१३ वर्षिय बालिका गुलशना खातुन ७ दिनदेखि वेपत्ता , खोज ीगर्न प्रहरीले सहयोग नगरेको गुनासो

[sharethis-inline-buttons]

राहुल राय , सिरहा
गोलबजार नगरपालिका वडा नं. ९ गोविन्दपुर गाउँकी १३ वर्षिय गुलशना खातुन गत फागुन २९ गतेदेखि हराइ रहेकी छिन् । स्थानीय सामुदायिक विद्यालयमा कक्षा ४ मा अध्ययनरत बालिका खातुन बिहान ९ बजे घर बाहिर निस्केकी थिइन् । त्यसपछि उनी कता र कहाँ गइन् केही पनि अत्तोपत्तो छैन । सामुदायिक विद्यालयमा भर्ना हुनु अघि उनी मदर्सामा पढाई गर्थिन् ।

छोरी हराएपछि गुलशनाकी आमा जाहेदा खातुनले इलाका प्रहरी कार्यालय मिर्चैयामा चैत १ गते नै खोजतलास गरी दिन भनेर निवेदन दिइन् । तर प्रहरीले पनि बालिका गुलशनाको खोजी गर्न सकेको छैन । पीडित आमा जाहेदा भन्छिन् , “थानामा म पटक पटक गएँ , खोजी गर्छौ भन्छन् तर खासै चासो लिदैनन् । ”

वेपत्ता आमा जाहेदाले भनिन् , मेरी छोरी मात्रै १३ वर्षकी छे । उसले कुनै केटासँग प्रेम गरेर भागी बिबाह गर्ने सम्भावना पनि छैन । उनले छोरी अपहरणमा परेको आशंका पनि गरिन् । यद्यपि आफ्नो र परिवारको कोई कसैसँग रिस इवी नभएको उनले बताइन् ।

वेपत्ता बालिकाका पिता बेचन अली छोरी हराउनु दुई दिन अघि वैदेशिक रोजगारीका लागि कतारतर्फ गएका छन् । आमा जाहेदाको काखमा अर्को दुध बालक छ । छोरी खोज्न कहाँ जानु ? उनले विवशता प्रकट गरिन् ।

घर बाहिर निस्केकी गुलशना छिमेकीको घरमा भएको सिसिटिभीमा देखिन्छिन् । त्यही बेला एउटा मोटरसाइकल र एउटा टेम्पु आएको र गएको देखिन्छ । गुलशनलाई सोही मोटर साइकल वा टेम्पुमा चडढाएर कसैले लगेको हुनु पर्छ भन्दै आमा जाहेदाले प्रहरीलाई छोरी खोजी दिन आग्रह गरेकी छिन् । छोरी हराएदेखि उनको आमा जाहेदाको घरमा चुल्हो बलेको छैन । सम्पूर्ण परिवार चिन्तामा छन् ।

यस सम्बन्धमा इलाका प्रहरी कार्यालय मिर्चैयाका नायव प्रहरी उपरीक्षक पञ्चकुमार बाखुसँग जिज्ञासा राख्दा उनले भने बालिकाबारे अपुष्ट सूचना आएको छ । हामी उद्धारको प्रयासमा छौं । अहिले धेरै नभनौ ।


प्रकाशित : २०८१ चैत्र ६ बुधबार