एमाले सिरहाको ११ हौं जिल्ला अधिवेशनमाथि एक विहङ्गम दृष्टि – २०८४ पछि लीलानाथ श्रेष्ठको राजनीतिक अध्यायको “कायेन वाचा”

[sharethis-inline-buttons]

अर्जुन थपलिया

आज २०८२ को पहिलो दिन । बैशाख १ गते । पूरै समाज सलहेश फुलवारी मेला र जुडशीतल ( सिरुवा पर्व ) को अतिरेकमा उल्लास मनाउँदै छन् । २०८४ आउन अब ठ्याक्कै २ वर्ष बाँकी छ । २०८४ को आरम्भमै धेरै राजनीतिक दल र तिनका नेताहरुको जरो–किलो उखेलिने हो कि झन् झाङ्गिएर विशाल वटवृक्ष हुने हो – फैसला हुने वर्ष हो । तर सिरहामा २०८१ को अन्तिम दिनसम्मको परिदृश्य हेर्दा चोहर्वा दरवार र त्यहाँका मोग्याम्बो नेताको लागि शुभ संकेतहरु देखिएका छैनन् । निकट विगतका कृयाकलापहरुमाथि एक विहङ्गम दृष्टि दौडाउँदा आगत सहज छैन भन्ने प्रष्ट हुन्छ । एक पलयंकारी स्खलन र क्षयीकरणले गाँजेको प्रष्ट देखिन्छ ।
सुरुवात गरौं – जिल्ला अधिवेशनको पहिलो छलफलबाट । सिरहा जिल्लाको ११ हौं अधिवेशन गत वर्ष जेठ महिनामै गर्ने निधो भएको हो । तर आफुले चाहेको “बुख्याँचा” जिल्ला कमिटी बनाउने अनुकुल राजनीतिक वातावरण बनाउन नसक्दा एक वर्षमा ५ पटक अधिवेशनको तिथिमिति सारियो । तैपनि आफू अनुकुलको “बुख्याँचा” ल्याउन सफलता मिलेन । चोहर्वा दरवारका मोग्याम्बोको पहिलो हार यहीँबाट सुरु भयो । जवकी यस अवधिमा यिनले स्थायी समितिका सदस्य र मधेश प्रदेशका इञ्चार्ज जस्तो शक्तिशाली पदोन्नति हाँसिल गरेका थिए । त्यो अपार शक्ति पनि जिल्ला अधिवेशनमा हार टार्न पर्याप्त भएन । विगत एक वर्षमा यिनले जिल्लामा परिस्थिति अनुकुल बनाउन अनेक प्रयत्न गरे । तर जति पृष्ट समेटे पनि राजनीति यिनको हातबाट छरिएको कथामा परिणत भयो ।
मधेश प्रदेशमा केन्द्रीय कमिटीले नै खासगरी पार्टी अध्यक्ष केपी शर्मा ओलीले नै द्वन्द्वको बिजारोपण गराएका हुन् । मधेशमा मधेशी पार्टी सचिव रघुवीर महासेठ हुँदाहुँदै बरिष्टताको ख्याल नगरी कनिष्ट त्यो पनि गैर मधेशी नेता लीलानाथ श्रेष्ठलाई स्थायी समितिमा बढुवा गरेर मधेशको इञ्चार्ज बनाइयो । यो सिधै–सिधै मधेशी नेता रघुवीर महासेठको तेजोवध गरिएको थियो । जसले गर्दा द्वन्द्व स्थायी रुपमा जन्मियो । मधेशमा रघुवीर र लीलानाथ दुई गुटको जन्म भयो र कलहको पारा दैनिकजसो माथि चढदै छ । दुई नेता बीच लगभग “पानी बाराबार ” को स्थिति उत्पन्न भइसक्यो भन्दा अतिशोयुक्ति नहोला ।
