
श्री प्रमुख प्रशासकीय अधिकृत ज्यु
गोलबजार नगरपालिका
महोदय ,
हाम्रो प्रत्यक्ष भेट नभए पनि हामीले अनौपचारिक रुपमा एक अर्कालाई चिनी सक्यौं , फोनमा दुई पटक वार्तालाप पनि भइसक्यो । हजुर को हुनुहुन्छ भनेर मैले माथी नै समबोधन गरिसके । म पत्रकार हुँ भन्ने कुरा यहाँले ठम्याई सक्नु भएको छ ।
म यो खुला पत्रमा लेखिएका कुरा द्विपक्षीय भेटघाट गरेर पनि भन्न सक्थे । तर म आम जनताको कटुवाल ( सूचना प्रवाह गर्ने ) भएकोले सञ्चारमाध्यमबाटै केही कुरा भन्न आवश्यक ठाने । अर्को कुरा म नागरिक भएकोले नागरिक अधिकारको प्रयोग गर्न पनि अति रमाउँछु ।
सल्लाह नमागी सल्लाह दिनु किमार्थ उचित होइन । तर नागरिकको हैसियतले नेपाल सरकारका जिम्मेवार अधिकारीहरुबाट सुशासनको अभिप्सा राख्नु अनुचित पनि होइन । तपाईँबाट सुशासनको अपेक्षासहित यो पत्र लेख्ने काम गरेको छु ।
गोलबजार नगरपालिका मेयर श्याम कुमार श्रेष्ठको भ्रष्टाचारी रवैया, नातावाद , कृपावाद, श्रेष्ठतम जातिको एकाधिकार कमिशनखोरी , अपारदर्शीता र शाजजादाको मनपरीतन्त्रबाट ग्रसित छ । बदनाम छ । यहाँका जनता त्राही त्राही छन् । विकास निर्माणका कामहरु कमसल भएका छन् । नगरपालिकाको बजेट मेयर लगायत नगरपालिकाका केही कर्मचारीहरुको ससुरालीले दक्षिणामा दिएको रकम जस्तै गरी निजी स्वार्थका लागि खर्च गरिरहेका छन् । माथीका पंक्तिहरु वस्तविकताको छोटो प्रस्तुति हो तर यसलाई मैले सप्रमाण पेस गर्नुपर्छ । म विस्तारै घटना घटनाको परत परत केलाएर प्रस्तुत गर्दै जानेछु ।
अहिलेलाई के भन्न चाहान्छु भने तपाईँ यो भ्रष्टाचार र अनीयमितताले थिलथिलो पारेको नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत भएर आउनु भएको छ । मैले सुनेको छु तपाईँ जागिरे जीवनको उत्तरार्धमा हुनुहुन्छ । सेवा निवृत्त हुन मात्र एक वर्ष बाँकी छ रे भन्ने सुनेको छु । तपाईँको लामो जागिरे जीवन निष्कलंक वा वेदाग थियो कि थिएन मलाई थाहा छैन तर यति भन्छु गोलबजार नगरपालिका कोइलाको खदान हो । यहाँ सेतो वस्त्र लगाएर छिर्नेहरुको शरीर निस्कदाँ सुकिलो रहँदैन । मसो दलिए जस्तै अनुहार लिएर जानुपर्छ यहाँबाट । अर्थात चरित्रमा दाग लाग्ने ज्यादै प्रवल सम्भावना रहन्छ । यति होस पु¥याउनु भयो भने सेवा निवृत्त पछिको आयुमा मनमा क्लेष र चिन्ता नलिई वा भ्रष्टाचारको मुद्दामा तारिख ओसार्ने झन्झटबाट मुक्त रहनु होला ।
एक दुई महिना काम गरेपछि कतिपय कुराहरु बोध हुँदै जानेछ । गोलबजार नगरपालिका भित्रको भ्रष्टाचारको जालो , नातावाद , कृपावाद, जाति विशेषवाद , कमिसनतन्त्र र शाहजादाको तत्कालीन राजपरिवारका पारस जस्तै प्रवृतिको घेरा तोड्न नसकेर तपाईले थकित भएर सुस्केरा हाल्नु भयो भने एउटा नयाँ अनुभव लिएर सेवा निवृत हुनुहुनेछ । के ठाउँमा आइएछ भन्ने ग्लानी बोधको अतिरिक्त लाभ पनि हुनेछ । सबै कुरा चोहर्वा दरवारको विडी फैक्ट्रीमा बसेर निक्र्यौल हुन्छ र चोहर्वा दरवारका सुप्रिमो इशारा मान्नुपर्छ भनेर त अस्ति पुषमा भएको हिउँदै अधिवेशन ताका ज्ञात भएकै होला ।
