मेयरलाई कमिसन नदिंदा ठेकेदारको भुक्तानी रोकियो, ठेकेदारले रिसले मेसिन खोलेर लगे ः दमारका जनता बैशाखको चर्को गर्मीमा पानी बिना काकाकुल

[sharethis-inline-buttons]

कहीँ नभएको जात्रा हाँडी गाउँमा भने झैं भ्रष्टाचारको नाङ्गो नाच गोलबजार नगरपालिकामा देख्न पाइन्छ । सुन्दै उदेक लाग्ने र जति घृणा गरेपनि कम हुने अवस्था गोलबजार नगरपालिकामा देखिएको छ ।

गोलबजार नगरपालिका वडा नं. ३ को दमार गाउँमा सञ्चालित खानेपानी योजनाको समरसेवल मोटर झिकेर ठेकेदारले लगेका छन् । ठेकेदारले मोटर झिकेर लगेको कारण खानेपानी वितरण बन्द भएको छ । एक सातादेखि दमार र पुराण्डी गाउँका जनता खानेपानी नपाएर काकाकुल भएका छन् ।

घटना विवरण अनुसार गोलबजार नगरपालिका वडा नं. ३ दमारमा खानेपानीको बोरिङ्ग जडान , पाइप लाइन ओछ्याउने , धारा निर्माण र पानी ट्यांकी निर्माणको ठेक्का ठेकेदार कम्पनीले सम्पन्न गरेको थियो । सम्पन्न योजनाको उद्घाटन गत फागुनमा गोलबजार नगरपालिकाका मेयर श्याम श्रेष्ठले गरेका थिए । एक घर एक धाराको नारा अनुसार घर घरमा पानी पुग्यो । स्थानीय जनताको वर्षौदेखिको खानेपानीको भुक्तमान टरेको र घरमा धाराबाट पानी झरेपछि दमार र पुरण्डीमा निकै खुशीयाली मनाइएको थियो । तर जनताको यो हर्ष अचानक बिस्मातमा रुपान्तर भयो । ठेकेदार कम्पनीले खानेपानीको बोरिङ्गबाट समरसेवल मोटर झिकेर लगेका छन् । खानेपानी वितरण नै बन्द भएको छ ।

ठेकेदारले समरसेवल मोटर किन झिकेर लगे भन्ने कुरा कुरा बुझ्न सम्पर्क गर्दा ठेकेदारसँग सम्पर्क हुन सकेन । तर वडा नं. ३ का वडाध्यक्ष धन प्रसाद लामा भन्छन् –“नगरपालिकाले ठेकेदारको भुक्तानी विगत ६ महिनादेखि रोकेर राखेकोले समरसेवल मोटर झिकेर लगेको र खानेपानी सप्लाई नै बन्द गराई दिएका छन् । लामा भन्छन् खानेपानी जस्तो प्राण बचाउने आधार बन्द गर्नु अपराध हो । ठेकेदारको रकम असुल्न पर्ने भए नगरपालिकासँग कानूनी लडाईँ लड्नु पर्छ । यसरी खानेपानी नै बन्द गर्न पाइँदैन । ” लामाले ठेकेदारको भनाइ उद्धृत गर्दै भने, “ मैले ठेकेदारसँग सम्पर्क गर्दा उनले नगरपालिकाले रकम भुक्तानी नदिएसम्म खानेपानी वितरण गर्न नदिने अडान लिएको बताए । ”

नगरपालिका भित्रका सुत्रहरुले जानकारी दिए अनुसार ठेकेदार र मेयर बीच कमिसनमा कुरा नमिलेर तनाव उत्पन्न भएको हो । मेयरले मागे जति ठेकेदारले कमिसन दिन नसक्ने भने पछि उनको भुक्तानी रोकिएको हो । भुक्तानी रोकेपछि मेयरलाई दवाव दिन ठेकेदारले खानेपानी योजनाको मेसिन नै खोलेर लगेका छन् । मेयर र ठेकेदारको टकरावमा दमार र पुराण्डीका जनताले चर्को गर्मीमा पानी नपाएर सास्ती भोग्नु परेको छ । आजै दमार र पुराण्डीका जनता गोलबजार नगरपालिका घेराउ गर्न आउन लागेको हेम ठटालले बताए ।

वडाध्यक्ष लामा भन्छन् मैले स्थानीय जनतालाई सम्झाएको थिए , मेसिन घरको चावी नदिनु भनेर तर फकाएर चावी मागेर मेसिन खोलेर लगेछन् । बित्याँस पारेको छ । उनले भने नियमानुसार काम गरेको भुक्तानी दिनु नगरपालिकाको पनि कर्तव्य हो ।

 


प्रकाशित : २०८२ बैशाख २४ बुधबार