लीलानाथ श्रेष्ठको गोप्य आदेश चुहिएकोमा छानविन आयोग गठन

[sharethis-inline-buttons]

नेकपा एमालेका स्थायी समिति सदस्य तथा मधेश प्रदेशका इन्चार्ज सांसद लीलानाथ श्रेष्ठले पार्टीको बैठकमा बोलेको कुरा बाहिर चुहिएको बारे छानविन गर्न ३ सदस्यीय आयोग गठन भएको छ । छानविन आयोगमा संयोजक सांसद गंगा यादवलाई तोकिएको छ भने सदस्यहरुमा प्रदेश अध्यक्ष चन्देस्वर मण्डल र सिरहाका मेयर डा. नवीन यादवलाई तोकिएको छ । आयोगले मिहिन छानविन गरी नेता श्रेष्ठको अभिव्यक्तिको रेकर्डिङ्ग पत्रकार थपलिया समक्ष पु¥याउने व्यक्ति पत्ता लगाउने जिम्मेवारी दिइएको छ ।

गत साता चोहर्वा दरवारमा आयोजित पार्टीको बैठकमा नेता श्रेष्ठले पत्रकार अर्जुन थपलियालाई रवि लामिछाने जस्तै दर्जनौ मुद्दा लगाएर देशभरीको पुलिस हिरासतमा घुमाउने र भौतिक आक्रमण गरी हात खुट्टा भाँच्ने अभिव्यक्ति दिएका थिए । त्यसैगरी धनगढीमाई नगरपालिकाका मेयर शिव संकर महतोले पनि पत्रकार थपलियामाथि भौतिक आक्रमण गर्ने अभिव्यक्ति दिएका थिए ।

हिजो चैत ४ गते रेडक्रस भवन चोहर्वामा बसेको सिरहा जिल्ला कमिटी सचिवालय बैठकको सुरुवातमै नेता श्रेष्ठ गर्जिए । पार्टीको अति गोप्य बैठकमा बरिष्ठ नेता तथा कार्यकर्ताहरु माझ मैले र शिव संकर जीले बालेको कुरा हुबहु पत्रकार अर्जुन थपलिया समक्ष कसरी पुग्यो ? हामीले जे बोलेका थियौं अक्षरस त्यसैगरी त्यही लवज र शैलीमा दावानलमा समाचार प्रकाशित भएको छ । कसले पु¥यायो ? को छ यस्तो गद्दार ? हामीले बोलेको रेकर्डिङ्ग गरेरै पु¥याएको हुनुपर्छ । नत्र जस्ताको त्यस्तै कसरी थाहा पाउँछ ? यसको छानविन गरी पत्ता लगाएर कारवाही गर्नुपर्छ ।

नेता श्रेष्ठ जंगिए पछि बैठकमा उपस्थित कमरेडहरु केही बेर मौन भएका थिए । त्यसपछि एक कमरेडहरुले भने हजुरलाई को को माथि शंका छ, उनीहरुलाई सखडा भगवतीमा लगेर किरिया खुवाऔं । किरिया नखानेले गोपनीयता भंग गरेको थाहा हुन्छ । अर्का कमरेडले भने कम्युनिष्ट पार्टीका नेताले सखडामा गएर किरिया खाने कुरा उचित हुँदैन । बरु आयोग गठन गरेर छानविन गरौं । केहीबेरको गन्थन मन्थन पछि आयोग गठन गर्ने सहमति भयो । गठित छानविन आयोगका सदस्यहरु र केही थप कमरेडहरु आज मंगलबार बिहान पुनः चोहर्वा दरवारमा छलफलका लागि जम्मा भएका थिए ।

सोही बैठकमा हिजो दावानलमा प्रकाशित नेता श्रेष्ठले टिकट वापत रकम असुलेको र वक्यौता नतिरेको विषयमा पार्टी केन्द्रीय कार्यालयमा उजुरी परेको तथा थप उजुरी पर्ने समाचारको विषयमा पनि छलफल भएको थियो । नेता श्रेष्ठले भने यसरी कपोलकल्पित र झुट समाचार प्रकाशित गरिएको छ । नेता श्रेष्ठले “ल भन्नुस् त मैले कोसँग टिकट वापत रकम लिएको छु ” भनेपछि नेता रामऔतार यादवले जवाफ दिए , यो भित्री “गहिडगर ” ( गहिरो ) कुरा हामीलाई के थाहा ? कि त दिनेलाई थाहा होला कि लिनेलाई । यादवको भनाइमा अन्य कमरेडहरुले पनि सही थापेका थिए । त्यसपछि नेता श्रेष्ठको मुखमण्डलमा उदासी छाएको एक सहभागीले बताए ।

दावानलले आज छानविन आयोगका एक सदस्यलाई भेटेर सोध्यो , के के म्याण्डेड दिइएको छ छानविनको लागि ? उनले भने , “हामी हाम्रो पार्टी र हाम्रा नेता प्रति वफादार छौं । तर तपाईँमाथि भौतिक आक्रमणको योजना बन्यो भने म आफै तपाईलाई वृतान्त बताइ दिन्छु । कमरेड लीलानाथको भौतिक आक्रमणको कुत्सित बिचार हामीलाई पनि मन परेको छैन । हामी त्यसमा सहमत हुनेछैनौ । पार्टी भित्र हलचल छ कसरी सूचना चुहिन्छ भनेर ।


प्रकाशित : २०८१ चैत्र ५ मंगलवार