
मधेश प्रदेशको धनुषा जिल्लामा नेकपा एमालेको जिल्ला अधिवेशनमा भयानक हिंसात्मक उपद्रव भएपछि भाँडिएको छ । जिल्ला अधिवेशन उद्घाटन सत्र शान्तिपूर्ण रुपमा सम्पन्न भएपनि बन्द सत्रबाट विवाद चुलिदै गयो । अन्ततः सर्वसम्मत रुपमा नेतृत्व चयन नहुने भए पछि चुनावी प्रकृयाबाट नेतृत्व छान्ने निधो भयो । आज चुनावका लागि मनोनयन सुरु हुनु अगावै कमरेडहरु एक आपसमा हानाहानमा उत्रिए । सुरुमा कुर्सी तोडफोड , धक्कामुक्की र होहल्लामा सीमित भए पनि पछि कमरेडहरुले एक अर्काको खप्पर फोडाफोड गरे । लाठी र रड लिएर आएका नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा मधेश प्रदेशका इन्चार्ज लीलानाथ श्रेष्ठ पक्षका कमरेडहरुले पार्टीका केन्द्रीय सचिव रघुवीर महासेठ समूहका कमरेडहरुलाई रामधुलाई गर्दा सत्य नारायण महासेठ र जिल्ला अध्यक्ष राजकिशोर यादव लगायत ४ जना कमरेडहरु रक्ताम्मे भए । कठबासको लाठो बजारेर उनीहरुको टाउको फुटालियो । जिल्ला अधिवेशन स्थल हाहाकार मच्चाउने रक्तरञ्जित युद्ध स्थल बन्यो । निर्वाचन प्रकृयाका लागि तयार पारिएको कागजातहरु पनि सबै नष्ट भए । एक थान कम्प्युटर पनि फुटालियो । सुरक्षाकर्मीहरुलाई स्थिति सम्हाल्न हम्मेहम्मे प¥यो ।
जिल्ला अधिवेशन स्थलमा डरलाग्दो हिंसात्मक घटना भए पछि एमाले धनुषाको जिल्ला अधिवेशन भाँडिएको छ । निर्वाचन गराउन आएका केन्द्रीय निर्वाचक मण्डलका कमरेडहरुले पनि लात्ती र मुडकीको प्रहार खप्नु प¥यो । उनीहरु किंकर्तव्यविमुढ भएका छन् । उनीहरुले निर्वाचन प्रकृया अनिश्चितकालका लागि स्थगित गरेको जानकारी दिएका छन् । जिल्ला अधिवेशनमा नेतृत्व छान्न आएका प्रतिनिधि कमरेडहरु घर फर्किएका छन् । घाइते कमरेडहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
हिंसात्मक झडप पछि रघुवीर महासेठ र लीलानाथ श्रेष्ठले आ–आफ्नै तरिकाले पार्टी अध्यक्ष केपी ओलीलाई रिपोर्टिङ्ग गरेका छन् । दुबै नेताले एक अर्कामाथि हिंसात्मक आक्रमण गराएको आरोप लगाएका छन् । जनकपुरको अप्रिय स्थितिबारे जानकारी पाएपछि पार्टी अध्यक्ष ओलीले जिल्ला अधिवेशन र चुनाव तत्काललाई स्थगित गर्नु भन्ने निर्देशन दिएको थाहा भएको छ । जनकपुरमा भएको यो षडयन्त्रमूलक आतंक र हिंसात्मक घटनाको छानविन र दोषीहरुमाथि कारवाहीको माग गर्दै पार्टी सचिव महासेठले अध्यक्ष ओलीलाई फोन गरेका थिए ।
लीलानाथ श्रेष्ठले मधेश प्रदेशका भौतिक योजना मन्त्री सरोज यादव, फोरमबाट एमाले प्रवेश गरेका उमाशंकर अरगरिया र संजीव झालाई हात लिएर रघुवीर महासेठ पक्षीय नेता तथा कार्यकर्तामाथि सुनियोजित आक्रमण गराएको आरोप रघुवीर पक्षले लगाएका छन् । केही कार्यकर्ताले पार्टीको अधिवेशनमा ज्यान नै जाने सांघातीक आक्रमणको सामना गर्नु पर्दा पार्टी नै परित्याग गरुँ जस्तो लागेको बताए ।
