सिरहामा दलितहरु प्रति श्रृङ्खलावद्ध अत्याचार हुँदा बोल्दैनन् लीलानाथ श्रेष्ठ

[sharethis-inline-buttons]

सिरहामा दलितहरुमाथि निरन्तर अत्याचार भइरहँदा पनि नेकपा एमालेका स्थायी समिति सदस्य तथा मधेश प्रदेश इन्चार्ज लीलानाथ श्रेष्ठले “चुँ ” शब्दसम्म नबोलेका कारण एमाले भित्रका दलितहरु दुःखी भएका छन् । एमाले भित्रकै दलित नेताहरु बीच चर्चा परिचर्चा सुरु भएको छ । आखिर किन हाम्रा नेता बोल्दैनन् । दलितहरुमाथि श्रृङ्खलावद्ध रुपमा अन्याय र अत्याचारका घटना भइरहेको छ । दलितहरुले न्यायका लागि गुहार मागिरहेका छन् तर हाम्रा नेता श्रेष्ठले थाहा पाएर पनि नपाए जस्तो गरिरहेका छन् । आखिर  के छ त कारण ? के वर्गीय स्वभावले बोल्न नदिएको हो , कि सामाजिक न्यायको सवालमा संवेदनशीलताको कमी हो ? कि दलितहरु प्रति उपेक्षाभाव हो ? यस विषयमा मुक्ति समाज भित्र पनि चर्चा चलेको छ ।

रिंकु सदाको सामुहिक बलात्कार भयो । उनले ज्यान गुमाउनु प¥यो । न्यायका लागि जाहेरी दर्ता गर्न जाँदा प्रहरीले दर्ता गरेन । पछि दर्ता गर्दा पनि मुद्दा हलुका हुने गरी गरियो । यो सवालमा दलितहरु आन्दोलित भए । तर एमाले नेताले संसदमा बोलेनन् । उनले एउटा प्रेस विज्ञप्ती पनि निकालेनन् । रिंकुको मृत आत्मालाई श्रद्धाञ्जली पनि भनेनन् । उनी रिंकुको घर पुगेर उनको परिवारलाई सानत्वना दिने धर्म निर्वाह गर्न पनि चुके ।

यस प्रसंगमा एमाले दलित नेता राम स्वरुप सदालाई मैले सोधे , “ तपाईँहरुका नेता सांसद श्रेष्ठले केही बोल्नु भएन त रिंकुको सवालमा –किन ? ” उनले भने हो उहाँले केही बोल्नु भएन । त्यसको परिणाम एक दिन उहाँले आफै भोग्नु हुन्छ । उहाँ आफै पछुताउनु हुन्छ । दलितलाई भोट बैंक मात्र सम्झेर हुँदैन ।
औरहीमा दीपक मरिकको घर भत्काएको घटनामा पनि माननीय लीलानाथ श्रेष्ठको भूमिका मौनता मै सीमित रह्यो । मैले मुक्ति समाजका केन्द्रीय सदस्य रामकिसुन मण्डललाई सोधे , आखिर किन यस्तो ? के माननीय श्रेष्ठले यस्ता विषयमा बोल्न पर्दैन ? उनले भने जम्मै काम नगर्नेहरुलाई ल्याएर संगठनको पद ओगटेर बस्ने बनाइ दिएका छन् । न आफू बोल्छन् न मुक्ति समाजका साथीहरु पाइला चाल्छन् । मण्डलले भने तपाईहरु किन जानु भएन भनेर दलितहरुलाई सोध्नु हुन्छ माननीय श्रेष्ठ । मानौ छुवाछुत हटाउने र दलितका लागि न्याय स्थापना गराउने कुरामा उनको कुनै भूमिका नै चाहिदैन । दलितको काम दलितले गर्ने मानसिकता छ उहाँमा ।

मैले प्रश्न एमालेका केन्द्रीय सदस्य रामपृत रामलाई पनि सोधे – खोई त रिंकु र दीपक मरिक प्रकरणमा एमालेको धारणा बाहिर आएन ! तपाईहरुको नेता प्रदेश इन्चार्ज श्रेष्ठले यी घटनाहरु थहा पाएनन् की ? उनले भने नेता श्रेष्ठ केही बोल्नु भएन । अब किन बोल्नु भएन मलाई थाहा छैन । तर दलितहरु प्रति न्युनतम भए पनि संवेदनशीलता त हुनु पर्ने हो ।

मुक्ति समाजका जिल्ला अध्यक्ष संजीव महरासँग यही प्रश्न गरियो । औरहीमा दीपक मरिकको घर भत्काइयो तर तपाईको पार्टीका नेता लीलानाथ श्रेष्ठले केही बोल्नु भएन । कस्तो लाग्छ तपाईहरुलाई ? उनले भने खोई किन नबोल्नु भएको मलाई थाहा छैन । हामीलाई जानका लागि भन्नु भएको छ । हामी गएर हेर्छौ ।

मुक्ति समाजकै केन्द्रीय नेता जीवछ पासवानलाई सोध्यौं किन तपाईहरुका नेता लीलानाथ श्रेष्ठ सिरहामा दलितहरु प्रति अत्याचार हुँदा नबोलेका हुन् ? उनले भने बोल्नु पर्ने हो , विज्ञप्ती निकाल्नु पर्ने हो । तर हामी मुक्ति समाज गएर घटना हेर्छौ । हामी साथीहरु बीच छलफल गर्दैछौं ।

( कुराकानीको भ्वाइस रेकर्डिङ्ग सुरक्षित )


प्रकाशित : २०८१ चैत्र ९ शनिबार