
“खैर,खुन,खासी,खुशी,वैर,प्रीत,मद्यपान
लाख छुपाओ नाछुपे जानत सकल जाहान ”
कवि रहिमनको यो पंक्तिको अर्थ हो पानको कत्था, हत्या , खोकी, खुशी, शत्रुता , प्रेम र रक्सीको लक्षण जति लुकाए पनि लुक्दैन । दुनियाँले थाहा पाइहाल्छन् । गोलवजारका मेयर श्याम श्रेष्ठले पनि छोरालाई सम्झाएका थिए , “ कुरा गोप्य रहोस् – बाहिर कतै नभन्नु ” । तर लक्का तन्नेरी छोराले खुशी र रवाफ धेरैबेर लुकाउन सकेनन् । आफैले तस्बिर खिचेर सार्वजनिक गरिदिए ।
दावानललाई प्राप्त तस्बिरमा अलिशान बंगलाको सामुन्ने गोलबजार नगरपालिकाको सरकारी गाडी राखेर मेयरका छोराले रवाफिलो पोजमा उभिएका छन् । यो कुनै होटल वा सरकारी निकायको घर होइन । मेयर श्रेष्ठले आफ्नो पुत्ररत्नलाई खुशी पार्न दिएको सानो उपहार बंगला हो । सूचना अनुसार मेयर श्याम श्रेष्ठले काठमाडौंको अति महंगो क्षेत्र कुपण्डोलमा झण्डै एक रोपनी जग्गा खरिद गरेर तीन तले भव्य बंगला निर्माण गरेका छन् । कुपण्डोल कूटनीतिक नियोग, अन्तर्राष्ट्रिय दातृ निकाय , संयुक्त राष्ट्र संघको नेपालस्थित मुख्यालय र अति धनाढ्यहरु बसोबास गर्ने अति महंगो क्षेत्र हो । मेयरले जग्गा खरिद गरेर यो घर छोराका लागि निर्माण गराएका हुन् । घरको आकृति (डिजाइन) हेर्दा राजसी ऐश्वर्य र सोख भएका धनाढ्यहरु बस्ने शैलीको छ । घरको आँगनमा पनि महंगो टायल छापिएको छ । घर भित्र विलासी संरचनाहरु निर्माण गरिएको छ । यो घर र जग्गामा मेयर श्रेष्ठले साढे १२ करोड लगानी गरेका छन् ।
सुत्रहरुले जानकारी दिए अनुसार गत वर्ष मेयर श्रेष्ठले काठमाडौको मुलपानी क्षेत्रमा ५ करोडमा घर जग्गा खरिद गर्न बैनाबट्टा पनि गरेका थिए । तर उनका परिवारजनलाई स्थान र घर मन नपरेको कारण बैना फिर्ता लिइएको थियो । बैना फिर्ता लिंदा कारोवार गरिएका व्यक्तिसँग सामान्य भनाभन पनि भएको थियो । अहिले खरिद गरिएको घर जग्गा मेयर श्रेष्ठले हेटौडामा रहेका आफन्तको नाममा पास गराएको सुत्रले जानकारी दिएको छ ।
नेकपा माओवादीका नेता रामचन्द्र सिंह भन्छन् काठमाडौमा मात्र होइन पेरिसमा पनि घर किन्न पाइन्छ तर आम्दानीको श्रोत देखाउनु पर्छ । ६ महिना अघि मात्र जानकी फाइनान्सले मेयर श्रेष्ठको परिवारको जग्गा लिलामीमा निकालेको छ । एकातिर ऋण तिर्न नसकेको देखाउने अर्कोतिर साढे १२ करोडको बंगला खरिद गर्ने । खोई चपाउने दाँत कुन हो ? देखाउने दाँत कुन हो ? मेयर नै जानुन ।
क्रान्तिकारी कम्युनिष्ट पार्टीका १३ नंं व्युरो सेक्रेटरी कमरेड विश्वास भन्छन्,“ गोलबजारमा मेयरको छुट्टै नयाँ बंगला निर्माण हुँदैछ । उता काठमाडौमा अर्को अलिशान महल किनेका छन् । ” कहाँबाट आयो धन ? मेयरको कति कमाई हुन्छ थाहा छैन । कुनै उद्योग व्यापार त छैन मेयर श्रेष्ठको । आम्दानीको श्रोत देखाएर जतिवटा घर किने पनि हुन्छ । मेयर हुनु अघि आफन्तले घर किनेको हो कि पछि ? मेयर श्रेष्ठले जग्गाको कित्ता नं. , घर कस्को नाममा छ आफैले सार्वजनिक गरिदिए झन् राम्रो । नत्र सम्पत्ति शुद्धिकारण वा अख्तियारले छानविन गर्नुपर्छ ।