
सुनेको कुरा प्रमाणमा लाग्दैन । तर देखेर जान्नेहरु जिउँदो प्रमाण हुन् । देख्नेहरु पनि एक दुई जना होइन , हजारौं हजारको भिड छ , सिङ्गो समाज छ , विशाल पार्टी पंक्ति छ । गोलबजारका चन्द्र कुमार लामा कोअर्डिनेशनकाल अर्थात नेकपा एमालेको शैशवकालदेखि नै सो पार्टीमा आवद्ध छन् । उनी आवद्ध मात्र छैनन् अपितु पञ्चायतकालको कठोर परिस्थितिमा पार्टी निर्माणमा लागेका एकनिष्ट अविचलित कम्युनिष्ट हुन् । पार्टी भित्र उनको श्रम, सीप र ज्ञानको लगानी तथा जोखिम मोल्ने सहासको हिसाव लगाउन निकै बेर लाग्छ । सर्रे खुट्टीमा चौथो महाधिवेशन हुँदा प्रवेशद्वार र सूचना सर्वर उनकै घर थियो ।
उनै चन्द्रकुमारकी छोरी आशा योञ्जन जसले किशोरी वयबाटै पार्टीको संगठन विस्तार लगायतका काममा सकृयता देखाइन् । पिता र माताको विरासत होइन उनको आफ्नै पौरख छ पार्टी भित्र । जीवनका उर्वर समय लगातार ३० वर्ष पार्टीको श्रीवृद्धिमा समर्पित गरिन् । हरेक संघर्षको मैदानमा डटेर उभिइन् । हरेक निर्वाचनमा पार्टीलाई जिताउन श्रम, सीप, ज्ञान र धन पनि खर्च गरिन् । यिनै आशा योञ्जन जस्ताको पार्टी प्रतिको अविचलित निष्ठा देखेर अन्य पार्टीकाले भन्छन् , “ एमालेकाहरुलाई कुन खोप लगाइएको छ कोनी ? टसमस हुँदैनन् , सूर्यभन्दा तलमाथि भोट हाल्दैनन् । ”
एमाले पार्टीमा सतिसाल बनेर उभिएकी यी चेलीको हिजो भने मन रोयो । यिनको गहबाट छचल्किएको आँशु देखेर दुनियाँको पनि मन छोयो । अन्ततः आशा योञ्जनले आफ्नो ३० वर्षे राजनीतिक जीवनको निचोड र सिकाइ सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरिन् । जुन अत्यन्त हृदयविदारक छ तर कटु सत्य पनि हो ।
चोहर्वा दरवारको नातावाद , कृपावाद, जातिवाद र भक्त पाल्ने तथा कार्यकर्तालाई दास बनाउने प्रवृतिहरुबारे समाचार लेख्दा आशा योञ्जनले सामाजिक सञ्जालमा कटाक्ष गर्दै प्रतिक्रिया लेख्थिन् । दरवारको बचाउ गर्थिन् । तर हिजो एमाले सिरहाको ११ हौं जिल्ला अधिवेशनबाट फर्किदा उनको हृदय व्यथित थियो । मानौ हजारौं किलोको चट्टानले उनलाई थिचेको थियो । उनको अविचलित राजनीतिक आस्था धर्मराएको थियो । उनको उदाश र मलिन अनुहारले अहिलेको फोहोरी राजनीतिको केन्द्र चोहर्वा दरवारलाई धारे हात लगाइरहेको थियो । मौनताको भाषा सुन्न र पढ्न जान्नेले आशा योञ्जनको चित्कार र कैरन राम्ररी बुझेका थिए । धैर्यताको बाँध फुट्यो । अधीरता थाम्न नसकेर उनले मनको वह फेसबुकमा पोखिन । उनको फेसबुक स्टाटसबाट ३० वर्षे राजनीतिक जीवनको निचोड र सिरहाली राजनीतिमा चोहर्वा दरवारको राणा शासनलाई मात दिने कर्तुत छर्लङ्ग हुन्छ ।
“उनले लेखेकी छिन् निर्णयक तहमा रहनका लागि श्रेष्ठ परिवारमा जन्मिनु पर्छ वा पार्टीमा दासी भएर बस्नु पर्छ ” । आशा योञ्जनको यो एक स्टाटस अहिलेको सिरहाली राजनीतिमा चोहर्वा दरवारको हिटलर प्रवृतिलाई छर्लङ्ग पार्ने प्रमाण हो । अकाट्य सत्यता हो । यो चानचुने कुरा होइन । योञ्जनको स्टाटस आजको सिरहालीे राजनीतिको मीमांसा हो । संश्लेषण हो । सरल भाषमा भन्नु पर्दा “गाठी कुरा ” हो ।
