
गोलबजार नगरपालिका वडा नं. ६ का वडाध्यक्ष तथा एमाले नेता संजीव लामाले आजकै मितिबाट एमाले पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेको घोषणा गरेका छन् । आफ्नो फेसबुकमा स्टाटस लेख्दै लामाले वडाध्यक्ष तथा अन्य सबै जिम्मेवारी त्याग्ने घोषणा गरेका छन् । उनी गोलबजार नगरपालिकाका प्रवक्ता पनि हुन् ।
फेसबुक स्टाटस लेखेका वडाध्यक्ष लामाले दावानललाई फोन गरेर उक्त घोषणा सही भएको र त्यसलाई समाचार बनाएर प्रकाशन गरिदिन आग्रह पनि गरेका छन् । वडाध्यक्षसहित एमालेको साधारण सदस्य समेत त्याग्ने लामाको निर्णयको कारण भने खुलाइएको छैन । तर आजै सम्पन्न एमालेको ११ औं जिल्ला अधिवेशनमा आशा लामालाई पन्छाएर स्वजातीय भएकै आधारमा उनीभन्दा कनिष्टलाई पदाधिकारी बनाइएकोमा वडाध्यक्ष लामाको चित्त दुखेको लख काटिएको छ । चोहर्वा दरवारको जातिवादी र नातावाद रवैया प्रति असन्तुष्टि जनाउँदै लामाले राजीनामा दिएका हुन् । वडाध्यक्ष लामाका पिता एमालेको कोअर्डिनेशन कालदेखिका पार्टीका सदस्य हुन् ।