विनय आजाद ः सिरहाको माटोमा अंकुरित र पत्रकारिता क्षेत्रमा एक विद्रोही चेतनाको अभ्युदय

[sharethis-inline-buttons]

अर्जुन थपलिया
मधेशमा “ डोम ” एक जाति हो । तर नेपाली भाषामा “ डुम ” यसको अर्थ हुन्छ “अछुत ” । मधेशमा कथित अछुत बनाइएकाहरु मध्ये एउटा जाति हो “डोम ” तर पहाडमा कथित “पानी नचल्ने ” बनाइएका सबै जातिलाई “डुम” भनेर सम्बोधन गरिन्छ । मधेशमा अन्य दलितहरु पनि छन् तर डोमसँग अति निकृष्ट प्रकारको छुवाछुत गरिन्छ ।
“डोम” हुनुको पीडा म एउटा सानो घटनाबाट दर्शाउँछु । मेरो घरमा छेउमा एउटा इनार छ जुन अहिले सुक्यो । २०५७ सालतिर यही इनारबाट समग्र गुरुधाम गाउँले पानी पिउँथे । एक दिन निपानेका एक डोम जातिका व्यक्ति दिउँसो इनार छेउमा आइपुगे । उनले पानी मागे । मेरी बहिनी जो अहिले सांसद छिन् “सम्झना थपलिया” इनारमै थिइन् । उनले भनिदिइन्, यो इनार तिम्रो पनि हो । तिमी पनि मनुष्य हौं । आफै पानी भरेर खाउ । डोम डराइ रहेका थिए । नाइँनास्ति गर्दै थिए तर सम्झना थपलियाको क्रान्तिकारी कुरा सुनेर उनी उत्साही भए । इनारबाट आफै निकालेर पानी पिए ।
यो दृश्य एक जना कथित उपल्लो जातकाले देखेपछि होहल्ला मच्चाए । डोमलाई एक दुई झापड पिटेछन् । डोम ज्यान बचाएर भागे । गाउँमा तत्कालै बैठक बस्यो । समाजले निर्णय ग¥यो । डोमलाई इनार छुन अभिप्रेरित गर्ने थपलिया परिवारलाई नाकावन्दी लगाउने । इनार छुन नदिने । इनारको पानी सफा गर्ने । पूजापाठ गरेर चोख्याउने । यो निर्णय भए पछि हाम्रो परिवारले २४ घण्टासम्म इनार छुन पाएन । खानेपानीको एक मात्र साधन त्यही मात्र इनार भएकोले २४ घण्टासम्म हामीले २ किलोमिटर पर निपाने गाउँबाट पानी ल्याएर खायौं ।
म सप्तरीमा दलित आन्दोलनको नेतृत्व गर्दै थिएँ । मलाई खबर भएपछि म घरमा आएँ । मेरी आमाले भन्नुभयो , “तिमीहरुलाई क्रान्ति चाहिएको छ , परिवर्तन चाहिएको छ । लौ भन अब गाउँमा बिना पानीको कसरी बाँच्ने ? हामीलाई नै अछुत डोम बनाइ दिए । ” मैले बोल्नै नपाई मेरा पिताले आमालाई सम्झाउनु भयो । लौ भन त २४ घण्टा पनि पुगेको छैन हामीलाई डोम बनाएको । हामी कसरी बाँच्ने भनेर सोच्न थाल्यौं । ५ हजार वर्षदेखि डोम बनाइएका ती डोमहरु कसरी जीवित छन् ? कस्तो छ उनीहरुको जिन्दगी ? वास्तवमा जसरी डोम अभाव, र निकृष्ट अपमान सहेर बाँच्नु परेको छ त्यसरी २४ घण्टामात्र बाँचेर हेर्नुस त ! तपाईँले कि त आत्महत्या गर्न विवश हुनुहुन्छ कि बन्दुक बोकेर जंगल पस्नु हुन्छ ।
साँझ गाउँमा फेरि बैठक भयो । मैले दुईवटा कुरा राखे । मदन भण्डारीले प्रशिक्षण दिएको कोअर्डिनेशन कालदेखिको समुच्चा एमालेको लालकिल्ला भएको यो गाउँमा , यस्तै हो त तपाईहरुको चेतनास्तर ? अनि कानूनले अब छुवाछुतलाई वर्जित गरेको छ । तपाईँहरु सही बाटोमा नफर्किए म कानूनी बाटोमा जान्छु । संघर्षको मैदानमा त म छदैछु । त्यसपछि नाकावन्दी खुल्यो । हामीले इनार छुन पायौं । हामो परिवारले २४ घण्टासम्म डोम हुनुको पीडा भोगेको छ ।
जसलाई मर्म पर्छ त्यसको सही मर्मस्पर्शी त्यही व्यक्ति हुन्छ । तर अर्कालाई परेको मर्मको मर्मस्पर्शी हुन अद्वितीय प्रतिभा र विद्रोही चेत चाहिन्छ । राज्य र समाजले इतिहासको लामो कालखण्डदेखि “पानी नचल्ने ” बनाइएका जात जातिहरुले कथित अछुत हुनुको अपमान र पीडा भोगेको मर्म बुझ्न विनय आजाद जस्ता संवेदनशील र चेतनास्तर उठेको पत्रकार चाहिन्छ ।