सुषुप्त अवस्थामा रहेको रघुवीर लीलानाथ गुटगत द्वन्द्व सिरहा जिल्ला अधिवेशनमा सतहमा देखिने गरी छताछुल्ल भयो । एक अर्का बीच मिडियाबाजी र आरोप प्रत्यारोप सुरु भयो । खुलमखुला रुपमा एक अर्को गुट विरुद्ध बैठकहरु हुन थाले । एकले अर्कोलाई पछारेर मधेशमा राजनीतिक वर्चस्व कायम गर्ने अस्वस्थ प्रतिस्पर्धा सुरु भयो । जुन तथ्य र सत्यहरु पर्टी अध्यक्ष ओलीले आफैले दृष्टिगोचर गरे ।
जिल्लाबासी सबैलाई थाहा छ लीलानाथ श्रेष्ठ हत्तपत्त कसैको घरमा जाँदैनन् । आफ्नै पार्टीका हुन् वा विपक्षी पार्टीका उनीसँग भेट गर्न वा कुनै बिन्ती बिसाउन, उनकै बिडी कारखानामा पुग्नु पर्छ । लाइनमा दर्शन भेटको पालो कुरेर दरवारको पटाङ्गिनीमा बस्नु पर्छ । तर यस पटक नदी उल्टो वग्यो । लीलानाथ पहिलो पटक एमाले नेता गंगा यादवको घरमा पटक–पटक पुग्नु प¥यो । जिल्ला अधिवेशनमा आफ्नो पक्षमा राणनीतिक योजना लागु गर्न सघाउने कोही भइदिएनन् । अनुनय विनय गरेर माननीय गंगा यादवलाई आफ्नो पक्षमा पारे ।
जिल्ला अधिवेशनको उद्घाटन सत्रमा पार्टी अध्यक्ष ओलीलाई ल्याउन सक्नु उनको सफलता थियो । तर टाउको गन्ति गरेर कमसेकम ४० हजार मास उतार्ने योजना र घोषणा हावादारी सावित भयो । एउटै व्यक्तिलाई ५ पटक गन्दा पनि ४० हजार मास पुगेन । जिल्ला अधिवेशनका लागि दवाव दिएर चन्दा उठाएको, पालिकाको बजेटबाट पार्टी कार्यकर्ताहरुलाई इन्धन बाँडेको तर मिडियाको नजर छल्न नसकेर सुशासनको फोस्रो धाक उदाङ्गो भयो । जिल्ला अधिवेशनमा मास ओसार्न पालिकाको बजेटबाट इन्धन बाँडेको घटनाले राष्ट्रिय स्तरमा छवि धमिलियो ।
अरुलाई हानेको हतियार फर्केर आफ्नै खुट्टमा बजारियो भने त्यसलाई बुम¥याङ भनिन्छ । निम्तो काण्ड लीलानाथका लागि बुम¥याङ्ग सावित भयो । सिरहा जिल्ला अधिवेशनमा पार्टी सचिव रघुवीर महासेठलाई अपमानित गर्ने मनशायपूर्वक यिनले निम्तो पठाएनन् । मिडियामा त्यो समाचार आएपछि बालुवाटार सचिवालयमार्फत अध्यक्ष ओलीलाई थाहा भयो । उनले तत्कालै निम्तो पठाउने आदेश दिए । लीलानाथले मरिच चाउरिए झैं चाउरिएर निम्तो पठाउनु प¥यो । उता अध्यक्ष ओलीले रघुवीर महासेठ र जुली महासेठ पतिपत्नीलाई नै आफैसँग हेलिकप्टरमा बसाएर सिरहा ल्याए । यो घटनाले यिनको नियत पार्टी अध्यक्ष ओलीको नजरमा प्रष्ट भयो ।