दुई वर्ष अघि एमाले भित्रका एक होनहार , पढेलेखेका र भोलिका दिनमा लब्ध प्रष्ठित बुद्धिजीवी कहलाउन सक्ने संभावना बोकेका युवा तिलक थापाले एमाले परित्याग गरे । उनले देखे आफू वर्षौदेखि पार्टी भित्र दलिएर घोटिएर काम गरिरहेको छु तर अचानक चोहर्वा दरवारका पुत्र एकैपटक युवा संघका केन्द्रीय सदस्य बनाइए । जसको न कुनै योगदान छ न कुनै योग्यता र क्षमता । फगत चोहर्वा दरवारका पुत्र हुनु बाहेक अन्य योग्यता केही छैन । रातको समयमा गुण्डा दल लिएर अर्काको घरमा आक्रमण गर्न सकेको तथा आसेपासेहरुलाई थालीमा लगेर चोक्टा र झोल खुवाउन पियाउन सकेको भरमा वरिपरी एक दुई दर्जन “ केवल राम ” हरुको झुण्ड घुमाएका छन् । जसले फेसबुकमा लेख्छन् हजारौं युवाहरुको ढुकढुकी । मानौ उसले मदन भण्डारीलाई मात दिने गरी कुनै राजनीतिक सिद्धान्त नै प्रतिपादन गरेछन् वा देश र समाजका लागि कुनै चमत्कारपूर्ण तथा सहासिक योगदान गरेका छन् । एक हजार भत्ता र एक थाली खानाका लागि पत्रकारहरु पनि पछि पछि घुमाउँछन् । तिलक थापाले पार्टी छोड्नुको कारण खुलेर लेखेनन् तर सबैलाई थाहा छ चाहेर्वा दरवारका शाहजादा केन्द्रीय सदस्य बनाइएपछि तिलक थापाको मन विरक्तियो ।
हिजोको जिल्ला अधिवेशनबाट चोहर्वा दरवारले फेरि जनताको पक्षमा एउटा निरंकुशता लादेको छ । जनतालाई अभिशप्त बनाएको छ । आफ्ना शाहजादालाई एमालेजन र सम्पूर्ण नगरवासीमाथि शासन गर्न राजनीतिक उत्तराधिकारी बनाएर जिल्ला कमिटी सदस्य घोषणा गरेको छ । मानौ चोहर्वा दरवारमा जन्मिनेहरु शासन गर्न जन्मिएका हुन् । अन्य एमालेजन र सिरहाका बासिन्दा चोहर्वा दरवारका रैती हुन जन्मेका हुन् । त्यसै गरी आशाभन्दा धेरै कनिष्टलाई स्वजातीय भएकै नाताले पदाधिकारी बनाएर आशा योञ्जनलाई खाली हात फर्काइएको छ । राजनीतिको यो विद्रुप दृश्य देखेर आशा योञ्जन मात्र होइन ठूलो कार्यकर्ता पंक्तिको मन रोएको छ । तर तानाशाहको डरले आँशु पनि लुकाउनु परेको छ । तिलक थापाले केही दिनपछि आफ्नो स्टाटस हटाउनु भयो तर आशा योञ्जनले आफ्नो स्टाटस डिलिट गर्न हुँदैन । किनकी त्यो दुई हरफमा उनले सिरहाली राजनीतिको सम्पूर्ण रुप रेखा कोरिदिएकी छिन् । यथार्थमा चोहर्वा दरवार जात र दास मालिक सम्बन्धको प्रतीक हो ।
कमरेड आशा योञ्जनले बुझ्नु पर्ने कुरा के हो भने हरेक कालो वादल भित्र चाँदीको घेरा हुन्छ । हरेक खराव समय पछि राम्रो समय ल्याउँछ । चोहर्वा दरवारको पाउ मुनिको जमिन खस्किसकेको छ तर उसलाई यकिन नभएको मात्र हो । सिरहा जिल्ला अधिवेशनको चौथो रात चोहर्वा दरवारका “ मोग्याम्बो ” लाई राम्रैसँग अनुभूति भएको छ । उनले आँखा फारेर हेरे । चुनाव भयो भने मेरो पक्षको एक जना पनि जित्दैन । समुच्चा जिल्ला उनको विपक्षमा उभिएको छ । प्रतिस्पर्धामा उनी जमानत बचाउने अवस्थामा पनि छैनन् । यदी चुनाव जितिने अवस्था हो भने उनले सर्वसम्मतिको राग अलापेर ५ दिन अल्मल्याउने थिएनन् । विवश भएर सम्झौता गरेका छन् । जिल्ला मात्र होइन समग्र मधेश प्रदेशमा यिनको नेतृत्व प्रति विद्रोहको ज्वाला दन्किदै छ । मोग्याम्बोको नेतृत्व असफल हुँदैछ । यिनको तमाम हिटलरी राजनीतिक शैलीको पर्दाफास हुँदैछ । यिनीसँग रक्सी र मासुमा निर्भर दुई चार जना दासहरु “केवल राम र रहलपहल ” हरुको घेरा मात्र बाँकी छ । वैकल्पिक राजनीतिक नेताहरुको उदय हुँदैछ । यिनको राजनीतिक पतनले रकेटको गति समातेको छ । २०८४ आउन २ वर्ष मात्र बाँकी छ । इतिहासले धेरै ठूल्ठूला तानाशाहको पतनको कथा लेखेको छ । यिनको पनि लेखिन्छ । यस्ता छुद्र “ हल्लुँड” उभ्याएर राजनीतिक वैभव थामिदैन आशा योञ्जन जी । यो पतन कै मार्ग हो ।