समाज र सामाजिक सवालहरुको विश्लेषण गर्न नसक्ने पत्रकारहरुले मात्र दुर्घटनाको समाचार लेख्न सक्छन् । “फइभ डब्लु वान एच ” को फर्मुला पछ्याँउदै आफूलाई एउटा गोल्टिनमा बन्द गरिदिन्छन् । कुनै नेता, अभिजात्य वर्ग, तस्कर , अतिरिक्त कमाइ गर्न चाहने व्यपारी वा भ्रष्ट प्रशासक र प्रहरीको विरुदावली लेखेर चाटुकारिता गर्छन् । पत्रकारकै विरुद्ध सुराकी गरेर ख्वामितहरुको सेवा गर्छन् । एउटा भ्रष्ट जनप्रतिनिधिको बडाईँमा रिपोर्ट बनाएर टेलिभिजनमा प्रसारण गर्छन् र २०–२५ हजार पारितोषिक लिन्छन् । कलमघिस्सु हुनु मै उसलाई गर्व छ । उसलाई लेख्न आउँदैन तर कृत्रिम बौद्धिक डिजिटल मेसिनलाई ( आर्टिफिसियल इन्टेलिजेन्स ) लेख्न लगाएर समाचार सम्प्रेषण गर्छन् । नगरपालिकाहरुको सेवा गरेर विज्ञापनको तर मार्छन् ( छाल्ही खान्छ ) । काम गर्ने मिडिया हाउसले तलब दिन सक्दैन । उसलाई जिल्लामै उठाएर खाउ भनिएको हुन्छ । उसले आफूलाई त्यही अनुसार ढाल्छ र पेट्टुमल बन्छ । दीपक मरिकको घर भत्काइएको समाचार लेख्ने विनय आजादलाई पनि “पैसा खाउँ, नलेखौं ” भनेर फकाउँने निरर्थक प्रयत्न गर्छन् ।
त्यस्ता पत्रकारलाई २१ सौं शताब्दीको समाज, राज्य प्रणाली , वैश्विक द्वन्द्व, समाजको वर्गीय स्वरुप, विभेद, असमानता, गरिबीको कुचक्र र मानव–मानव बीचको जैविक तथा समाज शास्त्रिय सम्बन्ध बारे केही पनि पर्घेल्नु छैन । अध्ययन र जीवन पर्यन्त निरन्तर सिकाईसँग कुनै वास्ता छैन । वैंशालु उमेरमा आफ्नै पिठ्यु हेरेर आफैलाई घोर्ले देख्ने यी पत्रकारहरुका लागि पत्रकारिता टिकटकमा पोष्ट गर्ने एक रोमान्स हो । यसमा मंहगो रेष्टुरन्टमा बसेर सुस्वादु मान्साहारी भोजनसहित “सुरा ”को चुस्की लिने लालित्य छ । अहिलेको पत्रकारिताको दुर्भाग्य यही हो । यस्ता पत्रकारले समाजलाई घोर निराशातर्फ धकेलेको छ । भनिन्छ फगत एउटा रुख ढल्यो त के भयो । तर रुख ढल्दा धेरै चराहरुको गुँड पनि मासिन्छ । असर र प्रभाव परैसम्म जान्छ । चोहर्वा दरवारले एउटा होनहार हुन सक्ने पत्रकारलाई दास बनाएर एउटा रुख ढाल्न सफल भयो । उसले समाजलाई धेरै गुण लगाउन सक्थ्यो तर फगत चाटुकारमा सीमित बनाइदियो ।
पत्रकार विनय आजाद । समाजमा आशाको जुनकिरी बनेका छन् । समाजमा औरहीका दीपक मरिक जस्ता भित्तामा घचेटिएका वर्गले विनय आजाद जस्ता होनहार युवा पत्रकार पनि देखेका छन् , जसले मानव मर्यादा र सामाजिक न्यायका लागि अहोरात्र कलम चलाएका छन् । ज्यानको बाजी थापेर अविराम लेखेका छन् । लोभ लालच , जात कुटुम्ब र धम्की सबैलाई पन्छाएर पत्रकारिताको धर्म निर्वाह गरेका छन् । सवाल उठाए पछि तार्किक निष्कर्षमा नपु¥यासम्म निरन्तर पछ्याउने र लेख्ने पत्रकार हुन् विनय आजाद । उनले औरहीका दीपक मरिकलाई कथित अछुत भनेर उनको घरमा डोजर चलाउनेका विरुद्ध कलम चलाएर समाजमा “न्यायका उन्नायक ” बनेर देखाएका छन् । हजारौंमा एक निस्कछन् विनय आजाद । उनी सिरहामा प्रकट भएका छन् ।
पत्रकार आजाद ! उमेरले छतौरे भन्न सुहाउने । तर विद्रोही चेतनाले परिपक्व । आजाद पत्रकारिता र सवाल बीच एक आपसमा अन्योन्याश्रय सम्बन्ध हुन्छ भन्ने संवेदनशीलता बुझेका पत्रकार हुन् । समाज र पत्रकारको सम्बन्ध सवालमा आधारित हुन्छ । एउटा प्रतिभाशाली, तीक्ष्ण र प्रखर पत्रकारले राज्यको नीति र त्यसको आधारमा निर्माण भएको समाजको असमान बान्की राम्ररी ठम्याएको हुन्छ । म त्यो प्रतिभा र कुसाग्रता विनय आजादमा देख्दैछु । शोषण , दमन, उत्पीडन, सामाजिक न्याय र मानव अधिकारको हनन् तथा शक्ति संतुलनमा पछाडि पारिएका वर्गहरु प्रतिको मत्स्य न्यायले समाजलाई विरुप पारेको घटना र दृश्यले आजादलाई भत्भती पोल्छ । चिन्तालाई चिन्तनमा बदलेर समाधानसहितको सौन्दर्य शब्द चित्र कोरेर समाजलाई मार्गदर्शन गर्न सक्ने पत्रकार हुन् आजाद । पत्रकारिताको माध्यमबाट कमजोर वर्गको न्यायका लागि पैरवी गर्ने आजादको कटिवद्धता स्रहानीय छ ।
न्याय र समानतामा आधारित समाजको परिकल्पनालाई मनमा राखेर पत्रकारिता गर्ने पत्रकार सिरहाको माटोमा अंकुरित भएका छन् । उनी हुन् आजाद । समाजलाई यथास्थितिमा राख्नेहरुका विरुद्ध न्याय र समानताका पक्षमा कलम चलाउने एक विद्रोही चेतका धनी पत्रकार विनय आजादको अभ्युदयका लागि सिरहालीहरुलाई बधाई छ ।

