गाउँपालिका अध्यक्ष शिवजी यादव र जनमत पार्टीका नेता दिलीप यादव पक्राउ

[sharethis-inline-buttons]

राहुल राय , सिरहा
सिरहाका औरही गाउँपालिका अध्यक्ष शिवजी यादव र सोही ठाउँका जनमत पार्टीका नेता दिलीप यादव पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सिरहाले आज अपरान्ह उनीहरुलाई नियन्त्रणमा लिएको हो । महायज्ञ गर्ने स्थानबाट दलित दीपक मरिकको घर भत्काउने र अछुत भनेर माटो खुर्केर फाल्ने अभियोगमा उनीहरुलाई पक्राउ गरिएको प्रहरी सुत्रले जानकारी दिएको छ ।

सिरहाको औरही गाउँपालिका वडा नं. ५ मा आगामी १७ चैतदेखि आयोजना हुने श्री विष्णु महायज्ञ हुने स्थानमा कथित अछुत डोम जातिको घर भएको भत्काउनु पर्ने आयोजक बाबा बजरंगीले सल्लाह दिएपछि पालिका अध्यक्ष यादव र पूर्व वडाध्यक्ष दिलीप यादवले डोजर लगाएर दीपक मरिकको घर भत्काइ दिएका थिए । दीपक मरिकको घर भएको स्थानको माटो अपवित्र भएको भन्दै त्यहाबाट माटो समेत खुर्केर फालिएको थियो ।

छुवाछुत गर्ने बजरंगी बाबा भने फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

जातीय विभेद र छुवाछुत गर्दै दलित मरिकको घर भत्काइएकोमा दोषीहरु उपर कडा कानूनी कारवाहीको माग गर्दै हिजोदेखि संघीय संसद र प्रदेश सभामा दर्जनौ सांसदहरुले आवाज उठाएका थिए । आज काठमाडौंमा दलितहरुको संघ संगठनले विशाल जन प्रदर्शन गरेको थियो । आजै गृह मन्त्रालयले सिरहाका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाललाई छुवाछुतको घटनामा दोषीलाई कारवाही नगरी नरम व्यवहार गरेकोमा  मन्त्रालयमा तानेको थियो ।

 


प्रकाशित : २०८१ चैत्र ८ शुक्रबार