लीलानाथको कपट र राजनीतिक अपराध तव उदाङ्गो भयो जव पार्टी अध्यक्ष ओलीले बीचैमा भाषण रोकेर दर्शकदीर्घामा बसेका सिरहा जिल्लाका एमाले राजनीतिका भीष्म पितामह मानिने नरेन्द्रराज पोखरेललाई बोलाउन पठाए । लीलानाथका झोल चोक्टामा पालित पोषित “ केवल राम र रहलपहल ” हरुले राजनीतिक प्रतिवेदन लेख्न नसकेपछि यिनले पोखरेललाई अनुरोध गरे । पोखरेलले राजनीतिक प्रतिवेदन तयार गरिदिए । तर अधिवेशनको दिन उनै पोखरेललाई मञ्चमा आसन ग्रहण गराएनन् । एमाले संस्थापक नेता पोखरेल अपमानित भएर दर्शकदीर्घामा गएर बसे । तर संयोगवश अध्यक्ष ओलीको नजर पोखरेल माथि प¥यो । उनले भाषण रोकेर एक कार्यकर्तालाई आदेश दिए । पोखरेललाई मञ्चमा बोलाइयो । ओलीले आफैले उनको सम्मान गरे । कार्यकर्ताहरुले मञ्चबाट उठेर पोखरेललाई अभिवादन गरे । लीलानाथको यो बदमासी ओलीको नजरमा बिझेको मात्र होइन हृदयमा पनि गाडियो । उनले निधार खुम्च्याएर लीलानाथको तानाशाही प्रवृति बारे सोच्ने छन् । जिल्लाका आम कार्यकर्ताहरुको मनमा पनि झस्को पस्यो । यो भुलचुक होइन जानिबुझी गरिएको अक्षम्य राजनीतिक अपराध हो ।
एक समय यस्तो थियो पञ्चायत विरोधी आन्दोलन र पार्टी निर्माणमा लाग्दा नरेन्द्र राज पोखरेलको परिवारबाट एकै पटक ८ जना जेल परेका थिए । उनकी पत्नी गर्भवती थिइन् । तर प्रहरी उनलाई समात्न प्रयास गरिरहेको थियो । लर्कन्हामा दलित कमरेड किसुनको घरमा लुकेर पोखरेलकी पत्नी जया घिमिरे सुत्केरी भइन् । जया घिमिरे आफै पनि पार्टी निर्माणमा भूमिगत तथा पूर्णकालीन भएर लागेकी थिइन् । उनै पोखरेलको सिरहामा यो निम्नस्तरको अपमान भयो ।
जब पार्टी अध्यक्ष ओली भाषण गर्न उठे । सारा मास उठेर बाटो लागे । अध्यक्ष ओलीले आफ्नो भाषण छोट्याउनु प¥यो । युट्युबरहरुले यो दृश्य खिचेर हल्ला नै चलाए । वास्तव मै यो गम्भीर विषय थियो । चन्दाबाट उठेको लाखौं रकम खर्चेर खटाइएका लडाकु सवयंसेवकहरु के हेरेर बसे ? कसरी मास व्यवस्थापन गरिएको थियो ? पार्टी अध्यक्ष ओलीको नजरमा यो घटना पनि अंकित भएकै हुनुपर्छ ।
लीलानाथको भित्री योजना थियो , राजकिशोर सिंहलाई जिल्ला अध्यक्ष, श्याम श्रेष्ठलाई उपाध्यक्ष, एक स्वजातीय चेलीलाई सहसचिव , प्रदीप श्रेष्ठ र सुमित श्रेष्ठलाई सदस्य बनाउने । जिल्ला कमिटी सर्वसम्मत बनाउने । फुलेस्वर नायकलाई कुनै पनि पदमा आउन नदिने । उनको टिम फुटाउने । त्यसमा उनलाई आंशिक सफलता मिल्यो । भतिजा द्वय र स्वजातीय चेलीलाई नेतृत्वमा ल्याउन सफल भए । सर्वसम्मति जस्तो उनको अलोकतान्त्रिक र तानाशाही अडानले सफलता पायो । केन्द्रीयताका नाममा निरंकुश हैकम लादेरै छोडे । तर अध्यक्ष, उपाध्यक्ष रघुवीर गुटबाट लिनुप¥यो । आफ्नो गृह जिल्लामा जति प्रयत्न गरेपनि अध्यक्ष रघुवीर गुटबाट चयन हुनु यिनको हृदयशूल बनेको छ । आफ्नै जिल्लामा अत्याशलाग्दो अल्पमतमा पर्नु राजनीतिक पतनको गोरेटोतर्फ उन्मुख भएको यिनलाई आभाष भएको हुनुपर्छ ।
