतिका लागि उनले बामपन्थी शक्ति एक हुनुपर्ने कुरा उठाएको जानकारहरु बताउँछन् । हुन त उनले उठाएका विषय सान्दर्भिक नै छन् र बामपन्थी शक्तिहरु एक हुनु जरुरी पनि छ । तर अहिलेको परिस्थितिमा त्यो थोरै पनि सम्भावना देखिँदैन । एमाले जस्तो ठूलो बाम शक्तिबाहेको बामपन्थी एक भएर पनि खासै अर्थ राख्दैन । त्यसैले बामदेव गौतमले उठान गरेका बृहत बाम एकताको प्रस्ताव पिँध नभएको लोडामा पानी भर्नु जस्तै रहेको बाम नेताहरुकै विश्लेषण रहेको छ ।


प्रकाशित : २०७९ असार ५ आईतवार