 

युवा वयमा कदम राखेका पत्रकार विनय आजाद फगत एक व्यक्तिबाट एक महत्वपूर्ण व्यक्तित्वतर्फ अग्रसर भएका छन् । दीपक मरिकप्रति भएको मत्स्य न्यायको घटनामा उनको सहासिक अडान प्रशंसा गर्न लायक छ ।
आजादले अन्यायमा आधारित मुर्दाशान्तिको कुरुपता र न्याय तथा समानतामा आधारित समाजको सौन्दर्यलाई खुट्याएका छन् । यसैको आधारमा पत्रकारले आफ्नो लेखाईमा “सोसल इन्जिनियरिङ्ग”को परत केलाउँछन् । विनय भाइ , चरा आकाशमा उडिरहँदासम्म सुन्दर देखिन्छ । हातमा समाएको चरा कुरुप देखिन्छ । त्यसको मुख्य कारण के हो भने “ स्वतन्त्रता, आजादी ” । भाइको उपनाम नै आजाद छ । यो आजादी कहिल्यै नबेच्नु, नगुमाउनु । मानवताको सबैभन्दा सुन्दर पक्ष नै आजादी हो सिरहाको पत्रकारिताको आकाशमा एक अविस्मरणीय नक्षत्र हुनु । शुभकामना ।


प्रकाशित : २०८१ चैत्र २३ शनिबार