घटनास्थलमा एक कार्यकर्ताले भने लीलानाथ श्रेष्ठले सिरहाको बदला धनुषामा आएर लिएका छन् । लीलानाथ श्रेष्ठको गृह जिल्लामा रघुवीर पक्षीय अध्यक्ष छानिएपछि उनले आफ्नो तेजोबध भएको ठानेका थिए । त्यसको बदला लिन उनी धनुषामा योजना बनाएर आएका थिए । सिरहामा कुनै हालतमा चुनाव हुन नदिएका श्रेष्ठले धनुषामा रघुवीर पक्षीय नेतृत्वलाई सर्वसहमतिमा आउन नदिन चुनाव गराउन राजी भए । चुनावमा पनि रघुवीर पक्ष हावी हुने देखेपछि महोत्तरी, धनुषा र सिरहाबाट समेत लठैत लगेर अधिवेशन स्थलमा आक्रमण गराएको रघुवीर पक्षीय कमरेडहरुले आक्षेप लगाएका छन् । श्रेष्ठले आफ्नो पक्षको हार हुने देखेपछि हंसात्मक घटना घटाएर अधिवेशन भाँडेको महासेठ पक्षको आरोप छ ।
लीलानाथ श्रेष्ठको सुनियोजित आक्रमणबाट कुटाई खाएका रघुवीर पक्षीय कमरेडहरुले प्रतिकारमा आक्रमण गर्न खोज्दा महासेठले रोकेका थिए । उनले हिंसाले कसैको भलो नहुने र वर्चस्व कायम गर्ने उद्देश्यसहित अधिवेशन भाँड्न श्रेष्ठले गरेको निर्घिनी कार्यले पार्टीलाई ठूलो क्षति पु¥याएको भन्दै थप हिंसा गर्न नहुने भनेर कार्यकर्तालाई संयम गर्न आग्रह गरेका थिए । पार्टी सचिव रघुवीर महासेठले लीलानाथ श्रेष्ठको षडयन्त्र असफल पारिने दृढ संकल्प व्यक्त गरेका छन् । अधिवेशन स्थलबाट रक्ताम्मे कार्यकर्ताहरुलाई उद्धार गर्दै महासेठले श्रेष्ठलाई फोन गरेर यो ब्लडसेडिङ्गको जिम्मेवारी श्रेष्ठले लिनुपर्ने भनेका थिए ।
धनुषाको रंक्तपातपूर्ण आक्रमण र प्रत्याक्रमणले नेकपा एमाले मधेश प्रदेशमा पार्टी सचिव महासेठ र स्थायी कमिटी सदस्य श्रेष्ठ बीच दुई गुटले ठोस आकार ग्रहण गरेको छ । दुबै पक्षका कार्यकर्ताहरु बीच मनोमालिन्य बढेको मात्र नभई शत्रुतापूर्ण कटाक्ष हुने गरेको सतह मै देखिन थालेको छ । मिसन ८४ भन्दै हिँडेको एमालेलाई यी दुई नेता बीचको टकरावले ठूलो क्षति गराउने लख काट्न थालिएको छ ।
धनुषामा भएको रक्तपातपूर्ण भिडन्तले लीलानाथ श्रेष्ठको इञ्चार्जशिप असफल भएको र उनलाई तत्कालै मधेश प्रदेशको इञ्जार्जबाट हटाउनु पर्ने माग हुन थालेको छ । सिरहा र सप्तरी जिल्लामा पनि श्रेष्ठको कारण पार्टी भित्र गुट झांगिदै गएको र ध्रुविकरण प्रकृया पनितीव्र भएको छ । सप्तरीका सिरहा र धनुषा लगायत मधेशका ७ वटै जिल्लाका महासेठ पक्षका नेताहरुले श्रेष्ठलाई मधेश प्रदेशको इञ्जार्चबाट नहटाए पार्टी दुर्घटनामा पर्ने र ०८४ मा ठूलो क्षति बेहोर्नु पर्ने बताउन थालेका छन् ।