अहिले के मात्र भनौ भने आर्थिक वर्ष २०८१÷०८२ को बजेटमा १ करोड ३० लाख नगरस्तरीय बजेट सडक मर्मतका लागि विनियोजित थियो । यो मेयरको स्वविवेकमा खर्च हुने वा भनौ मेयरलाई मिलाएर खानका लागि नगरसभाले छुट्याएको बजेट थियो । नभन्दै त्यस्तै भयो पनि । गत असार २५ गते आर्थिक वर्ष २०८०÷०८१ को क्लोजिङ्ग भयो । असार २६ गतेबाटै १ करोड ३० लाख रकम खर्च गरेर काम सुरु गरियो । प्रत्येक वडालाई १० ÷१० लाख दामासाहीले बाँडियो । उपभोक्ता समिति गठन गरिएन । ठेक्का लगाइएन । टुक्र्याउन नमिल्ने बजेट १३ ठाउँमा टुक्र्याइयो । बाढी पहिरोले सडक बिगारेको भन्दै विपद्मा खर्च गरेको भन्दै सडक मर्मत थालियो । यो सबै काम मेयरका शाहजादाले गरे गराएका हुन् । गोप्य रुपमा केही निर्माण कम्पनीको नाममा कोटेशन स्वीकृत गराइएको नगरपालिका श्रोतले साउती मार्दै हामीलाई बताएका छन् । १ करोड ३० लाख रकम मध्ये मुस्किलले ४० लाखको काम भएको छ । तर गत असोज महिनामै सम्पूर्ण रकम भुक्तानी भइसकेको छ । वडा नं.४,११ र १३ का वडाध्यक्षहरुले विरोध गरेपछि र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि वडा नं. ४ र ११ मा माटो थप्ने कार्य अहिले सुरु गरिएको छ । अख्तियारलाई पनि ढाँट छल गरेर पत्र पठाइएको छ । यता जनतालाई विपद् मा होर्डिङ्ग बोर्ड लगाउन पर्दैन, उपभोक्ता समिति वा टेण्डर केही गर्नु पर्दैन भनेर ढाँटिएको छ । उता अख्तियारलाई गोप्य रुपमा निकालिएको र स्वीकृत गरिएको कोटेशन पठाइएको छ । १३ वटा वडामा बरावर १० ÷१० लाखको सडक क्षति गर्ने गरी कसरी विपद् आयो ? सोचनीय छ । शाहजादाले लगभग ९० लाख रकम झ्वाम्म खाएका छन् यो परियोजनामा ।
यसमा अझै धेरै कुराहरु खोजी गरेर खुलस्त गर्न बाँकी नै छ । विहङ्गम दृष्टिमा देखिएको कुरा मात्र मैले यहाँ पस्केको छु । अस्ति वडा नं. ११ र ४ मा अनाधिकृत रुपमा कमसल सामाग्री सडकमा हालेको सन्दर्भमा फोन वार्ता हुँदा तपाईँले भन्नुभयो मलाई यस्ता कुराहरु जानकारी दिनुस् । म तुरुन्त एक्सन लिन्छु । नभन्दै माटो भर्न तत्काललाई रुक्यो पनि । तर त्यतिले मात्र समस्या समाधान हुँदैन । यो १ करोड ३० लाखको सम्पूर्ण फाइल खोतलेर तपाइँले हेर्न जरुरी छ । वडा नं. ११ र ४ मा के भएको हो त्यसको सम्पूर्ण छानविन गरी दोषीहरु उपर कारवाही गर्न जरुरी छ । टालटुले कुरा गरेर इमान्दार अधिकृत सावित हुँदैन । घटना थाहा पाएपछि तार्किक निष्पकर्षमा पु¥याउन जरुरी छ । सत्य सम्पूर्णतामा सत्य हुन्छ । आधा सत्य सत्य हुँदैन । ती दुई स्थानमा माटो पुर्ने नाजायज कामलाई तपाईँले कसरी निष्कर्षमा पु¥याउनु हुन्छ ? हाम्रो चासोको विषय हो । हामीले पनि अख्तियार दुरुपोय अनुसन्धान आयोगमा पटक पटक ताकेता गरिरहेका छौं । तपाइँले पनि रचनात्मक र प्रभावकारी कदम चाल्नु हुने आशा छ ।
अनुमानको भरमा कसैलाई दोषी देखाउन मिल्दैन । तपाइँका बारेमा अहिले मसँग धेरै जानकारीहरु छैनन् । तर गोलबजार नगरपालिका भित्र तपाईले गर्ने कार्य सम्पादन हामी पत्रकारहरुले नजिकबाट नियाँली रहेका छौं । राम्रो कामको मुक्त कण्ठले प्रशंसा हुने कुरामा विश्वास दिलाउन चाहान्छौं । तर कुनै पनि कानून विपरीत , सुशासनको उल्टो र अनीयमितताको पक्षपोषण गर्ने कार्यहरु उपर कलमको तातो कोर्रा चल्ने नै छ ।
हामी आशावादी छौं । एक इमान्दार अधिकारी गोलबजार नगरपालिकामा आउनु भएको छ भनेर । तर पर्खेर हेर को अवस्थामा छौं । अब हेर्नु छ तपाईले त्यहाँ नगरपालिकमा रहेका केही तालिम प्राप्त भ्रष्टाचारी जनप्रतिनिधि र कर्मचारीहरुसँगै मिलेर कुम्भमा डुबुल्की मार्नु हुन्छ की सुशासनको लागि सकी नसकी वामे सर्नुहुन्छ । बाँकी अर्को पत्रमा ।
एक नागरिक तथा पत्रकार
अर्जुन थपलिया