नेकपा माओवादी केन्द्रका बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पाँचवटा कार्यभार आत्मसात गरेर पार्टी अघि बढेको बताएका छन् । सिरहाको गोलबजार नगरपालिका नगर कमिटीको आयोजनामा वडा नं. ३ मुसहर्निया गाउँमा आयोजित ३ दिने अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै श्रेष्ठले उक्त कुरा बताएका हुन् ।
श्रेष्ठले भने राष्ट्रको सार्वभौम सत्ता , अखण्डता र स्वाधीनता जोगाउने पहिलो कार्यभार हो भने आन्दोलनको बलमा प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान जोगाउनु दोश्रो कार्यभार हो । मुलुकलाई समृद्धि र समाजवादतर्फ लैजानु तेश्रो कार्यभार हो भने सुशासनको ग्यारेण्टी गरी सामाजिक न्यायको प्रत्याभूति गर्नु चौथो कार्यभार हो । हामी कम्युनिष्ट भएकाले मुलुकमा पूर्ण समाजवाद कायम गराउनु हाम्रो मुल अभिष्ट र मुख्य कार्यभार हो – श्रेष्ठले जोड दिएर भनेका थिए ।
उद्घाटन सत्रमा प्रमुख अतिथिको हैसियतमा बोल्दै श्रेष्ठले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री र आफू गृह तथा उप प्रधानमन्त्री हुँदा ठूला कर्मचारी , ठूला नेता र सरकारमा बसिसकेका मन्त्रीहरुलाई भ्रष्टाचार गरेकोमा कानून बमोजिम कारवाही थालेको कारण सरकार ढालिएको जिकिर गरे । उनले भने हामी सरकार ढालेर आफू सरकारमा जान लालायित छैनौ । मुख्य कुरा परिवर्तन ल्याउन सक्ने गरी मात्र सरकारमा जान्छौ. ।
श्रेष्ठले देशैभरी नेकपा माओवादीले पार्टी निर्माण गर्ने अभियान थालेको छ । त्यसैको एक कडीका रुपमा यो त्रीदिवसीय प्रशिक्षणलाई लिन सकिन्छ । प्रशिक्षण कार्यक्रममा नेकपा माओवादी केन्द्रका सचिव तथा मधेश प्रदेश इन्चार्ज लिलामणि पोखरेल , उप महासचिव गिरिराजमणि पोखरेल स्थायी समिति सदस्य द्वय प्रशुराम तामाङ्ग र विश्वनाथ साह तथा वैकल्पिक केन्द्रिय सदस्य चन्देस्वर गडेरी पनि प्रशिक्षकका रुपमा सहभागी रहेका छन् ।
नेकपा माओवादी केन्द्रका नगर समिति सदस्य धन प्रसाद लामाका अनुसार प्रशिक्षण शिविर ३ दिनसम्म सञ्चालन हुने छ । यस अवधिमा सिरहा जिल्लाका पार्टीका अगुवा कार्यकर्ताहरुलाई समसामयिक विषयमा प्रशिक्षित गराई अर्जाप्ने र तिखार्ने कार्य हुने छ । आवासीय प्रशिक्षण शिविरमा झण्डै २ सय नेता तथा कार्यकर्ता सहभागी भएका छन् । प्रशिक्षण शिविर स्थानीय एक गुम्बा भवनमा सञ्चालन गरिएको छ ।