
सिरहाको औरही गाउँपालिका अध्यक्ष शिवजी यादज, पूर्व वडाध्यक्ष दिलीप यादव र बजरंगी बाबा विरुद्ध छुवाछुत गरेको कसुरमा जाहेरी दरखास्त दर्ता भएको छ । हिजो ९ गते शनिवार जिल्ला प्रहरी कार्यालय सिरहामा पीडित दीपक मरिक डोमले तीन जना विरुद्ध जाहेरी दर्ता गराएका हुन् ।
जाहेरीमा पीडकहरुले अछुत भनेर घर भत्काइ दिएको र घरले चर्चेको जमिनको माटो अपवित्र भन्दै खनेर फालेको आरोप लगाइएको छ । पीडित मरिकले आफुलाई धाक धम्की दिएर डर त्रास उत्पन्न गराएकोले सरकारसँग सुरक्षाको माग समेत गरेका छन् । जाहेरीमा उचित क्षतिपूर्ति भराई पाउ भनेर माग गरिएको छ ।
दलित अगुवाहरु सहित जिल्ला प्रहरी कार्यालय पुगेका पीडित मरिकले जाहेरी दर्ता भएपछि सञ्चारकर्मीहरुलाई भने , म न्याय पाउने कुरामा आशावादी छु । सरकारले दोषीहरु उपर कडा कारवाही गरोस् । उनले न्यायका लागि र आफुलाई पुनस्र्थापित गराउन साथ सहयोग गर्ने सबैलाई धन्यवाद भनेका छन् ।
दलित मरिक परिवारको घर भत्काएर विस्थापित गरिएको आरोपमा प्रहरीले पालिका अध्यक्ष यादव र पूर्व वडाध्यक्ष यादव द्वयलाई गत शुक्रबार नै प्रहरी पक्राउ गरेको छ ।
जाहेरी दर्ता भएपछि सिरहाका एसपी रमेश पण्डितले भने अब कानूनी प्रकृया यथोचित रुपमा अघि बढेको छ । कानून बमोजिम अनुसन्धान सुरु भएको छ ।
जाहेरी दर्ता गर्न पीडितका साथ मा गएका दलित अगुवा तथा राष्ट्रिय दलित आयोगका पूर्व सदस्य कवुली पासवानले भने दिनभरी नै प्रहरी कार्यालयमा छलफल भयो । घटनालाई मिलापत्रमा लैजाने कोसिस गर्नेहरुले पञ्चायती गरेर मिलाउन दबाबा दिएका थिए । तरपीडितले कानूनी राज्यमा कानूनबाट नै न्याय निसाफ हुनुपर्छ भनेर अडान लिएपछि जाहेरी दर्ता भयो ।
औरहीमा महायज्ञ आयोजना गर्ने स्थलबाट कथित अछुत जाति डोमको घर हटाउनु पर्छ भनेर बजरंगी बाबाले आदेश दिएका थिए । बाबाको आदेश पछि पालिका अध्यक्ष यादव र पूर्व वडाध्यक्ष यादवले पालिकाकै डोजर लगाएर गत फागुन १० गते दीपक मरिकको घर भत्काइ दिएका थिए । मरिक परिवारको घर मात्र भत्काइएको थिएन अपितु उनको घरले चर्चे बमोजिमको जमिनको माटो अपवित्र भन्दै ताछेर फालिएको थियो । मरिक परिवार विस्थापित भएपछि एकान्त स्थानमा एउटा झुप्रो हालेर बालबच्चा सहित बस्न बाध्य भएका थिए ।
चैत ६ गते घटनास्थलमा पुगेका पत्रकारहरुले छुवाछुत तथा जातीय उत्पीडनको यो घटनाबारे समाचारसम्प्रेषण गरेपछि यस घटनाको विरोधमा संघीय संसद र प्रदेश सभामा पनि चर्को विरोध भएको थियो । दुई दर्जनभन्दा अधिक माननीय संसदहरुले यस विषयमा दोषीहरु उपर कडा कारवाही गर्न माग गरेका थिए । त्यसैगरी दलित अधिकारकर्मीहरुले काठमाडौंमा संसद भवन अगाडि प्रदर्शन पनि गरेका थिए ।