यदि चुनाव जितिन्छ भन्ने छाँटकाट देखेको भए यिनले चुनाव गराएर पनि आफ्नो प्यानल जिताउँथे । तर श्रेष्ठले देखे , पूरै हल आफ्नो विपक्षमा छ । चुनाव भयो भने एक सिट पनि जितिदैन । यिनले बाध्य भएर अध्यक्ष , उपाध्यक्ष सचिव र सहसचिव जस्ता पदमा रघुवीर गुटलाई दिने गरी सर्वसम्मति गर्नुप¥यो । यो राजनीतिक विवशता श्रेष्ठको मुटु चिथोर्ने व्यथा बनेको छ । यो परिस्थितिले यिनलाई लोकप्रियता घटेको मात्र नभई पतनोन्मुख दिशा देखाएको छ । ११ हौं ं सिरहा जिल्ला अधिवेशनबाट यिनले सिक्नै पर्ने पाठ के हो भने २१ सौं शताब्दीमा निरंकुशता टिक्दै टिक्दैन । अब कार्यकर्ताहरुलाई दास बनाएर अराउखटाउ गर्न सकिदैन । विद्रोह अवश्यम्भावी छ । त्यही भयो पनि । आफ्नो अगाडि बोल्न नसक्ने ठानिएकी रामरति रामले लीलानाथको आदेशानुसार राजकिाशेरको महिमा मण्डण गरिरहेका रामपृत रामको बीचैमा कुरा काटेर विरोध गरिदिइन् । कति जनाको मुख थुन्ने श्रेष्ठले ? नेपोलियनका एक वफादार सैनिकले भनेका थिए, “ हाम्रो महाराजलाई हेर्न हजारौं मानिसहरु आएका छन् । ” जवाफमा नेपोलिएनले भने , “हेर सैनिक जुन दिन मेरो आवशान हुन्छ त्यो दिन लाखौं मानिस मेरो दुर्गति हेर्न आउने छन् । ” स्वर्गीय प्रदीप गिरिको मुखबाट सुनेको यो दृष्टान्त लीलानाथले हेरे, सुने र गमे उनको राजनीतिक पतनमा केही समय विलम्ब हुनेथियो ।
रामविलास साहलाई मोहरा बनाएको पनि छर्लङ्ग भयो । बाहिर रामविलास साहलाई अध्यक्षको उम्मेदवार बनाउने कुरा गर्ने तर भित्री रुपमा सर्वसम्मत भए राजकिशोर सिंहलाई बुख्याँचा बनाउने कुत्सित चाल छताछुल्ल भयो । जिल्लामा दीर्घकालीन योजना अनुसार “वाई ” लाई माइनस गर्दै “नन वाईहरु ” लाई स्थापित गराउने र “एम ” क्लष्टरलाई काखी च्याप्ने श्रेष्ठको जातीय राजनीतिक योजना पनि छरपष्ट भयो । यो कुरा अध्यक्ष मण्डलमा बसेकाहरुले पनि थाहा पाए । यो घटनाले श्रेष्ठलाई पछिसम्म अपयशको पात्र बनाउने छ ।
गोलबजार श्रेष्ठको गृह नगर हो । यहाँ सबैभन्दा ठूलो पलयंकारी विग्रह भएको छ । गोलबजारका अधिकांश कार्यकर्ता विद्रोही फुलेस्वर नायकको पक्षमा उभिएका छन् । फुलेस्वर नायक पार्टी भित्र राजनीतिक “उन्नायक ” भएर उदय भएका छन् । उनले दासताको जञ्जिर तोडेका छन् । उनले विद्रोहको शंखनाद गरेका छन् । विधेयक पास हुने दिन संसदको बैठक छोडेर वडाधिवेशनमा उपस्थित रहँदा पनि लीलानाथकोे पराजय टरेन । श्रेष्ठले अध्यक्ष मण्डलको बैठकमा तिनै फुलेस्वर नायकको २५ मिनेटसम्म निन्दा गर्नुप¥यो जुन फुलेस्वरले श्रेष्ठ दाजुभाइको ५ वटा चुनावमा करोडौं सहयोग दिएका थिए । ज्यान हत्केलामा राखेर खटिएका थिए । २०४६ सालपछि फुलेस्वर अहोरात्र पार्टी निर्माणमा खटिएका छन् । अहध्यक्ष मण्डलकै एक सदस्यले श्रेष्ठको प्रलाप सुनेर “बैगुनी ” भन्न मन लागेको दावानललाई सुनाए । गोलबजारमा श्रेष्ठको पक्षमा रहेका कार्यकर्ताहरुले पार्टी छोडेको घोषणा गरेका छन् । आशा लामाले नेवारवाद र लीलानाथ र कार्यकर्ता बीच दास मालिक सम्बन्धको अवस्था रहेको अभिव्यक्ति दिएकी छिन् । जिल्लामा राम औतार यादव खुलेर रघुवीर पक्षका नेता भएर श्रेष्ठको विपक्षमा उभिएका छन् । यो खेलाँची कुरा होइन । यो लीलानाथ श्रेष्ठको राजनीतिक यात्रामा प्रलयंकारी स्खलन र क्षयीकरण हो ।
सिरहामा मात्र होइन सिंगो मधेशमा लीलानाथ श्रेष्ठको नेतृत्व असफल भइरहेको र पार्टी भित्र विग्रहको राँको दन्किएको स्थिति देखा पर्दैछ । सप्तरीमा सत्य नारायण मण्डल , दिवाकर देवकोटा , हिरण्य गुप्ता, गंगा चौधरी र जगदिश साह जस्ता केन्द्रीय हस्तीहरुले राजीनामा दिने स्थिति पैदा भएको छ । धनुषा जिल्लामा अधिवेशन हुन बाँकी नै छ । रघुवीरसँगको टक्करबाट निस्केको झिल्कोले कति डढेलो लाउने हो हेर्न बाँकी छ ।
पार्टीको प्रशिक्षण सञ्चालन गर्न आएका संगठन विभाग प्रमुख ईश्वरी रिजालले सिरहाका एक दुई जना नेता तथा कार्यकर्ताहरु माझ आश्चर्य प्रकट गरेका थिए । श्रेष्ठ स्थायी समिति र मधेश प्रदेशका इञ्चार्ज भए पनि जहाँ भाषण गरे पनि एउटै कुरा दोहो¥याउने । देशमा अहिले विशेष अवस्था छ , कोशी कमला डाइभर्सन निर्माण, सुखी नेपाली समृद्ध नेपाल, श्रद्धेय केपी बा र रातो कितावमा एक सय ५० करोड बजेट पारे । दर्जनौ पटक भाषण गर्दा पनि यति ५ कुरा बाहेक अरु कुरा केही नसुनेपछि रिजालले भनेका थिए यति हो त यिनको बौद्धिक क्षमता ?
उता वीरगञ्जकी कमरेड निर्मलाको बारेमा केपी ओली समक्ष भए नभएको पोल लगाएको घटना पनि बाहिर आएको छ । विरगञ्जतिर चर्चा छ । औरहीमा भएको दीपक मरिकमाथिको छुवाछुत घटनामा पत्रकारले अनावश्यक उचालेको भनेपछि महासचिव शंकर पोखरेलले श्रेष्ठलाई हप्काएका थिए । यो घटना पनि वीरगञ्जमा चर्चाको विषय बनेको छ ।
१७ सय शब्दको यो आलेखको बिट मार्दैगर्दा लीलानाथ श्रेष्ठको राजनीतिक यात्राको मैझारो हुने प्रवल सम्भावना देखिन्छ । उनी सुध्रिएनन् भने २०८४ मा उनको राजनीतिक यात्राको “कायेन वाचा” अध्याय लेख्नु पर्ने बाध्यता नआओस् ।


प्रकाशित : २०८२ बैशाख १ सोमबार